हालसम्मकै ठूलो आइपीओ जारी गर्न बोर्डको अनुमति, सबैले ७० कित्ता पाउने सम्भावना

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली सेयर बजारमा अहिलेसम्मको सबैभन्दा ठूलो प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

 

बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

 

बैंकले मंसिर ३ गते साधरण सभाबाट आइपीओ प्रस्ताव पारित गरेको थियो भने मंसिर ८ गते बोर्डमा अनुमति माग्दै आवेदन दिएको थियो ।

 

बैंकले अब २ महिनाभित्र आइपीओ निष्काशन गरिसक्नेछ । नियम अनुसार धितोपत्र बोर्डबाट अनुमति पाएको २ महिनाभित्र आइपीओ जारी गरिसक्नु पर्ने हुन्छ ।

 

बैंकले यसअघि नै सेयर निष्काशनको लागि नागरिक लगानी कोषलाई अन्डरराइटर र एनआइबीएल एस क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

 

बैंकको अधिकृत पूँजी २० अर्ब रुपैयाँ छ भने हाल चुक्ता पूँजी १२ अर्ब रुपैयाँ छ । आइपीओ पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

 

पछिल्लो समय खुलेका आइपीओमा करिब ९ लाखले आवेदन दिँदै आएका छन् भने नयाँ आइपीओ पिच्छे आवेदकको संख्या पनि बढ्दै गएको छ । धितोपत्र बाँडफाँट नियमावली अनुसार सबै आवेदकलाई समानुपातिक रुपमा सेयर बाँडफाँट गर्नु पर्ने व्यवस्था छ । सो अनुसार बैंकको आइपीओमा १० लाख बढीले आवेदन दिए भने पनि सबैलाई कम्तीमा ७० कित्ता सेयर पाउने सम्भावना देखिन्छ ।

 

कम्पनीको वित्तीय अवस्था

 

बैंकले चालू आवको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १२.४३ प्रतिशतले कमी हो । बैंकले गत आवको पहिलो त्रैमासमा २० करोड ५७ लाख खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १८ करोड १ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।बैंकले २८ अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

 

समीक्षा अवधिमा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ ११५ रुपैयाँ रहेको छ ।

 

बैंकको व्यवसाय

 

धेरै पूँजी भएको यो ठूलो बैंक ठूला पूर्वाधारहरुमा लगानी गर्ने उद्देश्यका साथ खोलिएको हो । त्यसै अनुरुप बैंकले केही ठूला परियोजनाहरुमा लगानी गर्न शुरू गरिसकेको छ ।

 

बैंकले आफ्नो पहिलो लगानी कास्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती जलविद्युत परियोजनामा गरेको छ । यो परियोजनामा यस बैंकका अलावा हिमालयन बैंक र सानिमा बैंकले समेत संयुक्त रुपमा ४ अर्ब ६ करोड रुपैंयाँ लगानी गरेका हुन् ।

 

यसैगरी कुमारी बैंक र पूर्वाधार विकास बैंकले २२ मेगावाटको सेतीखोला हाइड्रो पावर कम्पनीमा पनि संयुक्त रुपमा ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरिसकेका छन् । यसमा कुमारी बैंकले २ अर्ब र पूर्वाधार विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरिसकेका छन् ।

अमेरिकालाई उछिन्दै चीन सन् २०२८ मा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र हुने Read Previous

अमेरिकालाई उछिन्दै चीन सन् २०२८ मा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र हुने

विदेशी नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध Read Next

विदेशी नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध