अर्थतन्त्रको पाटो बन्न नसकेको नेपाली खेलकुद

सन् २००० को ओलम्पिक खेलको आयोजना अष्ट्रेलियाले गरेको थियो । यो प्रतियोगिताको आयोजनापछि सिड्नी सहर विश्व रङगमञ्चमा ‘एक तह’ उक्लियो । अष्ट्रेलियाको पनि हैसियत नै उकासियो । आर्थिक क्षमता पनि बढ्यो ।

 

ब्राजील विश्वको आर्थिक शक्ति भएको हालसालै मात्र हो । तर, फुटबलको महारथीको रुपमा विश्वमा हलचल मच्चाउन थालेको दशकौं अघिदेखि नै हो ।

 

शहिद स्मारक लिग, रारा गोल्डकप, सिमरा गोल्डकप आदि प्रतियोगिताका नाम यदाकदा सुनिए पनि यी प्रतियोगिताले आफ्ना सर्मथकहरुसँगका सम्बन्ध तोडिसके ।

 

खेलकुद समय कटाउने र पसिना बगाउने क्रियाकलापमा मात्र सिमित छैन अहिले । यसका राजनीतिक, आर्थिक, सामाजिक र भावनात्मक जराहरु निकै तलसम्म गाडिइसकेका छन् अहिलेको दुनियाँमा ।

 

तर, दुर्भाग्यवश नेपालमा यो क्षेत्र अझै प्राथमिकतामा पर्न सकेको छैन । अहिलेको सरकारले आफ्नो समृद्धिको यात्रा तर्फको सहयात्रीको रुपमा पनि यो क्षेत्रलाई हेर्न सकेको छैन । पर्यटन र खेलकुदको सम्बन्ध गाँस्न पनि सकिएको छैन । र, मन्त्रीपरिषद्को सबैभन्दा कनिष्ठ सदस्यलाई यो क्षेत्र सम्बन्धित मन्त्रालय ‘भिराउने’ चलन अझै बिद्यमान छ ।

 

नेपालमा खेलकुद
नेपालमा बि.सं २०१५ सालमा खेलकुद परिषद स्थापना भएपछि खेलकुद गतिविधि संस्थागत रुपमा अघि बढ्दै आएको हो । तर, राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि चाउचाउ र रियल खाँदैं गरेका खेलाडीका फोटाहरु र देशभर असरल्ल परेका कर्भड हल र रङ्गशालाहरुले परिषदको गतिविधि अहिलेसम्म कर्मकान्डी मात्र रहेको पुष्टि गर्छ ।

 

कुनै समय फुटबल लिगहरुको चर्चा हुन्थ्यो काठमाण्डौंमा । मानिसहरुका आ–आफ्ना टोलीहरु हुन्थे । मनाङ मर्रस्याङदी, महेन्द्र पुलिस, फ्रेन्डस, ब्वाइज युनियन, एनआरटी, आरसीटी जस्ता क्लबहरु चर्चित थिए । तर, माओवादी जनयुद्धको उठानसँगै फुटबल लिगको बैठान भयो ।

 

अहिले भारतीय फुटबल र क्रिकेट लिगहरुको भद्दा रुपमा नक्कल गरेर केही प्रतियोगिताहरु सञ्चालन गर्न खोजिए पनि ति लिगहरुले आम नेपालीहरुसँग भावनात्मक सम्बन्ध गाँस्न सकेका छैनन् । सर्वसाधारणसँग सम्बन्ध गाँस्न नसकेपनि त्यसको आर्थिक बिस्तारको पाटो पनि खुम्चिने नै भयो ।

 

चित्तै दुख्ने गरि नक्कल गरेर भए पनि एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग तथा पोखरा लिग जस्ता प्रतियोगिताहरु घिसिपिटी चलिरहेका छन् ।

 

थोरैतिनो आर्थिक चञ्चलता पनि ल्याएकै होलान् । केही सकारात्मक भएर सोच्दा कर्पोरेट क्षेत्र र खेलकुद क्षेत्रको सम्बन्धको त्यान्द्रो गाँसिएको छ ।

 

