काठमाडौं । आज लगानीकर्ताहरू हाइड्रोपावर र होटलकोको सेयरमा झुम्मिएका छन् । पछिल्ला दिनमा बीमा कम्पनी र माइक्रोफाइनान्समा झुम्मिएका लगानीकर्ता आज हाइड्रो र होटलतर्फ डाइभर्ट भएका हुन्।
तुलनात्मक रूपमा अन्य क्षेत्रका कम्पनीभन्दा हाइड्रोको सेयर मूल्य सस्तो, कोरोनाबाट कम प्रभावित क्षेत्र भएकाले लगानीकर्ता हाइड्रोको सेयरप्रति आकर्षित भएका हुन् ।अहिले पनि केही कम्पनीको मूल्य आइपीओको भन्दा कम अर्थात् १०० रुपैयाँभन्दा कम रहेका छन् ।
आज कारोबारमा आएका अधिकांश हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ भने करिब डेढ दर्जको कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
त्यस्तै करिब ६ महिनादेखि बन्द रहेका होटलहरू भोलिदेखि सञ्चालनमा आउने भएसँगै लगानीकर्ता यसप्रति आकर्षित भएको अनुमान गरिएको छ ।
लगानीकर्ताहरूले एउटा क्षेत्रका कम्पनीबाट पर्फिट बुक गरेपछि अर्को क्षेत्रतर्फ डाइभर्ट गरेको जानकारहरु बताउँछन् ।
हिजो करिब साढे ४ अंकले घटेको सेयर बजारमा आज सामान्य सुधार आएको छ । सेयर बजार मापक सूचक नेप्से ५.३६ अंकले बढेर १५४१.४० बिन्दुमा पुगेको छ । यसदिन १९४ कम्पनीको १ अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० रुपैयाँ बराबरको कारोबार भएको छ । ६३ लाख ९० हजार ८३ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये बैंकिङ बाहेक अन्य सबै समूहको सूचक उकालो लागेका छन् । आज होटल समूहको परिसूचक सबैभन्दा धेरै १४२.८१ अंकले बढेको छ भने बैंकिङ समूहको परिसूचक ४.५८ अंकले घटेको छ ।
आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै ९ करोड ६१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
पछिल्लो डेढ डेढ महिनादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ । कारोबारकै आधरमा नेपाल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज करिब डेढ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमा १६ वटा हाइड्रोपावर रहेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स, एनआरएन लघुवित्त, सोल्टी होटल, दिव्यश्वरी, घलेम्दी, वरुण लगायत १८ कम्पनीका सेयर सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
आज एनआइसी एशिया ब्यालेन्सड् फण्डका सेयरधनीले सबैभन्दा धेरै करिब ३.८७ प्रतिशत गुमाएका छन् ।