काठमाडौं । लकडाउनका समयमा बढी मूल्यमा सर्जिकल सामग्री पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) र एन–९५ मास्क विक्रीवितरण गरेको कसूरमा शुक्रबार तीन सर्जिकल पसललाई कारवाही गरिएको छ ।
उपभोक्ताको गुनासोका आधारमा त्रिपुरेश्वर र सुकेधारामा सञ्चालित सर्जिकल पसलमा अनुगमन गर्दा बढी मूल्यमा विक्रीवितरण भएको र खरीद बिल नभएको पाएपछि कारवाहीस्वरुप जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
उपभोक्ताले त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालिमा पीपीई बढी मूल्यमा विक्री गरेको गुनासो गरेका आधारमा अनुगमन गर्दा त्यस्तै भेटिएकाले २ लाख जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी दिए।
उनका अनुसार ३ हजार ७ सयमा खरीद गरिएको पीपीई सेटको ५ हजार ७ सय (२० प्रतिशतभन्दा बढी नाफा) मा विक्री गरेको पाइएकाले कारवाही गरिएको हो ।
त्यस्तै शुक्रबार नै त्रिपुरेश्वरस्थित कान्तिपुर सर्जिकललाई खरीद विक्री विवरण सार्वजनिक गर्न नसकेकाले अनुचित क्रियाकलाप गरेवापत २ लाख जरिवाना गरिएको छ ।
सुकेधारास्थित कालिका ट्रेडर्स प्रालिलाई बढी मूल्यमा एन–९५ मास्क विक्री वितरण गरेका कसूरमा ३ लाख जरिवाना गरिएको छ । तीनै सर्जिकल पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।