स्मार्ट सिटी निर्माणको फाइल मन्त्रालयमै अड्कियो, क्याबिनेटमा पेश हुन नसक्दा आयोजना अघि बढेन
गिता भुजेल
प्रकाशित : 9:08 am, बुधबार, असार ३१, २०७७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट उपत्यका भित्रका नयाँ सहर निर्माणलाई गति दिने बताए पनि तत्कालै त्यसको काम अगाडि नबढ्ने देखिएको छ ।

 

उपत्यका विकास प्राधिकरणले आगामी आर्थिक वर्षको साउन १ गतेबाट नयाँ सहर निर्माणका काम सुरु गर्ने बताए पनि अहिलेसम्म मन्त्रिपरिषदबाट तत्काल कुन–कुन सरह निर्माण गर्ने भन्ने टुंगो नलाग्दा तत्कालै नयाँ सहरको काम अघि नबढ्ने देखिएको हो ।

 

हाल नयाँ सहर निर्माणको प्रस्ताव फाइल शहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङको टेबलमा छ । मन्त्रीले त्यो फाइल स्वीकृत गरे पछि त्यो क्याबीनेटमा पेश हुने छ ।

 

भक्तपुरको सूर्यविनायकमा १० हजार रोपनी नयाँ सहर निर्माणका लागि भने धेरै खर्च नलाग्ने डीपीआरमा बताइएको छ । साथै टोखाको १० हजार रोपनी नयाँ सहर पनि पहिलो चरणको सम्भावित नयाँ सहरको रुपमा पर्न गएको छ । तत्काल निर्माण गर्न सकिने प्रस्ताव गरिएका यी २ वटा मध्ये कुन चाहिँ सहको काम अगाडि बढाउने भन्ने मन्त्रिपरिषदको बैठकबाट टुंगो लाग्ने छ ।

यसका लागि अझै समय लाग्ने सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले बताए । उनले सहरी विकास मन्त्रीबाट स्वीकृत भएपनि क्यबीनेटबाट पास भएपछि बजेट लगायतका कामहरु बाँकी रहने भएकाले समय लाग्ने बताए ।‘स्वीकृत हुनासाथ साउन १ गतेदेखि निर्माण सुरु हुने हैन, त्यपछि पनि धेरै प्रोसेश बाँकी छन्,’ दवाडीले चाणक्य पोष्टसँग भने ।

 

उपत्यका विकास प्राधिकरणले ४ वटै नयाँ सहर (स्मार्ट सिटी) को डीपीआर पूरा गरी मन्त्रालयमा प्रस्ताव पठाएको हो । सो स्वीकृत नभएसम्म कुनै काम सुरु गर्न नसकिने प्राधिकरणका सिभिल इन्जिनियर तथा सहरी योजनाका प्रमुख भागवत खोखालीले जानकारी दिए ।

 

उनले मन्त्रालयसँग ३ नयाँ सहर निर्माणका लागि हाल प्रस्ताव पठाइएको बताए । ‘हामीले १० हजार रोपनीका ३ नयाँ सहर निर्माणका लागि प्रस्ताव पठाएका छौं, मन्त्रालयले स्वीकृत गरेपछि जति वटा बना भन्छ त्यही अनुसार बनाउने हो,’ खोखालीले भने ‘एउटा बना भने एउटै बनाउ छौँ, ३ वटा बनाउ भने ३ वटै बनाउने हो, त्यो सब प्रस्ताव स्वीकृत भएपछि थाहा हुन्छ ।’

 

मन्त्रिपरिषदबाट चाँडै पास भए नयाँ सहर निर्माणका लागि ठेक्का प्रकृयाको काम आगामी आर्थिक वर्षको सुरुवातदेखि गरिने प्राधिकरणको लक्ष्य रहेको थियो । उपत्यका विकास प्राधिकरणका अनुसार एकै पटक ४ वटै नयाँ सहर निर्माण सम्भव छैन । पछिल्लो समय विश्वभर फैलिएको कोरोनाका कारण विदेशी लगानी पर्खिन पनि नसकिने खोखाली बताउँछन् । उनका अनुसार हाल एक वा दुई वटा नयाँ सहर निर्माणको काम सुरु गर्न सकिने अवस्था छ ।

 

हालका लागि टोखा र सूर्यविनायकमा रहेको नयाँ सहरलाई निर्माण गर्न सम्भव रहेको उनले बताए । यसमा अन्यभन्दा कम खर्च लाग्ने बताए । उनले आन्तरिक रकमबाट ऋण लिएर भए पनि एउटा नयाँ सहर निर्माणको सुरुवात गर्न अहिलेको आवश्यकता रहेको बताए ।

 

हाल एउटा मात्र नयाँ सहर निर्माणका लागि वार्षिक ३ देखि ४ अर्ब लगानी लाग्ने उनले बताए । एउटा नयाँ सहरको निर्माण पूरा गर्नका लागि २० देखि ३० अर्ब रुपैयाँ लागत लाग्ने उनको भनाइ छ । ५ वर्षको योजना अन्तर्गत नयाँ सहर बनाउने लक्ष्य राखिएको छ ।

