चन्द्रागिरी हिल्सको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्ने ?

काठमाडौं । चन्द्रागिरी हिल्सले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ल्याएको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले पहिलो चरणमा मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा आवेदन दिने पुस १ गते अन्तिम दिन हो ।

 

कम्पनीको आइपीओमा आयोजना प्रभावित काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ३, ४, ६ र ७ (साविक थानकोट गाविसका सबै वडा र महादेवस्थान गाविसका वडा नं. ३, ४, ५, ६, ७ र ८), मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ र १० (साविक चित्लाङ गाविसका सबै वडा) र इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ (साविक फाखेल गाविसका सबै वडा) का स्थानीयवासीले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीले धितोपत्र बोर्डबाट १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएकोमा पहिलो चरणमा स्थानीयवासीमा आइपीओ जारी गरेको हो । स्थानीयमा आइपीओ जारी गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधरणमा १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ जारी गर्नेछ ।

 

इच्छुक लगानीकर्ताले कम्पनीको आइपीओमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आइपीओमा सर्वसाधरणले विक्री प्रबन्धक ग्लोलबल आइएमई क्यापिटल, धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

 

चन्द्रागिरी हिल्सले काठमाडौंको चन्द्रागिरीमा केबलकार सञ्चालन गरिरहेको छ भने त्यहाँ होटल, रिसोर्ट लगायतका संरचनाहरु निर्माण गररिरहेको छ ।

 

यस्तो छ कम्पनीको वित्तीय अवस्था

 

कम्पनीले अहिले चुक्ता पूँजीको १२ प्रतिशत बराबबर आइपीओ निष्काशन गर्न लागेको हो । आइपीओपछि कम्पनीको कुल चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

 

वित्तीय विवरण अनुसार कम्पनीको नेटवर्थ आर्थिक वर्ष ०७३/०७४, ०७४/७५, ७५/७६ र ७६/७७ मा क्रमश ९४.५२, ९६.६३, ९६.६९ र ८४.८८ रहेको छ । यसैगरी चालू आर्थिक वर्षमा नेटवर्थ ९०.६९ र आगामी २ आर्थिक वर्षमा १०९.२४ र १२२.०७ पुग्ने प्रक्षेपण कम्पनीले गरको छ ।

 

यसैगरी, चालू आर्थिक वर्षमा ४ रुपैयाँ प्रतिसेयर आम्दानी पुग्ने प्रक्षेपण गरेको यो कम्पनीले त्यसपछिका आगामी २ आर्थिक वर्षमा २३.५४ रुपैयाँ र ३२.८४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

 

यस्तै हालसम्म सञ्चित मुनाफा ऋणात्मक रहेको यो कम्पनीले आर्थिक वर्ष ०७८/७९ मा १४ करोड १७ लाख रुपैयाँ र त्यसपछिको आर्थिक वर्षमा ३३ करोड ८३ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

 

कम्पनीले चालू आर्थिक वर्षमा ६ करोड १३ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ भने आगामी २ आर्थिक वर्षमा क्रमशः ३६ करोड ११ लाख र ५० करोड ३७ लाख रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ ।

लगानी बोर्डमा ४ ठूला आयोजनाको डीपीआर पेश, मुक्तिनाथमा ८० किमी लामो केबलकार बन्ने Read Previous

लगानी बोर्डमा ४ ठूला आयोजनाको डीपीआर पेश, मुक्तिनाथमा ८० किमी लामो केबलकार बन्ने

१४ वर्षमा सिक्टा सिँचाइको मूल नहर निर्माण सम्पन्न Read Next

१४ वर्षमा सिक्टा सिँचाइको मूल नहर निर्माण सम्पन्न