काठमाडौं । अब सेयर लगानीकर्ताले विद्युतीय माध्यमबाटै ग्राहक पहिचान विवरण (केवाइसी) भर्न सक्ने भएका छन् ।
नेपाल धितोपत्र बोर्डले सीडीएस एण्ड क्लियरिङको केन्द्रीकृत विद्युतीयसेवा सम्वन्धी कार्य संचालन निर्देशिका पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।
निर्देशिकामा लगानीकर्तालाई धितोपत्र बजार मार्फत प्राप्त हुने सेवा सुविधा तथा सो संग सम्बन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो बनाउने उल्लेख छ ।
यस अनुसार अब लगानीकर्ताले घरैबाट व्यक्तिगत पहिचान सहितको केवाइसी विवरण भर्न सक्ने छन् । त्यस्तो प्रणाली भित्र रहेको केवाइसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने छन् ।
विद्यमान कोभिड-१९ को महामारीमा धितोपत्र व्यवसायीकोमा ग्राहकले आफूले भर्नु पर्ने ग्राहक पहिचान विवरणलाई सहज र सरल बनाउन तथा डिजिटलाईजेसन गर्न आवश्यक रहेको परिप्रेक्ष्यमा नयाँ व्यवस्था धेरै उपयोगी हुने बोर्डले जनाएको छ ।
निर्देशिका कार्यान्वयनमा आए पश्चात धितोपत्र बजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नु पर्ने झण्झटिलो व्यवस्था हट्नेछ । लगानीकर्तालाई धितोपत्र कारोवार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र बजार प्रविधिमैत्री हुँदै गई बजार विकासमा समेत थप टेवा पुग्ने दाबी बोर्डले गरेको छ ।