विश्वका प्रमुख सहरहरुमा विलासी आवासिय घरको मूल्यमा गिरावट
चाणक्य पोष्ट
प्रकाशित : 4:39 pm, बिहीबार, वैशाख २५, २०७७

विश्का प्रमुख सहरहरुमा विलासी घर तथा जग्गाहरुको मूल्यमा गिरावट आउन थालेको छ । कोरोना भाइरसले महामारीको रुप लिएपछि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा विश्वका मुख्य सहरहरुमा रियल स्टेट क्षेत्र गिरावट आएको हो ।

 

सन् २०१९ को पहिलो त्रैमासमा भन्दा यो वर्षको पहिलो त्रैमासमा न्यु योर्क, लण्डन, भ्यानकोभर, सिङ्गापुर, हङकङ जस्ता सहरहरुका विलासी घरहरुको मूल्यमा गिरावट आएको हो ।

 

गत वर्षको डिसेम्बर महिनाको तुलना गर्ने हो भने विलासी घरहरुमा गिरावट आउने मुख्य सहरहरुमा एसियाली सहरहरु रहेका छन् । त्यो समयमा कोरोना भाइरसको संक्रमणको केन्द्र विन्दु एसिया थियो ।

 

 

अहिले भने भाइरसको केन्द्र विन्दु एसिया बाट सरेर युरोप र अमेरिका पुगिसकेको छ । युरोप र अमेरिकाका सहरहरुका रियल स्टेटमा भाइरसको प्रभाव मुल्याङ्कन यो वर्षको दोस्रो त्रैमासमा आंकलन गर्न सकिने यो क्षेत्र सम्बद्ध क्षेत्रका मानिसहरु बताउन थालेका छन् ।

 

उता महामारीको यो बिषम परिस्थितिमा समेत जापानको टोकियो र स्वीडेनको स्टकहोल्म जस्ता सहरहरुमा भने घरजग्गाको मूल्यमा बढोत्तरी भएको छ ।

 

रियल स्टेट सम्बद्ध कम्पनीहरु यो वर्ष विलासी घरहरुको मूल्य स्थिर रहने अनुमान गर्छन् । यात्रामा लागेका प्रतिबन्धका कारण घरहरुको मूल्य स्थिर रहने उनीहरुको बुझाई हो ।

 

कम्पनीहरुको बुझाइमा लकडाउन र यात्रा प्रतिबन्धका कारण घर जग्गाको कारोबार गर्ने कम्पनीहरुका अलावा यो क्षेत्र सम्बद्ध सरकारी कार्यालयहरु समेत बन्द रहेका कारण यो वर्षको दोस्रो त्रैमासमा पनि कारोबार संख्या घट्ने छ । मूल्य भने स्थिर नै रहने उनीहरुको आंकलन छ ।