नागढुंगा-नौबिसे सुरुङमार्गको कामले गति लियो, असोजदेखि सुरुङ खन्न सुरु गरिने
गिता भुजेल
प्रकाशित : 1:12 pm, शुक्रबार, साउन १६, २०७७

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गको कामले गति लिएको छ । लकडाउनका कारण कामदार अभावले सुस्त भएको सुरुङमार्ग निर्माणले लकडाउन हटेसँगै गति लिएको हो ।

गत कात्तिक ७ गते शिलान्याश भएको उक्त सुरुङमार्ग निर्माण कहिले जग्गा विवाद त कहिले कामदार अभावमा अघि बढ्न सकेको थिएन । अहिले जग्गा विवाद पनि सुल्झिएको र लकडाउन हटेसँगै उपत्यका बाहिर गएका कामदार आएकाले अब भने सुरुङमार्ग निर्माणले आयोजनाले बताएको छ ।

 

आयोजनाकी इन्जिनीयर कल्पना अधिकारीले कोभिड १९ का कारण केही जापानी टोली नेपालबाहिर भएकाले उनीहरु नफर्किँदा कामले गति लिन नसकेको बताइन् । उनका अनुसार सुरुङमार्ग निर्माणको मुख्य काम जापनिज कामदारले गर्ने र उनीहरु नहुँदा कामले गति लिन नसकेको हो ।

 

जेठ अन्तिमबाट सुरुङ खन्ने भनिए पनि कामदार कमी र लकडाउनका कारणले कामले गति लिन सकेको थिएन । सुरुङ खन्नका लागि आवश्यक उपकरण ल्याइसकिएको छ भने विस्फोटक पदार्थ खरिद प्रक्रिया समेत अघि बढीसकेको छ ।

 

हाल नेपाली कामदारले माटो भर्ने लगायतका काम गरिरहे पनि सुरुङ खन्ने काम जापानी प्राविधिकहरुले गर्ने उनले जानकारी दिइन् । ‘केही जापानी टोलीहरु आएका छैनन्, उनीहरु लकडाउनकै कारण आफ्नै देशमा रोकिएकाले कामले गति लिन सकेको छैन, कोभिडले यो पटक भौतिकतर्फ धेरै असर पारेको छ,’ उनले चाणक्य पोष्टसँग भनिन् ।

 

सडक विभागका सूचना अधिकारी अर्जुन सुवालका अनुसार अहिले माटोभर्ने, फाउन्डेशन तयार गर्ने लगायत काम भइरहेको छ । अहिलेसम्म ३०० मिटरको हाराहारीमा एप्रोचको काम भएको उनले जानकारी दिए ।

 

गत आवमा वित्तीय प्रगति केही बढी भए पनि भौतिक प्रगति धेरै हुन नसकेको आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ मा नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ५ प्रतिशत मात्र भएको छ । वित्तीयतर्फ ३५ प्रतिशत प्रगति भएको नागढुंगा सुरुङमार्ग आयोजनाकी इन्जिनीयर कल्पना अधिकारीले जानकारी दिइन ।

 

उनका अनुसार गत आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट मध्ये ४ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको थियो ।

 

सुरुङ खन्ने काम असोजदेखि सुरु हुने

 

आयोजनाको सुरुङ खन्ने काम आगामी असोजदेखि सुरु हुने भएको छ । जेठ अन्तिमबाट सुरुङ खन्ने भनिए पनि कामदार कमी र लकडाउनका कारणले कामले गति लिन सकेको थिएन ।

इन्जिनीयर अधिकारीले सुरुङ निर्माण गर्नका लागि विस्फोटक पदार्थ चाहिने भएकाले लकडाउनका कारण उक्त सामग्री आयात हुन नसकेको बताइन् ।

 

उनले असोजसम्म सुरुङ खन्ने काम सुरु गर्ने र भदौसम्ममा विस्फोटक पदार्थ समेत आयात भइसक्ने भएकाले असोज पछि मात्र विस्फोटक पदार्थको प्रयोग गरी सुरुङ मार्ग निर्माण गरिने बताइन् ।

 

आयोजनाका लागि ९०० टन विस्फोटक पदार्थ चाहिने भएपनि पहिलो चरणमा ३०० टन विस्फोटक पदार्थ खरिदका लागि नेपाली सेनाले स्वीकृति समेत दिइसकेको छ । सेनाको स्वीकृतिसँगै विस्फोटक सामग्री खरिदको काम सुरु गरिएको उनले जानकारी दिइन् ।

 

‘विस्फोटकका सामग्री भारतबाट ल्याउनु पर्ने छ, त्यो लकडाउनका कारण ल्याउन सकिएको छैन, भदौसम्म विस्फोटक पदार्थ आयोभने, असोजबाट विस्तारै हातैले खनेर पछि विस्फोटकको प्रयोग गरिनेछ,’ अधिकारीले चाणक्य पोष्टसँग भनिन् । सुरुङ खन्न आवश्यक उपकरण समेत निर्माणस्थलमा आइपुगेको आयोजनाले जनाएको छ ।

 

यस्तै भूमि अधिग्रहण तर्फ बलम्बुमा ११.८ रोपनी जमिन अधिग्रहणका लागि मूल्याङकनको क्रममा रहेको छ । काठमाडौंतर्फको अधिग्रहणको काम सकिसकेको उनले जानकारी दिइन । धादिङतर्फ अधिग्रहणको प्रक्रिया सुरु गर्न बाँकी रहेको उनले बताइन् ।

 

सुरुङको कुल लम्बाइ २.७ किमिको रहेको छ । आयोजनाअन्तर्गत ९.५ मिटर र ४ मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ ।

 

सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तरराष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाइ साढे ३ मिटर हुने विभागले जनाएको छ ।

 

तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुई वटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।

 

सुरुङ मार्ग ४२ महिनामा बनाउने लक्ष्य रहेको छ ।आयोजना सम्पन्न गर्न २२ अर्ब रुपैयाँ लाग्नेमा अनुमान गरिएको छ । जसमा जापान सरकारले ४० वर्षका लागि ०.०१ प्रतिशत सहुलियत ब्याजदरमा १६ अर्ब ऋण दिने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण महाशाखाले जनाएको छ ।