घरजग्गाको कारोबार घट्यो, राजश्व संकलन लक्ष्यभन्दा १६ अर्ब कम
चाणक्य पोष्ट
प्रकाशित : 5:30 pm, मंगलबार, साउन ६, २०७७

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा घरजग्गा कारोबारमा गिरावट आएको छ । गत आर्थिक वर्षको चैत ११ गतेखि जेठमसान्त सम्म लकडाउन कारण घरजग्गा कारोबार हुन नसक्दा कारोबारमा कमी आएको हो ।

 

लकडाउका कारण घरजग्गा कारोबारमा कमी आएसँगै राजश्व संकलनमा पनि ठूलो गिरावट आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवमा ४४ अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखिए पनि असारसम्ममा करिब २९ लाख राजश्व संकलन भएको छ ।

 

अनलाइन प्रणाली जडान भएका देशभरका १०८ मालपोत कार्यालयबाट गत आवमा २८ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ । जसमा रजिस्ट्रेशन शुल्क बापत २० अर्ब ४६ करोड ६९ लाख रुपैयाँ र पूँजीगत लाभकर बापत ७ अर्ब ९५ करोड ४८ लाख रुपैयाँ संकलन भएको छ ।

 

आर्थिक वर्ष २०७५/७६ मा अनलाइन जडान भएका मालपोत कार्यालयहरुबाट कुल २६ अर्ब ३० करोड ६० लाख रुपैयाँ कुल राजश्व संकलन भएको थियो ।

 

भूमि तथा सहकारी मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार आर्थिक वर्ष २०७६/७७ को पूरै जानकारी आइसकेको छैन । यो पटक घरजग्गा कारोबार बाट ३५ अर्बका हाराहारी राजश्व संकलन हुने पूर्वानुमान गरिएको उनले बताए ।

 

१३१ वटा मालपोत कार्यालय मध्ये हालसम्म १०९ मालपोत कार्यालय डिजिटलाइजेशन गरिएको छ । गत आवमा ४४ अर्ब रुपैयाँ बढी राजश्व संकलन गर्ने मन्त्रालयको लक्ष्य रहेको थियो । लकडाउनका कारण ३ महिना कारोबार बन्द हुँदा १२ देखि १६ अर्ब रुपैयाँ कमी आउने उनले बताए ।

 

‘अझै सबै मालपोतबाट जानकारी आएको छैन, यो पटक ३५ अर्ब हाराहारीमा राजश्व उठ्ने अनुमान गरेका छौँ, लकडाउनका कारणले १२ देखि १६ अर्ब रुपैयाँ राजश्वमा कमी आउन सक्छ,’ जोशीले चाणक्य पोष्टसँग भने ‘ ४४ अर्ब भन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य रहेको थियौँ तर, लकडाउनले त्यो हुन दिएन ।’

 

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कुल ३६ अर्ब ९ करोड ५४ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

आधा राजश्व उपत्यकाबाटै संकलन

 

विभागका अनुसार गत आवमा संकलन भएको कुल राजश्व झण्डै आधा राजश्व काठमाडौं उपत्यकाका मालपोत कार्यालयबाट संकलन  भएको छ । विभागको प्रारम्भिक तथ्यांक अनुसार कुल २९ अर्ब राजश्व् संकलन भएकोमा उपत्यका भित्रका मालपोत कार्यालयबाट  १४ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

 

आर्थिक वर्ष २०७५/७६ मा उपत्यका भित्रबाट १० अर्ब ४७ करोड ७९ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । विगतको तुलनामा उपत्यकामा ४ अर्बले बढी राजश्व संकलन भएको हो ।

 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक भरत गौतमका अनुसार यो पटक उपत्यकामा राजश्व बढी संकलन हुनुमा पूँजीगत लाभकरको ठूलो भूमिका रहेको छ । विगतमा ३० लाख भन्दा बढी पूँजी भएकाले मात्र कर तिर्नु पर्थ्यो । तर, २०७६/७७ देखि १० लाख भन्दा बढी पूँजी हुनेले समेत लाभकर तिर्नु पर्ने भएपछि राजश्व संकलन वृद्धि हुन गएको उनले बताए ।

 

‘यो पटक लकडाउन खुकुलो भएपछि अन्तिम समय भएर पनि कित्ताकाट धेरै भएको छ, अन्य क्षेत्रमा भन्दा घरजग्गामा कारोबारमा समेत आकर्षण बढेकाले पनि यसमा लगानी बढेको हो,’ गौतमले चाणक्य पोष्टसँग भने ।

 

रजिष्ट्रेशनबाट उठ्ने रकमको ६० प्रतिशत स्थानीय र ४० प्रतिशत रकम प्रदेशलाई जाने गर्छ । पूँजीगत लाभकरमार्फत जम्मा हुने रकम केन्द्रीय सरकारको खातामा जाने गर्छ ।

 

गएको चैत्र ११ गतेदेखि लक डाउनका कारण बन्द अवस्थामा रहेको मालपोत कार्यालयहरु असार १ गतेदेखि सञ्चालनमा आएको थियो । लक डाउन खुकुलो भएसँगै मालपोत कार्यालयको कारोबार बढ्न थालेको हो ।

 

 

लक डाउन खुकुलो भएपछिको १ महिनामा २६ हजार २ सय ४५ रोक्का कारोबार भएको छ । कित्ताकाट तर्फ १ सय ५६ कारोबार भएको छ । एक महिनामा १५ सय ४० प्रतिलिपि प्रकृयाका काम भएका थिए । असार महिना भरी ४१ हजार ६ सय ५२ लिखित पारित भएको विभागको तथ्यांकले देखाएको छ ।