काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न मंसिर ३ गते साधारणसभा बोलाएको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि आइपीओ निष्काशन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
बैंकको जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशत (८ अर्ब रुपैयाँ) बराबरको आइपीओ निष्काशन गर्ने भएको हो ।
यो नेपाली सेयर बजारमा अहिलेसम्म निष्काशन भएका आइपीओमध्ये सबैभन्दा ठूलो आइपीओ हो । यस अघि नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।
बैंकले गत साधरणसभाबाटै आइपीओ निष्काशनको अनुमति लिएको भए प्रक्रिया अघि बढेको थिएन । चालू आर्थिक वर्ष भित्रै आइपीओ निष्काशन गर्न पुनः साधारणसभामा प्रस्ताव लैजाने भएको हो ।
बैकले यस अघि नै आइपीओ निष्काशन गर्न विक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रुपैयाँ छ। ८ अर्ब रुपैयाँको आइपीओ जारीपछि चुक्ता पूँजी २० अर्ब नाघ्ने छ। बैंकमा १० प्रतिशत सेयर लगानी सरकारको समेत छ।