काठमाडौं । पछिल्लो समय देशभर अपार्टमेन्ट कारोबार घट्दो क्रममा रहेको छ । २०७२ को भूकम्पले ओरालो लागेको व्यवसाय पछिल्ला वर्षहरुमा क्रमशः लय समात्दै गएको थियो । तर, कोरोनाका कारण गति लिँदै गएको व्यवसाय पुन थलिन थालेको छ ।
रियल स्टेट कारोबार नेपालका प्रबन्धक प्रकाश छटौली पछिल्लो समय अपार्टमेन्ट कारोबार धेरै कम रहेको बताउँछन् । उनले भूकम्पले घट्दै गएको अपार्टमेन्ट कारोबारलाई कोभिड १९ले झन असर पारेको बताए ।
अपार्टमेन्टमा धेरै मानिसहरु बस्ने भएकाले कोभिडका कारण अपार्टमेन्टमा समेत चहलपहल कम हुन थालेको उनले बताए ।
धेरै मानिसहरु कोभिडका कारण गाउँ गएको र विदेशबाट आउने समेत नभएकाले बैना गरेको अपार्टमेन्ट समेत फिर्ता हुने अवस्था सृजना भएको उनले बताए ।
अपार्टमेन्ट विक्रीमा गिरावट आएसँगै बैंक तथा वित्तीय संस्थाबाट खर्बौ रुपैयाँ ऋण लिएर लगानी गरेका व्यवसायी भने मारमा परेका छन् । यस्तै अपार्टमेन्टको कारोबार हुन छाडेपछि व्यवसायीले ऋण तिर्न नसक्दा बैंकहरुको कर्जा लगानी समेत जोखिम पर्नसक्ने जानकारहरु बताउँछन् ।
‘अपार्टमेन्ट किनबेच धेरै कम भएको छ, केही फाट्फुट्ट भएको होला, नत्र कोभिड १९ ले यस क्षेत्रलाई धेरै असर पारेको छ, बैना दिएको अपार्टमेन्ट समेत अब फिर्ता माग्न सक्ने अवस्था भएको छ,’ उनले चाणक्य पोष्टसँग भने ।
उपत्यकामा मात्र १४ हजार बढी अपार्टमेन्ट रहेका छन् करिब १ हजार हाराहारीमा निर्माणधीन अवस्थामा रहेका छन् ।नेपाल जग्गा तथा आवास विकास संघका सदस्य विपिन चित्रकार अपार्टमेन्ट खरिद विक्री निकै न्यून रहेको बताउँछन् । उनले फिनिसिङ नभएका अपार्टमेन्टहरु खाली रहेको बताए । केही अपार्टमेन्टहरु बुक भए पनि कोरोनाका कारण मानिसहरु आउन नसकेको बताए ।
‘मान्छे नभएको हैन, केही अपार्टमेन्ट विक्री भइरहेका छन् तर, कोरोनाले गर्दा सर्न सक्ने अथवा अपार्टमेन्टमा जान सक्ने अवस्था नभएको हो,’ नेपाल जग्गा तथा आवास विकास संघका सदस्य चित्रकारले चाणक्य पोष्टसँग भने ।

खबौँ लगानी रहेको अपार्टमेन्ट क्षेत्र हाल ऋण र सेवाग्राहीको अभावले थलिएको उनी बताउँछन् । विभिन्न बैंकहरुबाट कर्जा लिएर अपार्टमेन्ट बनेका हुँदा उक्त ब्याज लकडाउनका समयमा समेत अनिवार्य तिर्नु परेको उनी बताउँछन् ।
अपार्टमेन्ट विक्रीमा गिरावट आएसँगै बैंक तथा वित्तीय संस्थाबाट खर्बौ रुपैयाँ ऋण लिएर लगानी गरेका व्यवसायी भने मारमा परेका छन् । यस्तै अपार्टमेन्टको कारोबार हुन छाडेपछि व्यवसायीले ऋण तिर्न नसक्दा बैंकहरुको कर्जा लगानी समेत जोखिम पर्नसक्ने जानकारहरु बताउँछन् ।
अपार्टमेन्ट क्षेत्रका लागि भनेर छुट्टै ऐन समेत बनाउनका लागि पहल भएको तर, कोभिडका कारण अघि बढ्न नसकेको बताउँदै उनले आगामी समयमा उपत्यकामा अपार्टमेन्ट भन्दा अर्को उपाय नरहेको बताए ।
उपत्यकामा जमिनको कमी हुँदै गएको र जनसंख्या बढ्दै गएकाले यी सबैका लागि अपार्टमेन्ट सस्तो आवास हुने बताए ।
साउनमा १९ वटा अपार्टमेन्ट बिके
चालू आर्थिक वर्षको पहिलो एक महिनामा १९ अपार्टमेन्ट किनबेच भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार उपत्यकामा मात्र १८ अपार्टमेन्टहरु खरिद विक्री भएका हुन् ।
सबैभन्दा धेरै ललितपुर मालपोत कार्यालय, लगनखेलबाट भएको छ । सो कार्यालयबाट १० वटा कपार्टमेन्ट किनबेच भएको छ । डिल्लीबजार मालपोत कार्यालयबाट २ वटा अपार्टमेन्ट कारोबार भएको छ ।
चाबहिल मालपोत कार्यालयबाट ३ वटा अपार्टमेन्ट कारोबार भएको छ । कलंकी मालपोत कार्यालयबाट २ वटा अपार्टमेन्ट कारोबार भएको छ ।
टोखा मालपोत कार्यालय र झापा मालपोत कार्यालयबाट १/१ वटा अपार्टमेन्ट खरिद विक्री भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।
यस्तै चालू आर्थिक २०७७/७८ को पहिलो महिना (साउन) मा घरजग्गा कारोबारबाट कुल २ अर्ब २७ करोड ४८ लाख रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा घरजग्गा कारोबारबाट कुल ३४ अर्ब ६८ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।