काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार, क्वारेन्टाइन व्यवस्थापन र राहत व्यवस्थापनमा अहिलेसम्म करिब १० अर्ब रुपैयाँ खर्च भएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाको महामारी लगतै चीनबाट नेपाली विद्यार्थी स्वदेश ल्याएदेखि हालसम्म कोरोना नियन्त्रण रोकथामका लागि सामग्री खरिद, क्वारेन्टाइन निर्माण लगायतमा ९ अर्ब ८७ करोड रुपैयाँ रकम खर्च भएको जनाएको हो ।
जसमध्ये केन्द्र तहबाट ६ अर्ब ३ करोड, प्रदेश तहबाट १ अर्ब ८ करोड र स्थानीय तहबाट अहिलेसम्म २ अर्ब ७६ करोड खर्च भएको समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिएका छन् ।
यसैगरी कोरोना उपचार तथा नियन्त्रण कोषमा हालसम्म २ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको उनले बताए । सचिव बिडारीले विज्ञहरुको सुझाव बमोजिम तह तह गरेर लकडाउन खुकुलो पारेर लैजाने सरकारको तयारी रहेको समेत बताए ।