नागढुंगा-नौबिसे सुरुङ निर्माणले गति लिँदै, दशैं लगत्तै सुरुङ खन्न शुरू गरिने

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग खन्ने काम दशैँ लगत्तै शुरू हुने भएको छ । जापानी टोलीले टनेलको अध्ययन शुरू गरिसकेका छन् । टनेल खन्नु अघि केही सुरक्षा तथा तयारी गर्नु पर्ने भएकाले सोही काम अघि बढिसकेको नागढुंगा सुरुङमार्गकी इन्जिनीयर कल्पना अधिकारीले जानकारी दिइन ।

 

टनेल विज्ञ, इन्जिनियर, प्राविधिकसहितको १३ जनाको टोलीको कोभिड परीक्षण गरिएको छ । सबैमा कोरोना नेगेटिभ आएपछि केही दिनअघि मात्र सो टोलीले टनेलमा काम शुरू गरेका हुन् ।

 

जापनीज टोली असोज १६ गते नेपाल आइपुगेका थिए । उनीहरु आएपछि पीसीआर रिपोर्ट नआएसम्मका लागि क्वारेन्टाइनमा राखिएको थियो । केही समय अघि लकडाउनका कारण कामदार अभावले सुस्त भएको सुरुङमार्ग निर्माणले अब भने गति लिने भएको छ ।

 

सुरुङ खन्नका लागि टनेल विज्ञ, इन्जिनियर, प्राविधिकसहितको १३ जनाको जापानी टोली नेपाल आइ पुगेको आयोजनाले जनाएको छ । उनीहरुलाई अहिले क्वारेन्टीनमा राखिएको छ । अब आवश्यक पूर्व तयारी गरी दशैं लगत्तैं सुरुङ खन्ने काम शुरू हुनेछ ।

 

सुरुङ खन्नलाई विस्फोटक पदार्थ प्रयोग गरिने छ । विस्फोटक प्रयोग गर्नु अघि टनेलको मुख बनाउन ड्रिलद्धारा खनिने छ । ड्रिल खन्नु अघि जापनीज टोलीले सो स्थानमा पूर्व तयारीको काम गर्ने इन्जिनीयर अधिकारीले बताइन् । उनले पूर्वतयारीको काम सकिना साथ टनेल ड्रिल गरेर खनिने बताइन् ।

 

‘सीधै टनेल खोन्ने हैन, पहिला त्यहाँ ड्रिल प्रयोग गरेर त्यसको मुख खन्नु पर्छ, ड्रिल अथवा विफ्टोन गरेर सुरुङ बनाउने क्रममा अन्या भौतिक समस्या सृजना नहोस भनेर अध्ययन गरिँदै छ,’ अधिकारीले चाणक्य पोष्टसँग भनिन् ‘दशैँ लगत्तै सुरुङ अन्न शुरू गरिने छ, त्यतिखेरसम्म विस्फोटक सामग्री पनि आइपुग्छ होला ।’

 

यस्तै सुरुङ खन्नका लागि प्रयोग हुने विस्फोटक पदार्थ दशैँ लगत्तै आउने अनुमान गरिएको छ । विस्फोटक पदार्थ ल्याउन केही डकुमेन्ट परिवर्तन गर्नुपर्ने भएको उनले बताइन् । सो डकुमेन्टहरु अहिले मन्त्रालयमा रहेको छ । उक्त डकुमेन्ट अर्थमन्त्रालय हुँदै स्वीकृत भएपछि भारतबाट आयात हुने छन् ।

 

सुरुङमार्ग निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले पाएको छ । सुरुङ खन्नका लागि शुरूमा २५ देखि ३० मिटर खन्नु पर्ने काम चाँडै शुरू हुने छ । सुरुङ खन्नका लागि आवश्यक उपकरण ल्याइसकिएको छ भने विस्फोटक पदार्थ खरिद प्रक्रिया अन्तिम चरणमा रहेको छ ।

 

आयोजनाका लागि ९०० टन विस्फोटक पदार्थ चाहिने भएपनि पहिलो चरणमा ३०० टन विस्फोटक पदार्थ खरिदका लागि नेपाली सेनाले स्वीकृति समेत दिइसकेको छ । सेनाको स्वीकृतिसँगै विस्फोटक सामग्री खरिदको काम शुरू गरिएको उनले जानकारी दिइन् ।

 

‘विस्फोटकका सामग्री भारतबाट ल्याउनु पर्ने छ, त्यो लकडाउनका कारण ल्याउन सकिएको थिएन, सुरुङ खन्न आवश्यक उपकरण समेत निर्माणस्थलमा आइपुगेको छ, अब १०/१५ दिनमा विस्फोटक पदार्थ पनि आइपुग्ला,’ अधिकारीले भनिन् ।

 

सडक विभागका सूचना अधिकारी अर्जुन सुवालका अनुसार अहिले माटो भर्ने, फाउन्डेशन तयार गर्ने लगायत काम भइरहेको छ । अहिलेसम्म ३०० मिटरको हाराहारीमा एप्रोचको काम भएको उनले जानकारी दिए ।

 

हाल नेपाली कामदारले माटो भर्ने, कटिङ, ट्याङ्क लगायतका काम गरिरहेका छन् । सुरुङ निर्माणका क्रममा पानीको सतह कम हुने भएकाले त्यसका समाधानका लागि ३ वटा रिजर्भ ट्याङ्क निर्माणको काम भइरहेको छ ।

 

यस्तै भूमि अधिग्रहण तर्फ बलम्बुमा ११.८ रोपनी जमिन अधिग्रहणका लागि मूल्याङकनको क्रममा रहेको छ । काठमाडौंतर्फको अधिग्रहणको काम सकिसकेको छ । धादिङतर्फ अधिग्रहणको प्रक्रिया शुरू गर्न बाँकी रहेको छ ।

 

सुरुङको कुल लम्बाइ २.७ किमिको रहेको छ । आयोजना अन्तर्गत ९.५ मिटर र ४ मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ ।सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाइ साढे ३ मिटर हुने विभागले जनाएको छ ।

 

तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुई वटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।

 

सुरुङ मार्ग ४२ महिनामा बनाउने लक्ष्य रहेको छ ।आयोजना सम्पन्न गर्न २२ अर्ब रुपैयाँ लाग्नेमा अनुमान गरिएको छ । जसमा जापान सरकारले ४० वर्षका लागि ०.०१ प्रतिशत सहुलियत ब्याजदरमा १६ अर्ब ऋण दिने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण महाशाखाले जनाएको छ ।

 

गत कात्तिक ७ गते शिलान्याश भएको उक्त सुरुङमार्ग निर्माण कहिले जग्गा विवाद त कहिले कामदार अभावमा अघि बढ्न सकेको थिएन ।आर्थिक वर्ष २०७६/७७ मा नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ५ प्रतिशत मात्र भएको थियो । वित्तीयतर्फ ३५ प्रतिशत प्रगति भएको थियो ।गत आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट मध्ये ४ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको थियो ।

वाणिज्य विभागका अधिकांश सेवा स्थगित Read Previous

वाणिज्य विभागका अधिकांश सेवा स्थगित

आइएमई पेको दशैं अफर, वालेटबाट भुक्तानी गर्दा ३० प्रतिशत क्यासब्याक Read Next

आइएमई पेको दशैं अफर, वालेटबाट भुक्तानी गर्दा ३० प्रतिशत क्यासब्याक