 

 

उनले आगामी आवमा नयाँ सहर निर्माणका लागि धेरै खर्च नलाग्ने बताए । आगामी आर्थिक वर्ष २०७७/७८ मा ठेक्का प्रक्रिया र अन्य कामको तयारीका कारण धेरै काम हुन नसक्ने उनको बुझाइ छ ।

 

हाल एउटा मात्र नयाँ सहर निर्माणका लागि वार्षिक ३ देखि ४ अर्ब लगानी लाग्ने उनले बताए । एउटा नयाँ सहरको निर्माण पूरा गर्नका लागि २० देखि ३० अर्ब रुपैयाँ लागत लाग्ने उनको भनाइ छ । ५ वर्षको योजना अन्तर्गत नयाँ सहर बनाउने लक्ष्य राखिएको छ ।

 

यस्तै नयाँ सहर निर्माणले विदेशबाट फर्किएर आएका बेरोजगारलाई समेत रोजगारी सृजना गर्ने उनले बताए । यस आयोजनाले बेरोजगारहरुलाई ५ वर्षका लागि रोजगार सुनिश्चित गर्ने उनको भनाइ छ । नयाँ सहर निर्माणले झण्डै १५ सय जनालाई रोजगार दिइने उनले बताए ।

 

नयाँ सहरमा के–के बन्छन् ?

 

प्राधिकरणले १ लाख रोपनीको एउटा र १० हजार रोपनीका ३ वटा गरी चार वटा नयाँ सडक बनाउने योजना बनाएको छ । नयाँ सहर निर्माणका क्रममा ३५ प्रतिशत जग्गा कटौती हुनेछ । त्यसको २० प्रतिशत जग्गा सडकमा आउने बताइएको छ । बाँकी ५ प्रतिशत खुल्ला मैदान र पार्कका लागि छुटाइने छ ।

 

ल्याण्ड पुलिङमा लिएर जग्गाको विकास गरेर उनीहरुलाई उपयोगका लागि फेरि फिर्ता दिइने छ भने त्यसमा मुआब्जा दिइने छैन । हरेक ठाउँमा ४ आनाको प्लटिङ गरेर राख्ने छ । नयाँ सहरमा न्यून्तम ६ मिटर सडकदेखि हाइवेमा ५० मिटर चौडाइका सडक बनाइने छन् ।

 

खोलालाई बाढी आउँदा पोखरीमा जाने तरिकाले डीपीआर डिजाइन गरिएको छ । नयाँ सहरमा कलेज, दमकल स्ट्याड, हेल्थपोष्ट, पार्क, पुलिसस्टेशन, स्कुल, सहरी विकासका भौतिक पूर्वाधारहरु विकास गरिने छ ।

 

हालसम्म डीपीआर निर्माणका लागि १६ करोडको हाराहारीमा खर्च भइसकेको छ । नयाँ सहरको डीपीआर बनाउने क्रममा १ लाख रोपनीको इसान सहरको डीपीआरका लागि मात्र १० करोडको हाराहारीमा खर्च भएको छ । अन्य १० हजार रोपनीका नयाँ सहर निर्माणका लागि २/२ करोड रुपैयाँ खर्च भएको छ ।

 

पहिलो चरणमा बन्ने सम्भावित नयाँ सहर

 

भक्तपुर सूर्यविनायकमा पर्ने १० हजार रोपनी नयाँ सहर निर्माणका लागि भने धेरै खर्च नलाग्ने डीपीआरमा बताइएको छ । साथै टोखाको १० हजार रोपनी नयाँ सहर पनि पहिलो चरणको सम्भावित नयाँ सहरको रुपमा पर्न गएको छ । समितिबाट यी २ वटा मध्ये एउटा नयाँ सहरलाई निर्माण गर्ने विषयले मन्त्रिपरिषदको बैठकबाट निष्कर्ष पाउने खोखालीले बताए ।

 

ललितपुरमा बन्ने नयाँ सहरमा भने अझै केही समस्या देखिएकाले यसलाई तत्काल सुरु गर्न नसकिने उनले बताए । १ लाख रोपनी नयाँ सहरमा बजेट धेरै आवश्यक पर्ने भएकाले सरकारले आफ्नै लगानीमा तत्काल बनाउन सकिने अवस्था नरहेको प्राधिकरणले जनाएको छ ।

 

यस्तै उपत्यकामा बन्ने नयाँ सहर निर्माणका लागि केही चिनियाँ निर्माण कम्पनीहरुले समेत चासो देखाएका थिए । चिनियाँ कम्पनीले १ लाख रोपनीको इसान नयाँ सहर, सूर्यविनायकको १० हजार रोपनीमा बन्ने नयाँ सहर निर्माणमा लगानी गर्न चासो देखाएका थिए ।

 

सरकारले लगानीको वातावरण राम्रो बनाए उनीहरुले नयाँ सहर निर्माणमा लगानी गर्न इच्छा व्यक्त गरेका थिए । हाल कोरोना भाइरसका कारण लगानी भित्राउन नसकिने देखिएको छ ।