काठमाडौं । अहिले देशभर पूर्वाधार निर्माण ठप्प प्रायः छ । लकडाउन र निक्षेधाज्ञाका कारण अहिले देशभरमा केही जलविद्युत् आयोजना बाहेक अन्य पूर्वाधार निर्माणको काम रोकिएको हो ।
चालू आर्थिक वर्षको पहिलो महिनाबाटै निषेधाज्ञा शुरु भएकाले निर्माणको कामले गति लिन नसकेको हो ।अन्य समयमा समेत असार, साउनमा वर्षाका कारण काम हुने गरेको थिएन । वर्षाका कारण सो समयमा सडकका काम नहुने गरेकाले यस समयमा काम नहुँदा धेरै असर नपर्ने सडक विभागका महानिर्देशक केशव कुमार शर्माले बताए ।
उनले चालू आर्थिक वर्ष शुरु भए यता सडकका केही काम बाहेक अन्य कामहरु हुन नसकेको बताए । महानिर्देशक शर्माले भदौसम्म खासै काम नभए पनि लक्ष्यमा ठूलो असर नपर्ने बताए ।
विगतका वर्षहरुमा जाडो महिना (मंसिर–माघ) चिसोका कारण सडक निर्माण रोक्ने गरिए पनि चालू आवमा निरन्तरता दिने विभागले जनाएको छ । चालू आवको शुरुका ३ महिनामा निषेधाज्ञा र चाडपर्वका कारण सडक निर्माण अगाडि बढ्न नसक्ने भएपछि त्यसलाई पूर्ति गर्न विभागले जाडो महिनामा पनि काम गर्ने योजना बनाएको हो ।
वर्षायाम, मजदूर अभाव, निक्षेधाज्ञा, नजिकिँदै गरेको चाडवाड लगायत कारणले गर्दा अहिले सडक निर्माणको काम अघि बढाउन नसकिएको सडक विभागले जनाएको छ । यद्यपि, नयाँ सडक आयोजनाको ठेक्का लगाउने, अध्ययन गर्ने काम भने जारी रहने विभागले जनाएको छ ।
उनका अनुसार अबको केही समय लगतै चाडपर्व शुरु हुने भएकाले असोजसम्म पनि निषेधाज्ञा र लकडाउन कायम रहे मजदूरहरुलाई पीसीआर टेष्ट गराएर भए पनि काम शुरु गरिने छ ।
उनले दशैं तिहार सकिए लगत्तै कर्मचारीहरुको पीसीआर टेष्ट गराएर एक हप्ता क्वारेन्टाइनमा राखी क्याम्पभित्रै लकडाउनमा काम सुरु गर्ने बताए । ‘अहिलेसम्म केही घाटा भएको छैन, यो समयमा पहिले पनि काम हुने गरेको थिएन त्यसैले यसले केही असर गर्दैन तर, लकडाउन बढिरह्यो भने असर पर्न सक्छ,’ महानिर्देशक शर्माले चाणक्य पोष्टसँग भने ।
सामान्यतया मंसिर-माघमा पनि सडकका कामहरु चिसोले गर्दा अवरोध हुने गर्थे । तर, अघिल्लो वर्षदेखि सडक विभागले जाडो महिनामा समेत सडकका कामलाई निरन्तरता दिन थालेको छ । सो अनुसार चालू आवमा पनि जाडो महिनामा समेत सडक निर्माणका कामलाई निरन्तरता दिइने उनले बताए ।
‘हामीले गएको वर्षदेखि नै जाडोमा समेत काम नरोकी गरिरहेका छौं, चालू आवमा पनि सडकका कामलाई जाडो महिनामा पनि निरन्तरता दिइने छ,’ महानिर्देशक शर्माले भने ‘निषेधाज्ञा र लकडाउन बढ्दै गयो भने सोचेजति उपलब्धी नआउला तर, हामी लक्ष्य अनुसार काम पूरा गर्ने कोशिश गरिरहेका छौँ ।’
गत आर्थिक वर्षमा कुल बजेटको ५४.६६ प्रतिशत मात्र खर्च भएको थियो । गत आवमा कुल १ अर्ब २७ अर्ब १३ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । विनियोजित बजेट मध्ये ६९ अर्ब ४८ करोड ७४ लाख रुपैयाँ बजेट खर्च भएको थियो ।
गत आवमा सडक विभाग अन्तर्गत ७२९ किलोमिटर सडक कालोपत्र भएको थियो । ३५२ किलोमिटर सडक पुनः कालोपत्र भएको थियो। यसरी कुल १ हजार ८१ किलोमिटर सडकमा कालोपत्र कार्य सम्पन्न गरिएको थियो । गत आवमा ३६५ किलोमिटर नयाँ ट्रयाक निर्माण र ७५७ किलोमिटर सडक खण्डमा स्तरोन्नति गरिएको थियो ।
सडक विभागले गत आवमा लकडाउन अवधिमा ५५२ किलोमिटर सडक कालोपत्र गरेको थियो भने १३६ किलोमिटर नयाँ ट्रयाक निर्माण गरिएको थियो । लकडाउनकै अवधिमा ८१ वटा पुल निर्माण कार्य सम्पन्न गरिएको थियो । गत आवमा कुल २१० वटा पुल निर्माण सम्पन्न गरिएको थियो । गत आवमा कुल ३०० पुल निर्माण गर्ने सरकारले लक्ष्य लिएको थियो ।
सडक विभागका अनुसार गत आर्थिक वर्षमा ६ वटा आयोजनाहरुको ८० प्रतिशतभन्दा बढी प्रगति भएको छ । १९ वटा आयोजनाहरुको गत आवमा ५० देखि ८० प्रतिशत भौथिक प्रगति भएको सडक विाभगले जनाएको छ ।यस्तै १७ वटा आयोजनाहरुको ५० प्रतिशत भन्दा कम प्रगति भएको विभागको तथ्यांकले देखाएको छ ।
विभागले विभिन्न आयोजनाहरुको सब बेस, बेसको काम सम्पन्न गरेको जनाएको छ । बीचमा फेरि शुरु भएको निषेधाज्ञाका कारण निर्माणले निरन्तरता पाउन नसकेको विभागका सूचना अधिकारी अर्जुन सुवालले बताए । उनका अनुसार कोभिडका कारण मजदूरहरु समेत काममा जान मानिरहेका छैनन् ।