काठमाडौं । लकडाउनका बीच भैरहवामा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम निरन्तर भइरहेको छ । तर, पछिल्लो समय पर्याप्त निर्माण सामग्रीको अभावमा विमानस्थलको काम प्रभावित हुँदै गएको छ ।
विमानस्थलका लागि विदेशबाट ल्याइएको निर्माण सामग्री लकडाउनका कारण ल्याउन नसक्दा आयोजनाको काम रोकिने अवस्थामा पुगेको बताइएको छ । विमानस्थल निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । १० प्रतिशत काम मात्र बाँकी छ।
विमानस्थल निर्माण आयोजना प्रमुखका प्रवेश अधिकारीले हाल डेढ सय कामदारले काम गरिरहेको बताए । उनका अनुसार हाल एसी जडान, टर्मिनल हाउस फिनिसिङ, धावनमार्ग र ट्याक्सी वेमा केवल जडान, नाला बनाउने लगायतका कामहरु भइरहेको छ ।
हालसम्म विमानस्थलको रनवे, टर्मिनल भवन, प्रशासन भवन, कन्ट्रोल टावर, ट्याक्सीवे र पार्किङ जस्ता ठूला पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।
उनले हाल ढुवानीमा समस्या हुँदा हुनु पर्ने कामहरु त्यसको गति अनुरुप हुन नसकेको बताए । उनले पछिल्लो समय निर्माण सामग्रीहरु आयोजना स्थानसम्म ल्याउन समस्या भइरहेको बताए । ‘काम नभएको हैन भइरहेको छ, तर निर्माण सामग्री आयोजना स्थानसम्म ल्याउन सकिरहेको छैन,’ अधिकारीले चाणक्यपोष्टसँग भने ।
केही समय अघि लकडाउन खुकुलै भएको र ढुवानीमा केही सहजता भए पनि कपिलवस्तुमा समेत कोरोना भाइरस संक्रमित भेटिन थालेपछि लकडाउनमा झन कडाइ हुन थालेको उनले बताए ।
गौतमबुद्ध विमानस्थल निर्माणको काम दुई भागमा काम भइरहेको छ । आईसीबी १ र आईबीसी २ गरी दुई भागमा विमानस्थल निर्माणको काम भइरहेको छ । केही चीनबाट आउन बाँकी जनशक्तिका कारण समेत निर्माण कामले गति लिन नसकेको उनले बताए । आईबीसी २ अन्तर्गतको काम चिनियाँ जनशक्तिले गर्ने हुँदा उक्ता काममा समेत असर परेको उनले बताए ।
निर्माण सवारी सुचारु राख्ने भए पनि सवारीलाई पास उपलब्ध नगराउँदा झन्झटिलो बनेको उनले बताए । ‘पास नपाएको हैन, पास पाएर केही सामग्रीहरु ल्यायौँ पनि तर, न्यूनतम सामग्री मात्र ल्याउन पाएका छौँ, अन्य सामग्री कतिपय बोडरमै अड्किएको अवस्थामा छ,’ अधिकारीले भने । सरकारले निर्माण सामग्री सवारी सुचारु राख्ने भने पनि कसरी सुचारु राख्ने भनेर यकिन नबताउँदा समस्या परेको उनले बताए ।
१० प्रतिशत काम धेरै जसो बेसिक उपकरण जडान लगायतका कामहरु बाँकी रहेको उनले बताए । चीबाट आउने उपकरणहरु समेत बनिसकेको र त्यो ल्याउन मात्र बाँकी रहेको उनले बताए । सो उपकरण हरु ल्याउन नपाउँदा समेत कामहरु रोकिन पुगेको छ ।
अबको समयमा लकडाउन खुल्ने हो भने चीनबाट उपकरणहरु ल्याउन १५ देखि २० दिन लाग्ने उनको भनाइ छ । सबै उपकरण उपलब्ध गराउने र कुनै समस्या नभई लगातार काम गर्ने हो भने ३ महिना भित्र काम सिकउने उनको दाबी छ ।
हालसम्म ३ अर्ब रुपैयाँका हाराहारमा बजेट खर्च भएको छ । विमानस्थल निर्माणका लागि ६ अर्ब २२ करोड विनियोजन गरिएको थियो । उनले हालसम्म ६३ प्रतिशतको हाराहारीमा बजेट खर्च भएको बताए । अझै केही काम भए पनि भुक्तानी हुन बाँकी रहेको हुँदा बजेट खर्च हुन नसकेको उनले बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गत चैत्र महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सो विमानस्थल म्याद थपिएको दुई पटक पछि बल्ल पूरा हुन लागेकोमा फेरि कोरोना र लकडाउनका कारण सम्पन्न हुन सकेको छैन । लकडाउन छिटो सकिए निर्माणको कामले छिटो गति लिन सक्ने भएता पनि लकडाउन लम्बिएमा निर्माणको काम उतिनै ढिला हुँदै जाने योजना प्रमुख अधिकारीले बताए ।
हालसम्म विमानस्थल निर्माणका क्रममा रनवे, टर्मिनल भवन, प्रशासन भवन, कन्ट्रोल टावर, ट्याक्सीवे र पार्किङ जस्ता ठूला निर्माण कार्यहरू सम्पन्न भइसकेका छन् ।
उनका अनुसार हाल विमानस्थलमा आन्तरिक काम, आवश्यक उपकरणको स्थापना, प्रकाश प्रणालीको काम, भित्री सजावटसँग सम्बन्धित कामहरू चलिरहेको छ ।
विगतमा सो विमानस्थल २०१९ सम्ममा सञ्चालनमा ल्याउने भनिएको थियो । फेरि पछि २०२० मार्चसम्मका लागि म्याद थप गरिएको थियो । जेठ ११ गतेदेखि लकडाउन घोषणा हुँदा विमानस्थलको कामले गति लिन नसकेको हो ।
सो विमानस्थल निर्माणका क्रममा करिब १५ बिगाहा जमिन अधिग्रहण भएको छ । सञ्चालनपछि यस विमानस्थलले दैनिक १६ हजार यात्रुलाई सेवा दिने लक्ष्य राखिएको छ ।