काठमाडौं । काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०२१ जनवरीदेखि सञ्चालन गर्ने भनिए पनि निर्माण सम्पन्न नहुँदा ६ महिना ढिलाइ हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार जनवरीमा सञ्चालनमा ल्याइने भनेको गौतमबुद्ध विमानस्थल अब ६ महिनापछि मात्र सञ्चालनमा आउने भएको हो ।
उनले विदेशी श्रमिक चाहिने भएकाले फिनिसिङ तथा जडानका ७ प्रतिशत काम रोकिएको बताए । सो काम पूरा गर्न चीन र भारतबाट श्रमिक ल्याउनु पर्ने भए पनि नेपालमा कोरोना बढ्दो क्रममा रहेकपछि उनीहरू आउन नचाहेका हुन् ।
हालसम्म आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । अधिकांश भौतिक संरचना निर्माण पूरा भए पनि उपकरण जडान र फिनसिङको काम अझै बाँकी छ । विदेशी प्राविधिक नआउँदा उपकरण जडान प्रभावित भएको छ । जसकारण आगामी जनवरदेखि सञ्चालनमा आउने भनिएको विमानस्थल ६ महिना पर धकेलिने भएको हो ।
उनले चीनबाट आउने श्रमिकहरू कोभिडका कारण डराएको बताए, भारतबाट श्रमिक ल्याउन हवाई यात्रा शुरू नभएको बताए । ‘श्रमिकहरू नेपालमा कोरोना बढेको देखेर आउन मानिरहेका छैन्न नत्र सरासर काम भयो भने निर्माण ३ महिनामा पूरा हुन्छ अनि हवाई उडान त्यसको ३ महिनामा शुरू गर्न सकिन्छ,’ प्रवक्ता क्षेत्रीले चाणक्य पोष्टसँग भने ‘चीनका लागि हप्तामा २ वटा मात्र जहाज सञ्चालनमा छन्, भारततर्फ उडान शुरू भएकै छैन ।’
हालसम्म आयोजनाको ९३ प्रतिशत भौतिक प्रगति भइसकेको छ । आयोजनालाई आइसीबी १ र आइसीबी २ गरेर २ भागमा छुट्याएर काम भइरहेको छ ।आयोजनाका आइसीबी १ आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार फिनिसिङका कामहरू भइरहेका छन् । उनले उपकरण जडानका लागि भने चिनियाँ जनशक्ति आवश्यक पर्ने भएकाले निर्माणले गति लिन नसकेको बताए ।
‘उपकरण जडान हाम्रो स्थानीय स्रोत साधनले नभ्याउने खालको छ । जुन देशको उपकरण हो त्यही देशको कम्पनीको जनशक्ति ल्याउनु पर्छ । उनीहरूले मात्र त्यो जडान गर्न सक्छन्,’ आयोजना प्रमुख अधिकारीले चाणक्य पोष्टसँग भने ।
आइसीबी १ का लागि ३५ जना चिनियाँ जनशक्ति ल्याउनु पर्नेछ । सो जनशक्ति ल्याउनका लागि पत्रचारहरू गरिए पनि श्रमिकहरू आफै आउन नमानेका हुन् । उनीहरूको तर्फबाट पनि गर्नु पर्ने प्रक्रियाहरू रहेका र त्यसमा समय लागि रहेको उनले बताए ।

‘उनीहरूले क्वारेन्टाइनमा राखेर पीसीआर गर्नु पर्ने प्रक्रियाहरू छन् । छिट्टै ल्याउने भनेर प्रक्रियाहरू भइरहेको छ तर, उनीहरू नेपालमा कोरोना बढेका कारण आउन मानिरहेका छैन्न,’ अधिकारीले भने ।
विमानस्थल निर्माणका लागि आवश्यक पर्ने उपकरणका सामग्रीहरू धेरै आइसके पनि केही चीनको ल्हासामा रोकिएको उनले बताए । कोभिड १९ का कारण सबै सामग्री ल्याउने अनुमति नभएकाले केही उपकरणहरू ल्हासामा रोकिएको छ । सो उपकरणहरू ल्हासाबाट ल्याउनलाई पहल गरिरहेको उनले बताए ।
‘बाँकी उपकरणहरू १०/१५ दिनमा आउलान तर, जनशक्ति ल्याउने कुरा चुनौती छ । उनीहरू आउन नसके काम सम्पन्न हुन सक्दैन, यो काम हामीले गरेर हुन्न दक्ष जनशक्ति नै चाहिने भएकाले कुरिरहनु परेको हो,’ अधिकारिले भने ।
फिनिसिङको ५ प्रतिशत मात्र काम बाँकी
यस्तै आइसीबी २ अन्तर्गत सबै उपकरणहरू आइसकेका छन् । उक्त उपकरणहरू जडान गर्नका लागि थाइल्याण्ड, अमेरिका, अष्ट्रेलियाबाट जनशक्ति ल्याउनु पर्ने छ । आइसीबी २ का आयोजना प्रमुख प्रविन न्यौपानेका अनुसार पहिलो चरणमा थाइल्याण्डबाट ३० जना जनशक्ति ल्याउनु पर्ने छ । उनीहरू नआएसम्म उपकरण जडानको कामले गति लिन नसक्ने उनले बताए । फिनिसिङको ५ प्रतिशत मात्र काम बाँकी रहेको उनको दाबी छ ।
