काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । यो साता सोमबार झिनो अंकले बढे पनि अन्य तीन दिनमा बजार सूचक करिब ३० अंकले घटेको छ ।
अघिल्ला हप्ताहरुमा निरन्तर उकालो लागेको बजारमा प्रफिट बुक गर्ने लगानीकर्ता हाबी हुँदा बजार सुस्त भएको अनुमान गरिएको छ । दशैं नजिकिएसँगै कारोबार रकममा पनि सुस्त हुँदै गएको छ । गतहप्तासम्म औसतमा दैनिक साढे २ अर्ब कारोबार हुँदै आएकोमा पछिल्ला दिनहरुमा त्यो क्रमशः घट्दै २ अर्ब मुनि झरेको छ ।
सेयर बजार मापक सूचक नेप्से आज ७.४२ अंकले घटेर १५६१.१७ विन्दुमा आइपुगेको छ । यसदिन १९५ कम्पनीको १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भएको छ । ५२ लाख ९१ हजार ३१४ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये होटल बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् । आज होटल समूह २.३८ अंकले बढेको छ भने विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ४१.९१ अंकले घटेको छ ।
आज लगानीकर्ताको रोजाइमा सानिमा बैंकपरेको छ । गत आवको नाफाबाट १३.६० प्रतिशत लाभांश दिने घोषणा गरे सँगै लगानीकर्ता सानिमाको सेयरमा आकर्षित भएका हुन् । यसको सबैभन्दा धेरै ७ करोड २५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल बैंक र नेपाल पुनर्बीमा कम्पनीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूलयमा पोजेटिभ सर्किट लागेको छ । दोस्रो बजारमा आजैदेखि कारोबारमा आएको जनरल इन्स्योरेन्स र १२५ प्रतिशत हकप्रद निष्काशनका लागि स्वीकृति पाएके नेपाल फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज घलेम्दी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ७.२६ प्रतिशतले गुमाएका छन् ।