यी घटनाले २०७६ मा कृषि क्षेत्र निकै चर्चामा रहेको थियो

काठमाडौं । २०७६ सालमा कृषि क्षेत्रमा निकै ठूलो उतार चडाव आएको थियो । २०७६ को सुरुवाति समयदेखि नै कृषि क्षेत्रमा लिइएको प्रत्येक निर्णयहरुले कृषिमा ठूलो उतार चडाव ल्याएको हो ।

 

२०७६ मा भन्सारबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी, प्याजको मूल्य वृद्धि, गोलभेँडाको मूल्य वृद्धि, फल नलाग्ने गरिमा धान जस्ता विषयले विवादमा आएको कृषिक्षेत्र वर्षको अन्तिममा कोरोनाका कारण विभिन्न उतार चडाव आएको थियो ।

 

आकाशिएको गोलभेँडाको मूल्य

 

२०७६ को सुरुमा गोलभेँडाको मूल्य आकाशिएको थियो । कालिमाटी फलफूल तथा तरकारी बजारमा जेठ महिनामा गोलभेँडाको मूल्य खुद्रा प्रतिकेजी ११५ रुपैयाँ पुगेको थियो । कालिमाटी बाहिरका खुद्रा बजारमा सो गोलभेँडाको मूल्य १२० देखि १३० रुपैयाँ प्रतिकेजीसम्म रहेको थियो ।

 

नेपालको कुल मागमा ७० प्रतिशत गोलभेँडा भारतबाट आउँछ भने ३० प्रतिशत आन्तरिक उत्पादनले धानेको छ । सो समयमा हावाहुरीले आन्तरिक र भारतीय दुवै उत्पादनलाई असर परेका कारण गोलभेँडाको मूल्य दोब्बर हुन गएको थियो ।

 

सो अवधिमा नेपालमा मात्र नभई भारतिय बजारमा समेत गोलभेडाको मूल्य वृद्धि भएको थियो ।

 

प्याजको मूल्य दशककै महँगो

 

२०७६ मा प्याजको मूल्य एक दशककै महँगो भएको थियो । २०७६ को असोज महिनामा प्याजको मूल्य १८० रुपैयाँ देखि २५० रुपैयाँसम्म पुगेको थियो ।

कालिमाटी फलफूल तथा तरकारी बजारको थोक बजारमा प्याजको मूल्य प्रतिकेजी १५० रुपैयाँसम्म पुगेको छ । यस्तै खुद्रा बजारमा प्याजको मूल्य १८० रुपैयाँदेखि २५० रुपैयाँसम्म पुगेको थियो ।

 

नेपाली बजारमा ९५ प्रतिशत प्याज भारतबाट आयात हुने भएकाले आयात हुन छाडेपछि बजारमा प्याजको मूल्य ह्वातै आकाशिएको थियो । भारतले प्याज निर्यातका कारण महँगो भएको भन्दै निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतले असोज १२ गतेदेखि प्याजमा प्रतिबन्ध लगाएको थियो । यस अवधिमा धेरै मानिसहरुले आफ्नो भान्छामा प्याज पकाउन छाडिसकेका थिए ।

 

भन्सारमा तरकारी तथा फलफूलमा अनिवार्य विषादी परीक्षण

 

सरकारले असार ३ गते राजपत्रमा सूचना प्रकाशित गरी ‘ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने’ नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।

 

यो उपकरणको सहयोगमा तरकारी तथा फलफूलको नमूना परीक्षण वैज्ञानिक भए पनि त्यसको नतिजा करिब एक साता कुर्नुपर्ने समस्या उत्पन्न भयो ।जसले भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलको परीक्षण गर्ने कार्यमा असहजता बनायो ।

 

 

यो असहजतालाई फुकाउन मन्त्रालयले नेपालमा तरकारी तथा फलफूल निर्यात गर्ने निर्यातकर्ताले तत्कालका लागि सम्बन्धित मुलुकको मान्यता प्राप्त प्रयोगशालाबाट जारी हुने विषादी परीक्षण प्रमाणपत्रको आधारमा आयात गर्न दिने निर्णय गर्यो ।

 

