५ महिनादेखि बन्द होटलको सेयरमा किन यसरी झुम्मिए लगानीकर्ता

काठमाडौं । गत असार १ यता लकडाउन केही खुल्ला गरिएको थियो । त्यसको १५ दिन पश्चात लामो समयसम्म बन्द रहेको सेयर बजार खुलेको थियो ।

 

अर्थतन्त्रका अन्य सबै क्षेत्रहरु कुनै न कुनै रुपले सम्बोधन गरेको भए पनि सेयर बजार खुल्ला गर्ने बारे लामो समयसम्म कुनै चासो देखाएन । लगानीकर्ताका नाममा खुलेका संस्थाहरु पनि बजार बढ्ने ‘ग्यारेन्टी’ नभइ बजार खोल्न नहुने अडानमा बसिरहे । अन्ततः करिब १७ अर्ब डलरको बजार पूँजीकरण भएको सेयर बजार राज्यका सबै निकायहरु बाट उपेक्षा भइरह्यो ।

 

नेपाल लगानी बढाएर समृद्ध हुन साह्रै रहर पालेको मुलुक हो । तर, लगानीको लागि पूँजी जुटाउने बजारले भने अझै पनि राज्यका निकायहरुको नजरमा सम्ममा पाउन सकेको छैन । अहिलेका अर्थमन्त्री युवराज खतिवडाले यो बजारलाई अनुत्पादक भनिदिए भने केही समय अघिका अर्थमन्त्री बाबुराम भट्टराईले जुवाको खाल भनिदिए ।

 

अहिलेको अवस्थामा पनि होटलहरुको सेयर मूल्य बढ्नै नहुने भन्ने कदापि होइन । विगतका वर्षहरुमा सेयरधनीलाई आकर्षक लाभांश वितरण गरेका यी होटलको सेयरप्रति लगानीकर्ता आकर्षित हुनु स्वभाविक नै हो । तर, यी होटलहरुको अहिलेको व्यापारको अवस्था र आगामी दिनमा हुने आम्दानीको सम्भावनालाई भने नजरअन्दाज गरेर लगानी गर्नु कत्तिको फलदायी होला ? लगानीकर्ता स्वयमले बुझ्ने कुरा हो ।

 

तर, महत्वपूर्ण कुरा के हो भने राज्यका मानिसहरु मात्र नभएर यो क्षेत्रमा पूर्णकालीन रुपमै लागिरहेका मानिसहरुले नै आफ्नो गतिविधि, चेतना र बौद्धिक हस्तक्षेपको माध्यमबाट सेयर बजारलाई सम्मानित र परिपक्व बजारको रुपमा स्थापित गर्न सकेका छैनन् ।

 

गत असार १५ गते यता नै विस्तारै बढ्दै जान थालेको बजार मौद्रिक नीति सार्वजनिक भए पश्चात ह्वात्तै बढ्यो । यसका केही जायज कारणहरु थिए । मौद्रिक नीतिले बैंकहरुको कमाइ र लभांश वितरणको प्रक्रियालाई केही सहज बनाइदिएको थियो । बजारमा प्रशस्त तरलता हुने र ब्याजदर घट्ने वातावरण बनाइदिएको थियो भने मार्जिन लेन्डिङ सीमा पनि ५ प्रतिशत बढाएर ७० प्रतिशत पुर्याइदियो । जसले लगानीकर्ताको मनोबल दह्रो बनाउने काम गर्यो ।

 

यस्तै एकदुई तीव्र गतिमा बढेकोे बजारमा अहिले केही करेक्सन देखिएको छ, जुन स्वभाविक नै हो ।तर, सेयर लगानीकर्ताकै समझ, विवेक र चेतनाकै कारणले सेयर बजार सधैं उपेक्षित हुनुपरेको तथ्यलाई पनि नर्कान मिल्दैन ।

 

उदाहरणका पछिल्ला दिनहरुमा बढेको होटल समूहको सेयर मूल्यलाई लिन सकिन्छ । केहीदिन यता होटल कम्पनीहरुको सेयर मूल्य दैनिक १० प्रतिशत हाराहारीमा बढ्न थालेको छ ।

