राष्ट्र बैंकको कदमले सेयर बजारमा पहिरो, लगानीकर्ताले एकैदिन गुमाए १ खर्ब ६५ अर्ब

काठमाडौं । सेयर लगानीकर्ताले आज एकैदिन करिब पौने २ खर्ब सम्पत्ति गुमाएका छन् ।

 

राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गर्ने बताएसँगै हतोत्साही बनेका लगानीकर्ताको मनोबल गिर्दा नेप्से एकैदिन १२३ अंकले घटेको छ भने लगानीकर्ताको सम्पत्ति एकैदिन १ खर्ब ६५ अर्ब ३२ करोडले गुमेको छ ।

 

गत बिहीबार २७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको बजार पूँजीकरण आइतबार घटेर २५ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँमा आएको छ ।

 

नेपाल राष्ट्र बैंकले बिहीबार चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षा गर्दै सेयर कर्जामा कडाइ गर्ने जनाएसँगै त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको हो । राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमामा पुनरावलोकन गर्ने जनाएको छ ।

 

राष्ट्र बैंकले बजार घटेर न्यून विन्दुमा आउँदासम्म टुलुटुलु हेरर बस्ने तर अहिले ब्याजदर सस्तो भएको बेला बजार बढ्दा भने अंकुश लगाएको लगानीकर्ताको आरोप छ ।

 

राष्ट्र बैंकले नै चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ६५ प्रतिशत रहेको सेयर धितोकर्जाको सीमा ७० प्रतिशत पुर्याएको थियो । तर, अहिले कार्यान्वयनमा आएको ४ महिना नबित्दै फेरि अंकुश लगाउन खोजेर लगानीकर्ताको सम्पत्ति माथि खेलवाड गरेको लगानीकर्ताको भनाइ छ ।

 

आजै सेयर लगानीकर्ताको विभिन्न संघले राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीलाई भेटेर सेयर बजार प्रभावित पार्ने गरी नीति परिमार्जन नगर्न आग्रह गरेका छन् ।

नेप्सेमा इतिहासकै ठूलो पहिरो, १८७ कम्पनीको मूल्यमा गिरावट Read Previous

नेप्सेमा इतिहासकै ठूलो पहिरो, १८७ कम्पनीको मूल्यमा गिरावट

सालको काठमा लगाइएको प्रतिबन्ध कायमै, सरकारकै कारण अर्बौं रुपयाँ बाहिरिँदै Read Next

सालको काठमा लगाइएको प्रतिबन्ध कायमै, सरकारकै कारण अर्बौं रुपयाँ बाहिरिँदै