साढे ४ वर्ष पुरानो रेकर्ड तोडेको सेयर बजार अझै कहाँ पुग्ला ?

काठमाडौं । नेपाली सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ । नेप्से १८ अंकले बढ्दै साढे ४ वर्ष अघिको १८८१ विन्दु रेकर्ड तोड्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको कीर्तिमान बनाएको हो ।

 

आज नेप्सले १९२५ को बिन्दु छोए पनि तीव्र उतरचढाव देखिएको बजार बन्द हुने बेला घटेर १८९३ बिन्दु कायम भएको छ । यो नेपाली सेयर बजार इतिहासमा अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि २०७३ साउन ११ गते इतिहासकै सर्वाधिक उच्च १८८१ विन्दुको रेकर्ड थियो ।

 

यस्तै, सेयर बजारले कारोबार रकममा पनि नयाँ कीर्तिमान बनाएको छ । आज इतिहासकै सर्वाधिक ७ अर्ब ६१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यसअघि गत बिहीबार इतिहासकै धेरै ६ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो ।

 

पछिल्ले समय बैंकिङ प्रणलीमा अधिक तरलता कायम भई ब्याजदर सस्तो भएपछि लगानीकर्ता उत्साहित हुँदा बजारले नयाँ रेकर्ड बनाउने बाटोमा गएको जनाकारहरु बताउँछन् । साथै, पछिल्लो समय सेयर बजार प्रविधिमैत्री हुनु, नयाँ लगानीकर्ताको प्रवेश, कोरोनाका कारण अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्नु लगायत कारले बजारलाई नयाँ उचाइमा पुर्याएको उनीहरुको भनाइ छ ।

 

हाल बैंक ब्याजदर सस्तो भएको र अझै केही समय महँगो हुने सम्भावना छैन । यसले गर्दा लगानीकर्ताको मनोबल उच्च रहेकोले आगामी दिनमा पनि बजारले अझै नयाँ उचाइ चुम्ने लगानीकर्ताको अनुमान छ । बजारमा केही समय करेक्शन आउन सक्ने भए पनि ठूलो गिरावट नआउने अनुभवी लगानीकर्ता बताउँछन् ।

 

यस हप्ता मात्रै नेप्से परिसूचक करिब १२० अंकभन्दा धेरैले बढीसकेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक सूचक नेप्से १८.४३ अंकले बढेर १८९३.२५ विन्दुमा पुगेको छ । यसदिन २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९० रुपैयाँमा कारोबार भएको छ ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ७ वटा समूहको परिसूचक ओरालो लागेका छन् । बैंकिङ समूहमा वृद्धि आएपछि समग्र बजार बढेको हो । आज यस समूहको सबैभन्दा धेरै ३७.७६ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १६५.०४ अंकले घटेको छ ।

 

आज नेपाल पुनर्बीमा कम्पनीको सेयर लगानीकर्ताको रोजाइमा परेको छ । यसको सबैभन्दा धेरै ५८ करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंक र शिवम् सिमेन्टको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज कारोबार भएका कुल २०१ कम्पनी मध्ये ६६ कम्पनीको मूल्य बढेको छ भने १२१ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

दोहोरो अंकले बढेको बजारमा आज ४ वटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एनएमबी माइक्रोफाइनान्स, पाँचथर पावर, हिमालयन ऊर्जा कम्पनी र आँखुखोला जलविद्युत कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज साल्ट ट्रेडिङका लगानीकर्ताले भने सबैभन्दा धेरै ६.१८ प्रतिशतले गुमाएका छन् ।

सरकार मनको हैन धनको गरिब हुँदा व्यवसायीलाई चाहेजति सहयोग गर्न सकेन : प्रधानमन्त्री Read Previous

सरकार मनको हैन धनको गरिब हुँदा व्यवसायीलाई चाहेजति सहयोग गर्न सकेन : प्रधानमन्त्री

महासंघले ठूलाको मात्र होइन साना व्यवसायीको पक्षमा वकालत गर्नुपर्छ : दिनेश श्रेष्ठको अन्तर्वार्ता Read Next

महासंघले ठूलाको मात्र होइन साना व्यवसायीको पक्षमा वकालत गर्नुपर्छ : दिनेश श्रेष्ठको अन्तर्वार्ता