भारतसँग जोडिएका ६ नाका काकडभिट्टा, विराटनगर, वीरगञ्ज, भैरहवा धनगढी र महेन्द्रनगरस्थित भन्सार विन्दु (सकेसम्म एकीकृत भन्सार विन्दुमै रहने गरी) प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको छ । साथै चीनसँग जोडिएका रसुवा र तातोपानी भन्सार विन्दुमा पनि यस्तै अन्तर्राष्ट्रिय प्रयोगशाला निर्माण गर्ने विषयमा निर्णय भएको छ ।

 

यसका लागि खाद्य तथा गुण नियन्त्रण विभागलाई विषादी परीक्षणका सामग्री खरिदका लागि जिम्मा दिइएको छ । विषादी परीक्षण यन्त्र विभागले वहुवर्षिय योजना अन्तर्गत ल्याउने भएको छ ।

 

गरिमाका कारण धानको उत्पादन घट्यो

 

२०७६ मा गरिमा नक्कली धानका कारण धानको उत्पादन कम हुन गएको छ । २०७६ बैशाख ११ मा सूभित बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइज एग्रीकल्चर रिसर्च सेन्टरले भारतको हैद्रावादस्थित रिनोभा सिड इन्डियाबाट गरिमा जातको धान आयात गरेको भन्दै विक्री गरेको थियो ।

 

गरिमा धान थन्काउनु पर्ने समयमा बालासमेत नलागेपछि किसानहरु मर्कामा परेका थिए । असोज महिनासम्म पनि धान नपलाएपछि किसानहरुले काटेर फाल्नु परेको थियो ।

 

चितवनसहित १३ जिल्लाका १७ हजार ८०६ हेक्टर क्षेत्रफलमा लगाइएको थियो । सो जातका धानका कारण १७ करोड रुपैयाँ बराबरको लागत खर्च नोक्सान भएको थियो । त्यसको न्यूनतम समर्थन मूल्य २३ करोड रुपैयाँ रहेको छ । तत्कालका लागि सरकारले लागत मूल्यको २० प्रतिशत राहत स्थानीय तहलाई पठाएको हो ।

 

गरिमा जातको भनेर ४० टन धानको बीउ आयात गर्ने अनुमति पाएको थियो । सो कम्पनीले ३४ टन मात्र भित्राएको र त्यसमध्ये २३ टन विक्री गरेको पाइएको छ ।

 

सामान्यतया एक हेक्टर जग्गामा १५ किलो धानको बीउ प्रयोग हुने गर्दछ । यसलाई हेर्दा १ हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा गरिमा धान खेती भएको अनुमान छ ।यो वर्ष ८ प्रतिशतका हाराहारीमा धानको उत्पादन घट्ने अनुमान गरिएको छ ।

 

वर्षको अन्तिममा लक डाउनको छुट्टै असर

 

चैत्र दोस्रो सातादेखि देशभर लक डाउन घोषणा भयो । जसका कारण कृषि तथा पशुपन्क्षी जन्य वस्तु उपभोगमा ठूलो उतारचडाव आएको छ । सरकारले खाद्य तथा पशुपन्क्षी आहाराका लागि ढुवानी सहज बनाए पनि सबै तिर ढुवानीमा सहजता आउन सकेको छैन ।

 

पछिल्लो समय लकडाउनका कारण दूध, तरकारी, फलफूल, माछा, कुखुरा, अण्डा लगायतका सबै क्षेत्रमा यसको असर परेको छ । सबैभन्दा ठूलो प्रभाव पोल्ट्री फर्म, माछापालन, दुग्ध क्षेत्रमा परेको छ ।

 

तरकारी तथा फलफूलहरु बारीमै खेर जान थालेका छन् । लक डाउनका कारण सरकारले कालिमाटी बजार सञ्चालनमा समेत रोक लगाएको छ ।

कोरोनाबाट तंग्रिने प्रयासमा युरोपेली देश, यसरी बनाउँदै छन् लकडाउन खुकुलो Read Previous

कोरोनाबाट तंग्रिने प्रयासमा युरोपेली देश, यसरी बनाउँदै छन् लकडाउन खुकुलो

बिक्नै छाड्यो ग्यास, खपत ४० प्रतिशतले घट्यो Read Next

बिक्नै छाड्यो ग्यास, खपत ४० प्रतिशतले घट्यो