काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजार क्रमशः उकालो लाग्दै गएको छ । नयाँ आर्थिक वर्ष सुरु भएदेखि नै बढ्न थालेको बजार अहिले दैनिक दोहोरो अंकले बढ्न थालेको छ ।
गत हप्ता करिब ५९ अंकले बढेको बजार यो साता ३ कारोबार दिनमै ५२ अंकले बढेको छ । यस्तै कारोबार रकम पनि दैनिक बढ्न थालेको छ । औसतमा दैनिक १ अर्ब हाराहारीमा कारोबार हुँदै आएको बजारमा अहिले दैनिक ३ अर्बभन्दा माथि कारोबार हुन थालेको छ भने आज मात्रै करिब सवा ४ अर्बको कारोबार भएको छ ।
निषेधाज्ञाका कारण अन्य आर्थिक क्रियाकलाप ठप्प हुँदा लगानीकर्ता सेयर बजार प्रवेश गरेको अनुमान गरिएको छ । अन्य क्षेत्रमा अहिले लगानी गर्ने वातावरण नहुँदा लगानीकर्ताले आफ्नो पैसा सेयर बजारमा लगानी गर्न थालेको बताइएको छ । जसले गर्दा पछिल्ला दिनमा सूचकसँगै कारोबार रकम पनि बढ्न थालेको हो ।
बैंकिङ प्रणालीमा अहिले अधिक तरलता छ । बैंकमा पैसा थुप्रिएको र कर्जाको माग समेत न्यून हुँदा बैंक तथा वित्तीय संस्थाले पनि सेयर बजारमा लगानी गर्न थालेको अनुमान गरिएको छ । बैंकहरुले पनि संस्थागत रुपमा सेयरमा लगानी गर्न पाउने प्रावधान छ ।
यस्तै, पछिल्लो समय कर्जाको ब्याजदर समेत सस्तिएको छ । लगानीकर्ताले सस्तो ब्याजमा ऋण लिएर सेयरमा लगानी गर्न थालेका छन् । यसले पनि बजारलाई गतिशील बनाएको लगानीकर्ताको भनाइ छ ।
यस्तै, अर्थमन्त्री युवराज खतिवडाको पदावधि यही २० गते सकिँदैछ । लगानीकर्ता माझ सेयर बजार विरोधि भनेर चिनिएका खतिवडा वर्हिगमन हुने हल्लाका कारण पनि बजारले गति लिएको केही लगानीकर्ता बताउँछन् । यद्यपि खतिवडालाई राष्ट्रिय सभाको सदस्य बनाएर पुनःनियुक्ति गर्ने बाटो भने खुल्लै रहेको छ ।
सेयर बजार मापक सूचक नेप्से २५.५८ अंकले बढेर १५१०.५७ बिन्दुमा पुगेको छ । यसदिन १८६ कम्पनीको ४ अर्ब १८ करोड १० लाख ३६ हजार ११५ रुपैयाँ बराबरको कारोबार भएको छ । ९६ लाख ८६ हजार ९ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये जीवन बीमा र निर्जीवन बीमा समूह बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेका छन् । आज हाइड्रोवार समूहको परिसूचक सबैभन्दा धेरै ९४.२२ अंकले बढेको छ ।
आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै ६७ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
पछिल्लो २ हप्तादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ । कारोबारकै आधरमा शिखर र नेशनल लाइफ इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
हाइड्रोका लगानीकर्ता मालामाल
आज हाइड्रोका सेयरधनी मालामाल भएका छन् । नेप्सेमा सूचीकृत ३४ हाइड्रोपावरकै सेयर मूल्य बढेको छ । आज चिलिमे, अपर तामाकोशी, राधि लगायत करिब अढाई दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
कोरोनाका कारण अन्य क्षेत्रका कम्पनीको तुलनामा हाइड्रोपावर क्षेत्र कम प्रभावित भएको छ । जसले यी कम्पनीहरुको नाफा खासै प्रभावित नहुने र औसतमा राम्रै प्रतिफल दिने आशामा लगानीकर्ता हाइड्रोप्रति झुम्मिएको अनुमान गरिएको छ ।
यस्तै अन्य कम्पनीको तुलनामा हाइड्रोपावर कम्पनीको सेयर मूल्य निकै सस्तो हुँदा लगानीकर्ताहरु यसप्रति आकर्षित भएको लगानीकर्ता बताउँछन् । अहिले पनि झन्डै १ दर्जन कम्पनीको सेयर मूल्य आइपीओ भन्दा सस्तो अर्थात् प्रतिकित्ता १०० रुपैयाँभन्दा कम रहेको छ ।