काठमाडौं । धितोपत्र बोर्डबाट ६३ करोडको आइपीओ ल्याउन अनुमति पाइसकेको रिलायन्स लाइफ इन्स्योरेन्सले खुद नाफा ४८ प्रतिशतले वृद्धि गरेको छ ।
कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैसाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सले ४ करोड ३३ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.४५ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा २ करोड ९२ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीले इन्स्योरेन्सले आफ्नो व्यवस्या विस्तारसँगै बीमा शुल्क आर्जन, जगेडा कोष, बीमा कोष लगायत सूचकमा पनि पनि उच्च वृद्धि गरेको छ ।
कम्पनीले गत असार मसान्तसम्म बीमा शुल्क आर्जन ८७ प्रतिशतले वृद्धि गरेर १ अर्ब ३६ करोड ८९ लाख रुपैयाँमा पुर्याएको छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले ७३ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले सो अवधिमा १७ हजार ८८९ बीमालेख जारी गरेको छ ।
१ अर्ब ४७ लाख रुपैयाँ रहेको चुक्ता पूँजी इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ३२ लाख रुपैयाँ छ भने जीवन बीमा कोषमा १ अर्ब १४ करोड रुपैयाँ र महाविपत्ति कोषमा १ करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।