बुल रनलाई ठूला कम्पनीले लिड गर्न थाले, अब बजार रोकिने संकेत छैन

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारमा उछाल आएको छ । चैत यता उकालो लागेको बजारले आफ्नो यात्रा निरन्तर जारी राखेको छ ।

 

पछिल्लो ३ वर्ष बियरिस ट्रेन्डमा रहेको बजारले अहिले बुल ट्रेन्ड समाउन थालेको जानकारहरु बताउँछन् । करिब ६ महिनाको अवधिमा नेप्से करिब ५०० अंकले बढीसकेको छ भने आगामी दिनमा अझै माथि जाने संकेत देखिएको छ ।

 

कोरोनाका कारण अन्य आर्थिक क्रियाकलाप कम हुँदा ठूला तथा नयाँ लगानीकर्ताहरु सेयर बजार प्रवेश गर्नु, बैंकको ब्याजदर घट्नु, सेयर बजार प्रविधिमैत्री हुनु, सूचीकृत कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा तथा चालू आवको पहिलो त्रैमासको आकर्षक वित्तीय विवरण सार्वजनिक गर्नु लगायत कारणले बजारको गति लिँदै गएको जानकारहरु बताउँछन् ।

 

सेयर बजार बुल रनमा जान थालेसँगै ठूला कम्पनीले लिड गर्न थालेका छन् । पछिल्ला दिनहरुमा बजारका ठूला नेपाल टेलिकम, पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, नागरिक लगानी कोष लगायत ठूला कम्पनीको सेयर कारोबार बढ्दै गएको छ । निरन्तर ठूला कम्पनीको कारोबार बढ्नाले बजार अझै माथि जाने संकेत गर्ने अनुभवी लगानीकर्ताहरु बताउँछन् ।

 

अहिलेसम्म बजारलाई बीमा कम्पनी, हाइड्रोपार, माइक्रो फाइनान्स लगायत क्षेत्रले लिड गर्दै आएका छन् भने बैंकिङ क्षेत्र अझै चलायमान हुन सकेको छैन । कोरोना बीच चालू आवको पहलिो त्रैमासमा उत्कृष्ट प्रदर्शन गरेका बैंकहरुले नै सेयर बजार लिड गर्ने हुँदा आगामी दिनमा बजारले अझै शिखर चुम्ने सम्भावना रहेको देखिन्छ ।

 

यस साता शुरुका दुई दिनमै करिब १७ अंकले बढेको बजार आज दोहोरो अंकले बढेको छ । सेयर बजार मापक सूचक नेप्से २५.९८ अंकले बढेर १६७८.७९ विन्दुमा पुगेको छ । यसदिन १९६ कम्पनीको ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २५६ रुपैयाँ बराबरको कारोबार भएको छ । ९६ लाख ५७ हजार ६७७ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये हाइड्रोपावर र सामूहिक लगानी कोष बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेका छन् । आज बजारलाई जीवन बीमा समूहले लिड गरेको छ । यसको परिसूचक सबैभन्दा धेरै ४७६.३६अंकले बढेको छ ।

 

जीवन बीमा समूहको परिसूचक अहिलेसम्मकै सर्वाधिक उच्च १० हजार २५२ विन्दुमा पुगेको छ । नेपाली सेयर बजारको कुनै पनि समूहको परिसूचकले १० हजार विन्दु पार गरेको यो पहिलो पटक हो ।

 

आज पनि लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । पछिल्लो साता सर्वाधिक कारोबार हुँदै आएको आज सबैभन्दा धेरै २८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स र हिमालय डिस्ट्रिलरीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

बढ्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सानिमा जनरल इन्स्योरेन्स, साल्ट्र ट्रेडिङ र नेपाल टेलिकमका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज विशाल बजार कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै ४.६१ प्रतिशतले गुमाएका छन् ।

आन्तरिक उडानमा उत्साह, अकुपेन्सी ८० प्रतिशत माथि, अन्तर्राष्ट्रियमा भने यात्रु नै छैनन् Read Previous

आन्तरिक उडानमा उत्साह, अकुपेन्सी ८० प्रतिशत माथि, अन्तर्राष्ट्रियमा भने यात्रु नै छैनन्

सेवा क्षेत्रमा देखिएका समस्या र चुनौती समाधान गर्नसक्ने सशक्त नेतृत्व आवश्यक छ : व्यवसायी Read Next

सेवा क्षेत्रमा देखिएका समस्या र चुनौती समाधान गर्नसक्ने सशक्त नेतृत्व आवश्यक छ : व्यवसायी