काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा २ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा १० प्रतिशत बोनस र १२ प्रतिशत नगद गरी कुल २२ प्रतिशत लाभांश दिएको थियो ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।