उपत्यकाको बृहत गुरू योजना बनाउन कन्सलटेन्ट हायरको तयारी
चाणक्य पोष्ट
प्रकाशित : 9:19 am, सोमबार, मंसिर १५, २०७७

काठमाडौं । काठमाडौं उपत्यकाको नयाँ बृहत गुरू योजना (कम्प्रिहेन्सिभ मास्टर प्लान) बन्ने भएको छ । अव्यवस्थित सहरीकरण बढ्दै गइरहेकोले उपत्यकाको समग्र विकासलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका विकास प्राधिकरणले बृहत गुरुयोजना बनाउन लागेको हो ।

 

मास्टर प्लान तयारीका लागि हाल एलओआइ (लेटर अफ इनटेन्ट) आह्वान गरिएको छ । कन्सलटेन्ट हायर गर्नका लागि कार्तिक ६ गते एलओआइ आह्वान गरिएको थियो । ३० दिनका लागि अएलओआइ आह्वान गरिएको हो ।

 

अबको एक साता पछि एलओआइ आह्वान मार्फत आउने कन्सलटेन्टको मूल्यांकन शुरू गरिने छ । चालू आर्थिक वर्ष भित्रै मास्टर प्लानको अध्ययन शुरू गरिने काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजि तिवारीले बताए ।

 

बहुवर्षे आयोजना अन्तर्गत काठमाडौं उपत्यका गुरू योजना बन्न लागेको हो । गत वर्षदेखि शुरू गरिने भनेको यो आयोजना मन्त्रालयमा स्वीकृतिका लागि लामो समय रोकिएको थियो । गत वर्ष कोभिड १९ का कारण मास्टर प्लान कन्सलटेन्ट हायरले गति लिन नसकेको प्रमुख तिवारीले बताए ।

 

‘यो आयोजना गत वर्ष नै शुरू भइसकेको हो, कोरोनाका कारण मन्त्रालयबाट छिटो स्वीकृत हुन पाएन, यो वर्ष एलओआइ शुरू भइसकेको छ, यही वर्ष अध्ययन पनि शुरू गरिने छ,’ उनले चाणक्य पोष्टसँग भने । ‘अर्को आर्थिक वर्षभित्र मास्टर प्लान तयार हुन्छ ।’

 

कन्सलटेन्ट हायर भएपछि शुरूमा उपत्यका भित्रको अवस्थाको बारेमा अध्ययन शुरू गरिने छ । उपत्यकाको बेस म्याप बनाएर अध्ययन गरी कहाँ के छ/छैन भनेर तथ्यांक निकालिने छ ।

 

उपत्यका भित्रका कमीकमजोरी औंल्याएपछि त्यसलाई कसरी सुधार गर्ने र सर्वसम्पन्न बनाउने भनेर २० वर्ष योजना बनाइने प्राधिकरणका एक इन्जिनीयरले बताए । उनका अनुसार हाल उपत्यका भित्र अव्यवस्थित सहर विकास भइरहेकाले यसलाई सुधार गर्न मास्टर प्लान बनाउने तयारी भइरहेको हो ।

 

उपत्यकालाई अबको २० वर्षमा विद्युत, ढल, पानी, सडक हरेक स्तरबाट सुविधा सम्पन्न बनाउने तयारी भइरहेको छ । मास्टर प्लान अन्तर्गत नयाँ विकास गर्नका लागि क्षेत्र छुट्याइने छ । अव्यवीथीत विकास भएका स्थानहरुमा पूर्ण सौन्दर्यकरणका साथै व्यवस्थित बनाइने छ । सम्पदा भएका क्षेत्रलाई सम्पदा क्षेत्रको रूपमा छुट्टै विकास गरिने छ ।

 

मास्टर प्लान तयारीका लागि चालू आर्थिक वर्षमा ८ करोड रूपैयाँ बजेट विनियोजन भएको छ ।

Advertisement Section