काठमाडौं । नोपाली सेयर बजारमा बहुप्रतिक्षित स्टक डिलर सञ्चालनमा आउने बाटो खुलेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ‘धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन कार्यविधि २०७७’ सम्बन्धी कार्यविधि तयार पारेसँगै यस्तो बाटो खुलेको हो ।
नेप्सेका अनुसार यो कार्याविधि आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउने छ । सेयर बजारमा हुने अस्वभाविक उतरचढाव रोक्ने उद्देश्यका साथ नागरिक लगानी कोषले यही भदौ देखि स्टक डिलर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसका साथै आगामी दिनमा सञ्चालनमा आउने अन्य स्टक डिलर कम्पनीलाई लक्षित गर्दै नेप्सेले कार्यविधि तयार गरेको हो ।
नागरिक लगानी कोषले ५ अर्ब चुक्ता पूँजीको स्टक डिलर कम्पनी सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेको छ । स्टक डिलरले बजारमा अवमूल्यन भएर सेयर मूल्य निकै तल आएको अवस्थामा खरीद गरिदिने र अधिमूल्यन भएर मूल्य निकै बढेको अवस्थामा बिक्री बढाएर अस्वभाविक बढ्न रोक्ने भूमिका निर्वाह गर्ने मानिन्छ ।
स्टक डिलरले यस्ता कम्पनीको मात्र सेयर किन्न पाउने
नेप्सेले जारी गरेको कार्यविधि अनुसार स्टक डिलर कम्पनीले जुन पायो त्यही अर्थात् नेप्सेमा सूचीकृत सबै कम्पनीको सेयर किन्न नपाउने भएको छ ।
कार्यविधि अनुसार स्टक डिलरले विगत ३ वर्षदेखि नाफामा रहेको, लगानीकर्ताहरूको संख्या कम्तीमा १० हजार रहेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको र विगत एक वर्षको कारोबार दिन मध्ये कम्तीमा ८० प्रतिशत दिनमा कारोबार भएको हुनु पर्नेछ ।
यस्तै, डिलरहरुले २० करोडभन्दा कम पूँजी भएका कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार हाल बजारमा सूचीकृत ५३ मध्ये १८ लघुवित्त कम्पनीमा स्टक डिलरले लगानी गर्न पाउने छैनन् ।
स्टक डिलरले धिताेपत्र बोर्डले तोकेका बाहेक अन्य कम्पनीको सेयर कारोबार गर्न पाउने छैनन् ।
अधिकतम ५० हजार कित्तासम्म सेयर किन्न पाउने
स्टक डिलरले १ हजार कित्ताभन्दा कम सेयर कारोबार गर्न पाउने छैन भने चुक्ता पूँजीका आधारमा एकपटकमा १० हजारदेखि अधिकतम ५० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने छन् ।
जस अनुसार ८ अर्ब रुपैयाँ वा सोभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीहरूको ५० हजार कित्तासम्म सेयर खरीद पाउने व्यवस्था गरिएको छ ।
यस्तै ५ अर्बदेखि ८ अर्ब रुपैयाँभन्दा कम चुक्ता पूँजी भएको कम्पनीको ४० हजार, २ देखि ५ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको ३० हजार, १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएको कम्पनीको २५ हजार, ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीको २० हजार कित्ता सेयर किनबेच गर्न पाउने छन् ।
यस्तै, २० करोड रुपैयाँभन्दा बढी र ५० करोडभन्दा कम चुक्ता पूँजी भएको कम्पनीको १० हजार कित्तासम्म मात्र सेयर खरीद गर्न पाउने व्यवस्था गरिएको छ ।
स्टक डिलर कम्पनीले दैनिक रुपमा आफ्नो नेटवर्थको ६० प्रतिशतभन्दा धेरै रकमको सेयर किनबेच गर्न नपाउने भएका छन् ।
धितोपत्र व्यापारीले सूचीकृत धितोपत्रको कारोबार गर्न गराउन नेप्सेमा कम्तीमा ५० लाख नगद वा बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । यस्तो धरौटी हिसाब राफसाफ तथा फर्छ्याैट गर्न पाइने छैन ।
धितोपत्र व्यापारीले धरौटी राखेको रकमबाट २५ गुणासम्मको सीमाभित्र रही कारोबार गर्न पाउने व्यवस्था कार्यविधिले गरेको छ ।