काठमाडौं । सेयर बजारमा करेक्शन देखिएको छ । यो साता आइतबारदेखि लगातार बढेको बजारमा आज सामान्य गिरावट आएको हो ।
साताको ४ दिनमा करिब ६३ अंकले बढेको बजारमा आज करिब ४ अंकको करेक्शन आएको छ । सेयर बजार मापक सूचक नेप्से ४ अंकले घटेर १४५८.०४ बिन्दुमा आइपुगेको छ । यसदिन १८८ कम्पनीको १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक ओरालो लागेका छन् भने ३ समूहको सूचक उकालो लागेका छन् । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ४१.१६ अंकले बढेको छ भने लघुवित्त समूहको परिसूचक २३.५० अंकले घटेको छ ।
आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै २३ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेको र शिवम् सिमेन्टको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज पनि एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले सबैभन्दा धेरै करिब १० प्रतिशतले नाफा कमाएका छन् ।
आज सामुदायिक लघुवित्तका सेयरधनीले लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यसको सेयर मूल्य करिब ४.०७ प्रतिशतले घटेको छ ।