काठमाडौं । नेपाली सेयर बजारमा अहिलेसम्मको सबैभन्दा ठूलो आइपीओ अब छिट्टै आउने भएको छ । नेपाल पूर्वाधार विकास बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्नका लागि प्रक्रिया शुरू गरिसकेको छ ।
आइपीओे निष्काशनको अनुमति लिनको लागि बैंकले आगामी मंसिर ३ गते वार्षिक साधारण सभाको बैठक बोलाएको छ । महामारीको कारणले गर्दा बैठक भने अनलाइन नै हुने बताइएको छ । सभाको प्रमुख एजेण्डा ८ अर्बको निष्काशन हुने बताइएको छ ।
बैंकले यसअघि नै सेयर निष्काशनको लागि नागरिक लगानी कोषलाई अन्डरराइटर र एनआइबीएल एस क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
बैंकको अधिकृत पूँजी २० अर्ब रुपैयाँ छ भने हाल चुक्ता पूँजी १२ अर्ब रुपैयाँ छ । आइपीओ पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।
पछिल्लो समय खुलेका आइपीओमा करिब ९ लाखले आवेदन दिँदै आएका छन् भने नयाँ आइपीओ पिच्छे आवेदकको संख्या पनि बढ्दै गएको छ । धितोपत्र बाँडफाँट नियमावली अनुसार सबै आवेदकलाई समानुपातिक रुपमा सेयर बाँडफाँट गर्नु पर्ने व्यवस्था छ । सो बैंकको आइपीओमा करिब १५ लाखले आवेदन दिए भने पनि सबैलाई कम्तीमा ५० कित्ता सेयर पाउने सम्भावना देखिन्छ ।
कम्पनीको वित्तीय अवस्था
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८४ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा २६.४१ प्रतिशतको बढोत्तरी गरेको थियो । त्यो भन्दा अघिल्लो वर्ष बैंकले ६७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरण योग्य नाफा ८४ करोड ७१ लाख रहेको छ । बैंकले १ अर्ब २३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८ अर्ब ७८ करोड रुपैंयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।
यसैगरी अघिल्लो वर्षको चौथो त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी ७.०६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ ११३.६२ रुपैयाँ रहेको छ ।
बैंकको व्यवसाय
धेरै पूँजी भएको यो ठूलो बैंक ठूला पूर्वाधारहरुमा लगानी गर्ने उद्देश्यका साथ खोलिएको हो । त्यसै अनुरुप बैंकले केही ठूला परियोजनाहरुमा लगानी गर्न शुरू गरिसकेको छ ।
बैंकले आफ्नो पहिलो लगानी कास्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती जलविद्युत परियोजनामा गरेको छ । यो परियोजनामा यस बैंकका अलावा हिमालयन बैंक र सानिमा बैंकले समेत संयुक्त रुपमा ४ अर्ब ६ करोड रुपैंयाँ लगानी गरेका हुन् ।
यसैगरी कुमारी बैंक र पूर्वाधार विकास बैंकले २२ मेगावाटको सेतीखोला हाइड्रो पावर कम्पनीमा पनि संयुक्त रुपमा ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरिसकेका छन् । यसमा कुमारी बैंकले २ अर्ब र पूर्वाधार विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरिसकेका छन् ।