काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर (आइपीओ) ल्याउने भएको छ ।
कम्पनीको बुधबार सम्पन्न साधारणसभाले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउने प्रस्ताव पारित गरेको हो ।
साधरणसभाबाट पारित भएसँगै अब इन्स्योरेन्सले आइपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिने जनाएको छ ।
त्यस्तै, सभाले आर्थिक वर्ष ७५/७६ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्शान हिसाब, आर्थिक वर्ष २०७६÷७७ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायत प्रस्ताव पनि पारित गरेको छ ।
हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले चालू आवको पहिलो त्रैमासमा ७ करोड २२ लाख खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९१.८७ प्रतिशत बढी हो ।
कम्पनीको जगेडा कोषमा ४६ करोड ५ लाख ३४ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १८.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३३.२३ रुपैयाँ रहेको छ ।