पर्यटन क्षेत्र पुनर्जीवित गर्न सरकारले पर्यटन दशक कार्यक्रम ल्याउँदै

काठमाडौं । सरकारले कोभिड–१९ बाट प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षमा पर्यटन दशकसम्बन्धी विशेष कार्यक्रम ल्याउने भएको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न १० वर्षे रणनीतिक अवधारणा ल्याइने जानकारी दिए ।

 

सिंहदरबारमा आज आयोजित कोभिड–१९ पछिको पर्यटन र आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रममा समेटिने पर्यटन विकासका योजना कार्यक्रमबारे सञ्चारकर्मीसँगको अन्तक्र्रियामा उनले सन् २०२१ देखि २०३० सम्मको अवधिलाई पर्यटन दशकका रुपमा अघि बढाइने बताए।

 

उनले पूर्वघोषित नेपाल भ्रमण वर्ष–२०२० कार्यक्रम पनि कोभिड-१९ का कारण स्थगित भइसकेको सन्दर्भमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा १० वर्षे पर्यटन रणनीतिलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

 

उनका अनुसार सामान्यतः सन् २०२० ‘सर्भाइबल’ वर्ष हुनेछ भने सन् २०२१ ‘रिभाइबल’ र सन् २०२२ देखि पर्यटन सामान्य अवस्थामा फर्कने आँकलनसहित रणनीति बनाइएको छ । यो भनेको सन् २०३० सम्मको अवधिमा कुनै न कुनै विधालाई प्राथमिकता दिएर पर्यटकीय गतिविधि सञ्चालन गरिनेछ ।

 

पर्वतीय पर्यटन, पर्या पर्यटन, जल पर्यटन, धार्मिक पर्यटन, खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन र शिक्षा पर्यटनलाई प्रवद्र्धन गर्नेगरी नीति तथा कार्यक्रममा समेटिनेछ । साथै कोभिड–१९ बाट प्रभावित श्रमिक तथा व्यवसायीको हितमा पुनःस्थापनाका प्याकेजल्याइने जनाइएको छ ।

 

पर्यटनमन्त्री भट्टराईले अहिले पर्यटन उद्योगका श्रमिकलाई व्यवसायीले निकाल्न नपाउने र उनीहरुलाई सम्बोधन हुनेगरी सरकारले पनि केही सहयोग गर्ने सोच बनाएको भन्दै साझेदारीका साथ अघि बढ्ने बताए ।

बजेट बारे निजी क्षेत्रसँग छलफल, ५ प्रतिशत ब्याजमा ३ वर्षका लागि ऋण दिन माग Read Previous

बजेट बारे निजी क्षेत्रसँग छलफल, ५ प्रतिशत ब्याजमा ३ वर्षका लागि ऋण दिन माग

आजदेखि यी ४२ प्रकारका उद्योग सञ्चालनमा गर्न पाइने (सूचीसहित) Read Next

आजदेखि यी ४२ प्रकारका उद्योग सञ्चालनमा गर्न पाइने (सूचीसहित)