काठमाडौं । गत बुधबार देखि निष्काशन भएको सबैको लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) मा ५२ करोड २५ लाख २२ हजार बराबरको आवेदन परेको छ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आईपीओ भर्ने अन्तिम दिन (आइतबार दिउँसोसम्म) कुल २ लाख ८० हजार ५०० जना लगानीकर्ताले ५२ लाख २५ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा १०.५२ गुणा बढी हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ३० लाख रुपैयाँ बराबराको ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो ।निष्कासित आइपीओमध्ये ८ हजार २५० कित्ता (०.५ प्रतिशत) कम्पनीका कर्मचारी र २६ हजार ५०० कित्ता (५ प्रतिशत) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकीरहेको ४ लाख ९५ हजार २५० कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएको छ ।
यसमा न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि अधिकतम २ हजार कित्ता (२ लाख रुपैयाँ) सम्मको लागि आवेदन दिन सक्नेछन् ।
आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म २ करोड ८२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ४ करोड ७२ लाख ८२ हजार र आव २०७७।७८ मा ५ करोड ४२ लाख १० हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान रहेको छ ।