कोरोनाका बाबजूद चीनको अर्थतन्त्रमा वृद्धि, आर्थिक मन्दीबाट जोगिने संकेत

विश्व महामारी कोरोनाका बाबजूद चीनको अर्थतन्त्रमा वृद्धि भएको छ । बुधबार चीनको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार दोस्रो त्रैमासिकमा अर्थतन्त्र ३.२ प्रतिशतले वृद्धि भएको छ।

 

यो वर्षको पहिलो त्रैमासिकमा ठूलो मन्दीपछि चीनमा आर्थिक मन्दी आउने अनुमान गरिएको थियो । तर दोस्रो त्रैमासमा अर्थतन्त्रले कमब्याक गरेपछि यस वर्ष मन्दी टर्ने संकेत देखिएको छ ।

 

कोरोना भाइरस लकडाउनका कारण संसारको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२० को पहिलो तीन महिनामा ६.८ प्रतिशतले ओरालो लागेको थियो।

 

चीनको कुल गार्हस्थ उत्पादन जीडीपी एप्रिलदेखि जुनमा बढेको देखिएको छ।चीनले आफ्नो अर्थतन्त्र पुनः चालू गरेको अवस्थामा संसारले नै चीनको यो सङ्ख्यालाई कुरिरहेको थियो।यो अङ्क विज्ञहरूले अनुमान गरेभन्दा बढी हो र यसले अर्थतन्त्र ह्वात्तै उकालो लाग्न थालेको सङ्केत गरेको छ।

 

यसको अर्थ चीन प्राविधिक रूपमा आर्थिक मन्दीबाट जोगिएको छ किनभने त्यसका लागि लगातार दुई त्रैमासिकमा अर्थतन्त्र ओरालो लाग्नुपर्छ। चीनले अनपेक्षित रूपमा लकडाउनपछि अर्थतन्त्रमा सुधार गरेको हो।

 

जर्मन बैंकको एक अध्ययनमा चीनको अर्थतन्त्रको पुनरुत्थान लगभग पूरा भएको उल्लेख गरिएको छ।गएको मेमा कोरोनाभाइरस महामारीका कारण चीनले सन् २०२० को लागि आर्थिक वृद्धिको लक्ष्य नराख्ने बताएको थियो।

 

सन् १९९० यता चीनले वार्षिक वृद्धिको लक्ष्य नराखेको यो पहिलोपटक हो।राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार यो वर्षको पहिलो छ महिनामा चीनको अर्थतन्त्र १.६ प्रतिशतले खस्किएको छ।

‘बिटक्वाइन काण्ड’मा बाराक ओबामादेखि जेफ बेजोससम्मको ट्विटर अकाउन्ट ह्याक Read Previous

‘बिटक्वाइन काण्ड’मा बाराक ओबामादेखि जेफ बेजोससम्मको ट्विटर अकाउन्ट ह्याक

यातायात व्यवसायीलाई प्रधानमन्त्रीको आश्वासन , 'सामर्थ्यले भ्याएसम्म सहयोग गर्छु' Read Next

यातायात व्यवसायीलाई प्रधानमन्त्रीको आश्वासन , 'सामर्थ्यले भ्याएसम्म सहयोग गर्छु'