काठमाडौं । विश्व बैंकले कोरोना भाइरसका कारण उत्पन्न संकटबाट नेपालको आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने आंकलन गरेको छ । दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे आइतबार एक रिर्पोट सार्वजनिक गर्दै विश्व बैंकले आर्थिक वृद्धिदरमा आउने उच्च गिरावटले नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने प्रक्षेपण गरेको हो ।
विश्व बैंकको प्रक्षेपण अनुसार चालू आर्थिक वर्षमा नेपालको घटीमा १.५ प्रतिशत र बढीमा २.८ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुनेछ । सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो ।यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो ।
विश्व बैंकका अनुसार मुख्य गरी रेमिट्यान्समा आउने कमी, व्यापार, व्यवसाय, पर्यटनमा परेको प्रभाव, सीमा नाकामा हुने अवरोध लगायत कारणले आर्थिक वृद्धिमा कमी आउने छ । कोरोनाको असर लामो समय बढ्दै जाँदा औद्योगिक उत्पादन र त्यसको खपतमा समेत कमी आउनाले अर्थतन्त्र प्रभावित हुने बैंकको भनाइ छ ।
सन् २०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनु पर्ने भएकाले यसले आगामी २ आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत असर पुग्न जाने विश्व बैंकले उल्लेख गरेको छ ।
कोरोनाले कम आयस्रोत भएका व्यक्तिको जीवनमा अझ नराम्रो पार्दै गएको विश्व बैंकले उल्लेख गरेको छ । यो अवस्था दक्षिण एशियालीकै सबै मुलुकमा समान तरिकाले देखिएको छ । पर्यटन क्षेत्र, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरु कोरोनाले बढी प्रभावित हुने भएका छन् ।
दक्षिण एशियाली देशहरुमा धनी र गरिब बीचको खाडल झनै बढ्ने
विश्व बैंकले दक्षिण एशियाली देशहरुमा विद्यमान सामाजिक असमानताले धनी र गरिब बीचको खाडल अझै बढ्ने उल्लेख गरेको छ । बैंकले यस क्षेत्रमा गरिबीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अनुमान गरेको छ ।
दक्षिण एसियामा पर्यटनमा आधारित मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने विश्व बैंकले उल्लेख गरेको छ । दक्षिण एशियाका माल्दिभ्स, अफगानिस्तान, पाकिस्तान र श्रींलकाको आर्थिक वृद्धिदर नै ऋणत्मक हुने बैंकले उल्लेख गरेको छ ।
बैंकका अनुसार सबैभन्दा धेरै माल्दिभ्सको आर्थिक वृद्धिदर ८ देखि १३ प्रतिशत ऋणात्मक हुनसक्ने छ । यस्तै, अफगानिस्तानको अर्थतन्त्र ३.८ देखि ५.९ प्रतिशत, पाकिस्तानको १.३ देखि २.३ प्रतिशत र श्रीलंकाको ०.५ देखि ३ प्रतिशत ऋणात्मक हुने छ ।
यस्तै कोरोनाको असरको कारण यस वर्ष भारतको ४.८ देखि ५ प्रतिशत, बंगलादेश २ देखि ३ प्रतिशतसम्म र भुटानको २.२ देखि २.९ प्रतिशतसम्म आर्थिक वृद्धिदर हुने छ ।