 

आज पनि सेयर बजारमा सूचिकृत तीन होटल कम्पनीको सेयर मूल्य अधिकतम १० प्रतिशतले बढेको छ । ओरियन्टल्स, सोल्टी र तारागाउँ गरी तीनवटै होटल कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । आज ओरियन्टल्स होटलको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३६३, सोल्टी होटलको सेयर ९.४९ प्रतिशतले बढेर १७३ र तारागाउँको सेयर ९.९५ प्रतिशतले बढेर २१० रुपैयाँ पुगेको छ ।

 

विगत ५ महिनायता यी सबै होटलहरु पूर्णरुपमै बन्द छन् । कमाइ छैन । लाभांश दिन सक्ने कुरै भएन । बैंकको ऋणको साँवा र ब्याज तिर्न सक्ने अवस्थामा पनि छैनन् यी होटलहरु ।

 

र, त्यतिमात्र होइन । अहिलेसम्म कोरोना भाइरसको औषधि वा भ्याक्सिन पत्ता लागेको पनि छैन । त्यसैले पर्यटन क्षेत्र कहिले देखि उभो लाग्ला ? नेपालमा पर्यटकहरु कहिलेबाट आउन शुरु गर्लान ? भन्ने कुनै पनि कुराको टुङ्गो छैन । यस्तो अवस्थामा यी होटलहरुको मूल्य अधिकतम १० प्रतिशतले किन बढ्यो ? सामान्य ढंगले समेत नभई यी सेयरहरु किन कहिल्यै किन्न पाइँदैन भने जसरी बढे ?

 

यी प्रश्नहरुको जवाफ सेयर लगानीकर्ताहरुले खोज्नु पर्ने भएको छ । यी प्रश्नहरुको चित्त बुझ्दो जवाफ नखोज्ने हो भने सेयर बजार एकपटक फेरि राज्यका विभिन्न निकायका मानिसहरुको अगाडि जुवाघर भन्दा फरक देखिने छैन ।

 

अहिलेको अवस्थामा पनि होटलहरुको सेयर मूल्य बढ्नै नहुने भन्ने कदापि होइन । विगतका वर्षहरुमा सेयरधनीलाई आकर्षक लाभांश वितरण गरेका यी होटलको सेयरप्रति लगानीकर्ता आकर्षित हुनु स्वभाविक नै हो । केहीले हाल बजारमा अन्य क्षेत्रका कम्पनीहरुको तुलनामा होटलको सेयर सस्तो भएकाले लगानीकर्ता झुम्मिएको अनुमान गर्न थालेका छन् । तर, यी होटलहरुको अहिलेको व्यापारको अवस्था र आगामी दिनमा हुने आम्दानीको सम्भावनालाई भने नजरअन्दाज नगरी लगानी गर्नु कत्तिको फलदायी होला ? लगानीकर्ता आफैले बुझ्नु पर्दछ ।

 

एउटा सबैजनाले बुझ्नु पर्ने कुरा के हो भने आफू लागेको क्षेत्र, आफूले काम गर्ने क्षेत्रको विश्वसनियता र मर्यादा कायम गर्ने आफैंले हो । अरु कसैले गर्दिने होइन ।

 

जबसम्म बजारमा देखिने विभिन्न किसिमका गतिविधिहरु कुनै न कुनै रुपले ‘लजिकल’ र परिपक्व देखिँदैनन् तबसम्म बजारको दीर्घकालीन विकास र विस्तार संभव छैन ।

तीनकुने आर्क ब्रिजको नयाँ ठेक्का गर्ने तयारी, पप्पुले बनाएका ३ वटा फाउन्डेशन कामै नलाग्ने Read Previous

तीनकुने आर्क ब्रिजको नयाँ ठेक्का गर्ने तयारी, पप्पुले बनाएका ३ वटा फाउन्डेशन कामै नलाग्ने

थप १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार नाघ्यो, २ जनाको मृत्यु Read Next

थप १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार नाघ्यो, २ जनाको मृत्यु