काठमाडौं । भान्छामा दैनिक प्रयोग हुने तरकारीको मूल्य पछिल्लो समय ह्वात्तै घटेको छ । लकडाउन यता तरकारीको मूल्य ५० प्रतिशतभन्दा बढी घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले देखाएको छ ।
पछिल्लो समय गोलभेँडा, प्याज, गाजर, काउली, बन्दा, भन्टा, मटरकोशा, घिउसिमी, तिते करेला, लौका, फर्सी, भिण्डी, काँक्रो, बरेला, ब्रोकाउली, हरियो खुर्सानी लगायतका तरकारीको मूल्य आधाभन्दा बढीले घटेको छ ।
कालिमाटी बजारका अनुसार तितेकरेलाको मूल्यमा ६० रुपैयाँ घटेको छ । चैत्र १ गते तितेकरेला १ सय १५ रुपैयाँ थियो भने हाल ५५ रुपैयाँमा झरेको छ । लौकामा ३७ रुपैयाँ मूल्य घटेको छ । चैत्र महिनामा ५५ रुपैयाँ विक्री भएको लौका हाल १८ रुपैयाँ प्रतिकेजी होलसेल मूल्यमा विक्री भइरहेको छ ।
चैत्र १ गतेसम्म गोलभेडाको थोक (होलसेल) मूल्य प्रतिकेजी ३३ रुपैयाँ देखि ३८ रुपैयाँ थियो । हाल गोलभेडाको मूल्य ११ देखि १६ रुपैयाँ घटेको छ । कालिमाटी बजारमा गोलभेँडा प्रतिकेजी २२ रुपैयाँमा विक्री भइरहेको छ ।
प्याजमा ३१ रुपैयाँ मूल्य घटेको छ । कालिमाटी बजारमा चैत्र १३६ रुपैयाँ प्रतिकेजी होलसेल मूल्यमा विक्री भइरहेको प्याज हाल ३२ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।
गाजरमा १९ रुपैयाँ घटेको छ । ३३ रुपैयाँ प्रतिकेजी विक्री हुने गरेको लोकल गाजर हाल कालिमाटी बजारमा १९ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।
काउलीमा ६ रुपैयाँ मूल्य घटेको छ । कालिमाटी बजारमा काउली चैत्र १ गतेसम्म ३३ देखि २८ रुपैयाँसम्ममा विक्री भइरहेको थियो । हाल कालिमाटी काउली २२ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।
भन्टाको मूल्य ५५ रुपैयाँबाट २८ रुपैयाँमा झरेको छ । भन्टामा २७ रुपैयाँ मूल्य घटेको हो । मटरकोशा प्रतिकेजी ४८ रुपैयाँबाट ३३ रुपैयाँमा झरेको छ । मटरकोशामा १५ रुपैयाँ मूल्य घटेको हो ।
घिउ सिमीको मूल्यमा ५६ रुपैयाँ घटेको छ । ७८ रुपैयाँ प्रतिकेजी होलसेलमा विक्री हुने घिउसिमीको मूल्य हाल कालिमाटी बजारमा २२ रुपैयाँ प्रतिकेजी रहेको छ ।
भिण्डीमा ३३ रुपैयाँ मूल्य घटेको छ । ९८ रुपैयाँ प्रतिकेजी विक्री हुने गरेको भिण्डी ६५ रुपैयाँमा होलसेल मूल्यमा विक्री हुन थालेको हो । बरेला ६२ रुपैयाँबाट ३८ रुपैयाँमा झरेको छ । बरेलामा २४ रुपैयाँ मूल्य घटेको हो ।
ब्रोकाउली ४२ रुपैयाँबाट २८ रुपैयाँमा झरेको छ । ब्रोकाउलीमा १४ रुपैयाँ घटेको हो । काँक्रो कालिमाटी बजारमा चैत्रसम्म ४२ रुपैयाँ देखि ७८ रुपैयाँ प्रतिकेजी होलसेल मूल्यमा विक्री भइरहेको थियो । हाल काक्रोको मूल्य १८ रुपैयाँदेखि २८ रुपैयाँ होलसेल मूल्य रहेको छ ।