काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ ल्याउन मंसिर १९ गते बोर्डमा आवेदन दिएको हो ।
बोर्डले अनुमति दिए लगत्तै आइपीओ निष्काशन गरिने कम्पनीले जनाएको छ । कम्पनीले यस अघि नै आइपीओ जारी गर्न सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरिसकेको छ ।
हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले चालू आवको पहिलो त्रैमासमा ७ करोड २२ लाख खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९१.८७ प्रतिशत बढी हो ।
कम्पनीको जगेडा कोषमा ४६ करोड ५ लाख ३४ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १८.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३३.२३ रुपैयाँ रहेको छ ।