‘जति सक्दो छिटो जनशक्ति ल्याउन सक्यो त्यति छिटो काम सकिन्छ । धेरै जसो फिनिसिङका कामहरू सम्पन्न भइसकेको छ । कतिपय कामहरू उपकरण जडान नभएसम्म फिनिसिङ पनि नहुने भएकाले त्यस्ता कामहरू बाँकी छन् । हाम्रो तर्फबाट हुने सबै फिनिसिङको कामहरू सम्पन्न गरेका छौँ,’उनले चाणक्य पोष्टसँग भने ।
‘कामै नगरेको हैन, गर्न मिल्ने गरेका छौँ, स्पेसल कामका लागि उपकरण जडान गर्ने जनशक्ति चाहिने हो । उनीहरू जहिले आउछन् हाम्रो काम अघि बढ्छ । उनीहरू आएको ३ महिनामा काम सम्पन्न हुन्छ ,’ न्यौपानेले भने ।
अहिले त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भएपनि श्रमिक आउने राष्ट्रबाट पठाउन नमानेको उनको भनाइ छ । ‘यहाँ कोभिड बढिरहेकाले अलि सहज भएको छैन । झन भैरहवामा कोभिड काठमाडौंमा भन्दा धेरै छ, उनीहरूले हेर्नुपर्छ भनेर भनेका छन् । प्रक्रिया भइरहेको छ । परराष्ट्रबाट पनि कुरा भइरहेको छ,’ उनले भने ।
उनले सामग्री भएर मात्र नहुने उपकरण जोड्न विशेषज्ञ प्राविधिक चाहिने भएकाले एक्सपर्ट नभएर कामले भने जति गति लिन नसकेको बताए । ‘हामीले पत्रचार गरेका छौँ । २ महिनामा उहाँहरू आउनु भयो भने हामीले काम सक्न सक्छौँ,’ न्यौपानेले चाणक्यपोष्टसँग भने ‘उनीहरूले सुरक्षाका लागि सम्झौता पठाएका छन् तर, उनीहरूको सम्झौता अनुसार यहाँको वातावरण छैन, उनीहरूको सुरक्षाको ग्यारेन्टी लिनु पर्यो, हामीले आउ भनिरहेका छौँ ।’
उनले विदेशी श्रमिक नेपाल आए हरेक सुविधाहरू उपलब्ध गराएर भए पनि काम गराउने बताए । उनीहरू आए भैरहवा होटलहरूमा राख्नका लागि व्यवस्था भएको उनले बताए । ‘उनीहरूले गर्ने टेक्नीकल काम मात्र हो, हामीले जनशक्ति ल्याउनका लागि पहल गरिरहेका छौँ । उनीहरू आए हरेक सुविधा पुर्याउने भनिरहेका छौँ ।’ आयोजना प्रमुख न्यौपानेले भने ।
उनले सक्दो छिटो विमानस्थल निर्माण सम्पन्न गर्ने तयारीमा रहेको बताए । पछिल्लो समय आयोजना अन्तर्गत २७५ बढि कर्मचारीहरू काम गरिरहेका छन् ।भ्याटसहित ६ अर्ब ८२ करोडको रुपैयाँ आइसीबी १ को बजेट रहेको छ । आइसीबी २ को बजेट ५० करोड रुपैयाँ रहेको छ । शुरूमा आइसीबी १ का लागि ६ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
कुल सबा ७ अर्बमा निर्माणधिन अवस्थामा रहेको छ । कुल बजेटको ६३ प्रतिशत खर्च भएको छ । मुआब्जाका लागि २३ अर्ब ५९ करोड रुपैयाँ बजेट रहेकोमा २१ अर्ब ७५ करोड रुपैयाँ मुआब्जा रकम भुक्तानी गरिसकिएको छ ।
आयोजना प्रमुख अधिकारीले ९७ प्रतिशत अधिग्रहणको काम सकिसकेको बताए । उनले अंश मुद्दा चलेको, सरकारी रोक्का, मुआब्जा बढी दाबी गरेकाहरूको मुआब्जा वितरण बाँकी रहेको बताए ।‘मुआब्जा सय प्रतिशत सकिने हुदैन रहेछ । मुआब्जा ह्याण्डओभर गर्ने बेलामा जब अन्तिम सेवाग्राहीले भुक्तानी लिन्छ तब सय प्रतिशत भुक्तानी हुन्छ । टुंगिने क्रममा छ । अब बाँकी रहेका मुआब्जामा धेरै अप्ठेरो समस्या छैन त्यो पनि छिट्टै वितरण हुने छ,’ अधिकारीले चाणक्य पोष्टसँग भने ।
यस विमानस्थलमा ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग बनेको छ । यो आयोजना २०१५ मा निर्माण शुरू भएको थियो । सन् २०१८ डिसेम्बरमा सक्ने लक्ष्य राखिएको आयोजनाले विविध समस्या भोग्नु परेको थियो ।
विभिन्न अवरोध बाबजूद विमानस्थल २०१९ सम्ममा सञ्चालनमा ल्याउने भनिएको थियो । फेरी पछि २०२० मार्चसम्मका लागि म्याद थप गरिएको थियो । जेठ ११ गतेदेखि लक डाउन घोषणा हुँदा विमानस्थलको कामले गति लिन नसकेको हो । हाल २०२१ जनवरीसम्ममा विमानस्थल सञ्चालनमा ल्याउने भनिएता पनि दक्ष जनशक्ति नहुँदा अन्तिम चरणमा रहेको काम पूरा हुन सकेको छैन ।