काठमाडौं । कोरोना माहामारीले विश्व अर्थतन्त्र नै शिथिल बनाइरहेको बेला नेपाली अर्थतन्त्र नि अछुत रहन सकेको छैन् । करिब ६ महिनादेखि कोरोनाले गाँजेको नेपाली अर्थतन्त्र क्रमशः धरासयी हुँदै गएको तथ्यांकहरुले देखाउन थालेको छ ।
कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण व्यापार, व्यवसाय, विकास निर्माण लगायत क्रियाकलाप चौपट हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय तथ्यांक अनुसार आर्थिक वृद्धि हासिल, मूल्य वृद्धि नियन्त्रणमा सरकार असफल देखिएको छ । आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम हासिल भएको छ भने मूल्यवृद्धि सरकारले तोकेको विन्दूभन्दा माथि गएको छ ।
यस्तै, सार्वजनिक ऋण ह्वात्तै बढेर कुल गार्हस्थ उत्पादनको (जीडीपी)को ४० प्रतिशत पुगेको छ । आम्दानीको मुख्य स्रोत रेमिट्यान्समा सामान्य गिरावट आएको छ । यी सूचकले समग्र अर्थतन्त्र नकारात्मक दिशामा रहेको संकेत गर्दछ ।
यद्यपि कोरोनका कारण लगाइएको लकडाउनका कारण आयातमा कमी आउँदा व्यापार घाटामा भने सुधार आएको छ । यस्तै, शोधान्तर बचत, विदेशी मुद्रा सञ्चिति भने बलियो अवस्थामा रहेको देखिएको छ ।
आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत, हासिल २.२८ प्रतिशत
सरकारले गत आव २०७६/७७ मा निर्धारण गरेभन्दा ५ प्रतिशत कम आर्थिक वृद्धि हासिल गरेको छ । राष्ट्र बैंकका अनुसार गत ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि त्यो २.२८ प्रतिशतमा सीमित भएको छ ।
पछिल्लो समय कोरोनालाई बनाए पनि कोरोना अघिको समयमा पनि लक्ष्य अनुसार सरकारले पूँजीगत खर्च गर्न नसक्दा आर्थिक वृद्धि न्यून अंकमा खुम्चिएको हो ।
अघिल्ला दुई आर्थिक वर्षमा साढे ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको नेपालले गत आवमा भने पूँजीगत खर्च गर्न नसक्दा, कोराना लगायत कारणले आर्थिक वृद्धि अत्यन्तै न्यून हासिल भएको हो ।
मूल्य वृद्धि नियन्त्रणमा सरकार असफल
आर्थिक वृद्धि हासिलमा असफल भए जस्तै सरकार मूलय वृद्धि नियन्त्रणमा पनि असफल बनेको छ । सरकार आफैले गत आवमा मूल्य वृद्धि (मुद्रास्फीति) ६ प्रतिशतमा सीमित राख्ने बताए पनि त्यसलाई सीमा भित्र राख्न असफल भएको छ ।
राष्ट्र बैंकका अनुसार गत आवमा मूल्य वृद्धि ६.१५ प्रतिशत रहेको छ । यो सरकारले तोकेभन्दा ०.१५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ८.१६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ३.०९ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५.८६ प्रतिशत रहेको थियो ।
गत आवमा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ६.९६ प्रतिशत, तराईमा ६.२९ प्रतिशत, पहाडमा ५.१० प्रतिशत र हिमालमा ४.९१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ४.८६ प्रतिशत, ४.२६ प्रतिशत, ५ प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो ।
२०७७ असारमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । अघिल्लो असारमा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो ।
रेमिट्यान्समा कोरोनाको असर खासै देखिएन, अघिल्लै वर्षकै हाराहारीमा
कोरोना कहरका बाबजूद रेमिट्यान्स आयमा खासै असर देखिएको छैन । राष्ट्र बैंकका अनुसार गत आवमा रेमिट्यान्स आयमा जम्मा ०.५ प्रतिशतले मात्र कमी आएको छ ।
आर्थिक वर्ष २०७७/७७ मा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यानस भित्रिएको छ । यो अघिल्लो आवको तुलनामा ४ अर्ब २४ करोड मात्र कमी हो । अघिल्लो आवमा ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ विप्रषण भित्रिएको थियो ।
वैदेशिक रोजगारीका लागि नेपाली कामदार पुगेका विभिन्न श्रम गन्तव्य लामो समयदेखि बन्द हुँदा समेत विप्रेषण आयमा खासै प्रभाव नपरेको पाइएको हो ।
आव २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ । यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३४.७ प्रतिशतले घटेको छ ।
शोधान्तर बचत २ खर्ब ८२ अर्ब
कोरोना भाइरसको कारण आयात घटेपछि शोधान्तर बचतमा ठूलो सुधार आएको छ । गत आवमा देशमा भित्रने भन्दा बाहिरिने रकम कम भएपछि शोधानान्तर २ खर्ब ८२ अर्ब रुपैयाँले बचतमा गएको छ ।
अघिल्लो आवमा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको थियो । गत आवमा अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाख रुपैयाँले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ ।
चालू आवमा चालू खाता घाटा ८७.९ प्रतिशतले घटी ३२ अर्ब ६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा यस्तो घाटा २६५ अर्ब ३६ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालू खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख रहेको छ ।
आयात १५ प्रतिशतले घट्यो, व्यापार घाटामा सुधार
गतवर्ष कोरोना भाइरसको कारण आयात १५.६ प्रतिशतले घटेको छ । गतवर्ष ११ खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यस्तै निर्यात भने ९७ अर्ब ७१ करोड रुपैयाँको निर्यात भएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकुचन भई १० खर्ब ९९ अर्ब ९ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा १३.५ प्रतिशतले वृद्धि भएको थियो ।
व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.२ प्रतिशत रहेको छ । समीक्षा वर्षमा निर्यात.आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६.८ प्रतिशत रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब
२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड पुगेको छ ।