आर्थिक वृद्धि हासिल, मूल्य वृद्धि नियन्त्रणमा सरकार असफल, रेमिट्यान्समा कोरोना असर खासै देखिएन

काठमाडौं । कोरोना माहामारीले विश्व अर्थतन्त्र नै शिथिल बनाइरहेको बेला नेपाली अर्थतन्त्र नि अछुत रहन सकेको छैन् । करिब ६ महिनादेखि कोरोनाले गाँजेको नेपाली अर्थतन्त्र क्रमशः धरासयी हुँदै गएको तथ्यांकहरुले देखाउन थालेको छ ।

 

कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण व्यापार, व्यवसाय, विकास निर्माण लगायत क्रियाकलाप चौपट हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय तथ्यांक अनुसार आर्थिक वृद्धि हासिल, मूल्य वृद्धि नियन्त्रणमा सरकार असफल देखिएको छ । आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम हासिल भएको छ भने मूल्यवृद्धि सरकारले तोकेको विन्दूभन्दा माथि गएको छ ।

 

यस्तै, सार्वजनिक ऋण ह्वात्तै बढेर कुल गार्हस्थ उत्पादनको (जीडीपी)को ४० प्रतिशत पुगेको छ । आम्दानीको मुख्य स्रोत रेमिट्यान्समा सामान्य गिरावट आएको छ । यी सूचकले समग्र अर्थतन्त्र नकारात्मक दिशामा रहेको संकेत गर्दछ ।

 

यद्यपि कोरोनका कारण लगाइएको लकडाउनका कारण आयातमा कमी आउँदा व्यापार घाटामा भने सुधार आएको छ । यस्तै, शोधान्तर बचत, विदेशी मुद्रा सञ्चिति भने बलियो अवस्थामा रहेको देखिएको छ ।

 

आर्थिक वृद्धिदर लक्ष्य ७  प्रतिशत, हासिल २.२८ प्रतिशत

 

सरकारले गत आव २०७६/७७ मा निर्धारण गरेभन्दा ५ प्रतिशत कम आर्थिक वृद्धि हासिल गरेको छ । राष्ट्र बैंकका अनुसार गत ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि त्यो २.२८ प्रतिशतमा सीमित भएको छ ।

 

पछिल्लो समय कोरोनालाई बनाए पनि कोरोना अघिको समयमा पनि लक्ष्य अनुसार सरकारले पूँजीगत खर्च गर्न नसक्दा आर्थिक वृद्धि न्यून अंकमा खुम्चिएको हो ।

 

अघिल्ला दुई आर्थिक वर्षमा साढे ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको नेपालले गत आवमा भने पूँजीगत खर्च गर्न नसक्दा, कोराना लगायत कारणले आर्थिक वृद्धि अत्यन्तै न्यून हासिल भएको हो ।

 

मूल्य वृद्धि नियन्त्रणमा सरकार असफल

 

आर्थिक वृद्धि हासिलमा असफल भए जस्तै सरकार मूलय वृद्धि नियन्त्रणमा पनि असफल बनेको छ । सरकार आफैले गत आवमा मूल्य वृद्धि (मुद्रास्फीति) ६ प्रतिशतमा सीमित राख्ने बताए पनि त्यसलाई सीमा भित्र राख्न असफल भएको छ ।

 

राष्ट्र बैंकका अनुसार गत आवमा मूल्य वृद्धि ६.१५ प्रतिशत रहेको छ । यो सरकारले तोकेभन्दा ०.१५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो ।

 

आर्थिक वर्ष २०७६/७७ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ८.१६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ३.०९ प्रतिशत रहेको थियो ।

 

आर्थिक वर्ष २०७६/७७ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५.८६ प्रतिशत रहेको थियो ।

 

गत आवमा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ६.९६ प्रतिशत, तराईमा ६.२९ प्रतिशत, पहाडमा ५.१० प्रतिशत र हिमालमा ४.९१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ४.८६ प्रतिशत, ४.२६ प्रतिशत, ५ प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो ।

 

२०७७ असारमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । अघिल्लो असारमा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो ।

 

रेमिट्यान्समा कोरोनाको असर खासै देखिएन, अघिल्लै वर्षकै हाराहारीमा

 

कोरोना कहरका बाबजूद रेमिट्यान्स आयमा खासै असर देखिएको छैन । राष्ट्र बैंकका अनुसार गत आवमा रेमिट्यान्स आयमा जम्मा ०.५ प्रतिशतले मात्र कमी आएको छ ।

 

आर्थिक वर्ष २०७७/७७ मा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यानस भित्रिएको छ । यो अघिल्लो आवको तुलनामा ४ अर्ब २४ करोड मात्र कमी हो । अघिल्लो आवमा ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ विप्रषण भित्रिएको थियो ।

 

वैदेशिक रोजगारीका लागि नेपाली कामदार पुगेका विभिन्न श्रम गन्तव्य लामो समयदेखि बन्द हुँदा समेत विप्रेषण आयमा खासै प्रभाव नपरेको पाइएको हो ।

 

आव २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ । यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३४.७ प्रतिशतले घटेको छ ।

 

शोधान्तर बचत २ खर्ब ८२ अर्ब

 

कोरोना भाइरसको कारण आयात घटेपछि शोधान्तर बचतमा ठूलो सुधार आएको छ । गत आवमा देशमा भित्रने भन्दा बाहिरिने रकम कम भएपछि शोधानान्तर २ खर्ब ८२ अर्ब रुपैयाँले बचतमा गएको छ ।

 

अघिल्लो आवमा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको थियो । गत आवमा अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाख रुपैयाँले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ ।

 

चालू आवमा चालू खाता घाटा ८७.९ प्रतिशतले घटी ३२ अर्ब ६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा यस्तो घाटा २६५ अर्ब ३६ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालू खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख रहेको छ ।

 

आयात १५ प्रतिशतले घट्यो, व्यापार घाटामा सुधार

 

गतवर्ष कोरोना भाइरसको कारण आयात १५.६ प्रतिशतले घटेको छ । गतवर्ष ११ खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यस्तै निर्यात भने ९७ अर्ब ७१ करोड रुपैयाँको निर्यात भएको छ ।

 

आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकुचन भई १० खर्ब ९९ अर्ब ९ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा १३.५ प्रतिशतले वृद्धि भएको थियो ।

 

व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.२ प्रतिशत रहेको छ । समीक्षा वर्षमा निर्यात.आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६.८ प्रतिशत रहेको थियो ।

 

कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब

 

२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड पुगेको छ ।

 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड पुगेको छ ।

 

झन्डै ८ लाख स्मार्ट लाइसेन्स छपाइ सकियो, कहिलेबाट बाँड्ने भन्ने अनिश्चित Read Previous

झन्डै ८ लाख स्मार्ट लाइसेन्स छपाइ सकियो, कहिलेबाट बाँड्ने भन्ने अनिश्चित

अन्तर्राष्ट्रिय बजारमा अर्ग्यानिक चियाको माग उच्च, खर्चिलो हुँदा कृषक उत्पादन गर्नै चाहँदैनन् Read Next

अन्तर्राष्ट्रिय बजारमा अर्ग्यानिक चियाको माग उच्च, खर्चिलो हुँदा कृषक उत्पादन गर्नै चाहँदैनन्