काठमाडौं। पूँजीगत लाभकरको विवाद टुङ्गिएसँगै सेयर बजारमा सुधारको लहर देखिएको छ । अर्थमन्त्रालयमा बुधबार लगानीकर्ता र सरोकारवाल निकायबीचमा सहमति भएसँगै लाभकर सम्बन्धी विवाद समाधान भएको छ ।
पछिल्ला दिनमा पूँजीगत लाभकरको विवाद र मौद्रिक नीतिले बजार घटाएको विश्लेषण हुँदै आएकोमा सोमबारदेखि बजार सुधार हुन थालेको हो।
बुधबार सेयर बजार मापक सूचक नेप्से ६.२६ अंकले सुधार भएको छ । सोमबार देखि बजारमा लगातार हरियाली छाएको छ ।
आज १६९ वटा कम्पनीको ३५ लाख ७८ लाख ३६ हजार १८५ रुपैयाँ बराबरको कारोबार भएको । १३ लाख ६ हजार ७५६ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
विकास बैंकबाहेक नेप्सेमा कारोबार भएका सबै समूहका सूचक बढेका छन् । निर्जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै ५३.९६ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि २.०३ अंकले माथि लागेको छ ।
बजार सुधारको संकते देखिएसँगै १५ वटा कम्पनीक शेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ । अधिकांश माइक्रोफाइनान्सको बजार मूल्य बढ्दा माइक्रोफाइनान्सको सूचक ३.४९ प्रतिशतले बढेको छ।

कारोबार रकममा नेपाल बैंकले अग्रता लिएको छ । यसको २ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । सबैभन्दा धेरै सिभिल लघुवित्त र विजय लघुवित्तका लगानीकर्ताले १०%का दरले कमाएका छन् ।
सबैभन्दा बढी कमाउने १० कम्पनीहरुमा सबै लघुवित्त नै परेका छन् । यसर्थ, यस दिन लघुवित्त कम्पनीहरुका सेयरमा लगानीकर्ता आकर्षित भएको देखिन्छ ।
अधिकांश कम्पनीको बजार मूल्य बढ्दै गर्दा युनियन हाइड्रोपावरको शेयर बुधबार पनि ४ प्रतिशतले घट्दा ७० रुपैयाँमा ओर्लेको छ। गत वर्ष मात्रै प्राथमिक शेयर निष्काशन गरेको कम्पनीको बजार मूल्य आधार मूल्य भन्दा ३० रुपैयाँले तल झरेको हो।