प्रभु लाइफले पायो ६० करोडको आइपीओ निष्काशन गर्न अनुमति

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

 

नेपाल धितोपत्र बोर्डले प्रभुलाई १०० रुपैयाँ अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्न बिहीबार अनुमति दिएको हो । कम्पनीले गत साउन २१ गते आइपीओ अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।

 

हाल १ अर्ब ४० करोड चुक्ता पूँजी रहेको इन्स्योरेन्सले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

 

नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफलाई ४ को रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत वित्तीय अवस्था औसत भन्दा कम रहेको संकेत गर्दछ ।

 

काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको प्रभु लाइफ सन् २०१७ देखि सञ्चालनमा आएको हो । कम्पनीको प्रमोटरमा बैंकहरु, मचेन्ट बैंकहरु, लगानी व्यवस्थापन कम्पनीहरु, बीमा कम्पनीहरु र केही व्यक्तिगत लगानीकर्ताहरु समेत रहेका छन् ।

 

अहिलेसम्म कम्पनीका १ सय हाराहारी शाखा कार्यालयहरु रहेका छन् भने झण्डै ७ हजार एजेन्टहरु समेत छन् । कम्पनीका करिब २० कर्पोरेट एजेन्टहरु समेत रहेका छन् ।

 

इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा १५३.२७ प्रतिशतले बढाएको छ ।कम्पनीले असोज मसान्तसम्ममा ३ करोड ९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १ करोड ८६ लाख रुपैयाँले बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा १ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा इन्स्योरेन्सले २५ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १२ करोड ६८ लाख रुपैयाँले बढी हो । इन्स्योरेन्सले गत आवको पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

 

समीक्षा अवधिसम्म कम्पनीले २२ हजार ५९४ वटा बीमालेख जारी गरी २५ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ । यस अवधिमा इन्स्योरेन्सले १७५ वटा दाबी बापत ६१ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ वटा दाबी वापत ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

 

हाल १ अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २३ करोड ९१ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब १९ करोड ४९ लाख रुपैयाँ र महाविपत्ती जगेडामा १ करोड ५४ लाख रुपैयाँ सञ्चित छ ।

 

कोरोना संक्रमणका वावजुद कम्पनीले राम्रो व्यवसाय विस्तार गरेको देखिएको छ । यस्तो प्रतिकूल अवस्थालाई चुनौतीका साथै अवसरको रुपमा समेत लिएर व्यवसायलाई अघि बढाउने रणनीति रहेको कम्पनीले जनाएको छ ।

हिमालयन ऊर्जा कम्पनीका दुई आयोजनाबाट १९ मेगावाट विद्युत् उत्पादन Read Previous

हिमालयन ऊर्जा कम्पनीका दुई आयोजनाबाट १९ मेगावाट विद्युत् उत्पादन

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’ Read Next

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’