शहिद स्मारक लिग, रारा गोल्डकप, सिमरा गोल्डकप आदि प्रतियोगिताका नाम यदाकदा सुनिए पनि यी प्रतियोगिताले आफ्ना सर्मथकहरुसँगका सम्बन्ध तोडिसके ।

 

खेलकुदमा बजेट
सरकारले खेलकुद क्षेत्रमा बजेट भने वृद्धि गर्दै लगेको छ । यो सकारात्मक पाटो नै हो । तर, बजेट खर्चै नहुने र भए पनि गलत ठाउँ र प्रयोजनमा हुने रोग त छँदैछ ।

 

सरकारले आर्थिक बर्ष सन् २०१६/१७ मा खेलकुद क्षेत्रका लागि २.१ अर्ब रुपैंयाँ बजेट विनियोजन गरेको थियो । यसैगरि सन् ०१७/१८ मा २.२४ अर्ब रुपैंयाँ र सन् २०१८/१९ मा ४.१८ अर्ब रुपैंयाँ बजेट विनियोजन गरेको छ ।

 

खेलकुद पूर्वाधार
नेपालमा खेलकुद पुर्वाधारको कुरा गर्दा अहिलेसम्म १९ वटा कभर्डहल सञ्चालनमा छन् । ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पूर्वाधारमा ४८ करोड रुपैंयाँ लगानी गरिएको थियो ।

 

सातवटै प्रदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने एक/एक रंगशाला निर्माण गर्न सरकारी योजना अघि बढेको छ । यसले केही आर्थिक गतिविधि बढाउला ।

 

अहिले त विश्व खेलकुद क्षेत्रमा एउटै खेल क्लबको आम्दानी खर्बाैको हुन्छ । ती क्लबबाट खेल्ने खेलाडीहरुले नै करोडौं कमाउँछन् ।

 

७ सय ५३ वटा स्थानिय निकायमा पनि दीर्घकालीन महत्वको खेलग्राम निर्माण गर्ने योजना अघि बढेको छ । पूर्वाधारको निर्माणसँगै आम मानिसहरुलाई खेलकुदको महत्व र यसका बृहत्तर पाटोका बारेमा सु-शिक्षित भने गर्नै पर्छ ।

 

विदेशमा खेलकुद क्षेत्र
विकसित देशहरुमा खेलकुद क्षेत्रको विकास अदभुद रुपमा भैसकेको छ । अर्थतन्त्रको मेरुडण्ड नै बनेर बसेको छ यो क्षेत्र । उदाहरणको लागि, संयुक्त अधिराज्यमा खेलकुद क्षेत्रले ६ लाख १० हजार, फ्रान्समा ४ लाख १६ हजार, स्पेनमा ३ लाख ३६ हजार, इटालीमा ३ लाख ३० हजार, अष्ट्रियामा २ लाख ४३ हजार र पोल्याण्डमा २ लाख २५ हजार जनाले रोजगारी पाएका छन् ।

 

कतारले सन् २०२२ मा फुटबल विश्वकप आयोजना गर्दैछ । उक्त प्रतियोगिता आयोजना गर्न २० अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । ठूल्ठूला भौतिक पूर्वाधारहरुको निर्माणले रड, सिमेन्ट तथा निर्माणजन्य उद्योगको विकास, मजुदरको आम्दानीमा वृद्धि लगायत अर्थतन्त्रका चरहरुको समग्र वृद्धि हुन थाल्दछ ।

 

३ हजार बर्षको इतिहास भेटिन्छ खेलकुदको । तर, धनाड्यहरुको मनोरञ्जनका लागि मात्र । अहिले त विश्व खेलकुद क्षेत्रमा एउटै खेल क्लबको आम्दानी खर्बाैको हुन्छ । ती क्लबबाट खेल्ने खेलाडीहरुले नै करोडौं कमाउँछन् । टिकट तथा जर्सी बिक्री, रेष्टुरेन्ट, होटल, टिभी आदि क्षेत्रको माध्यमबाट अर्थतन्त्रमा ठूलै प्रभाव पार्छन् यस्ता क्लबहरुले ।

 

क्लबका सम्पत्ति अर्बौं डलरका छन् । अमेरिकन फुटबल क्लब डालस काउव्वाइको मूल्य ४.८ अर्ब डलर, बेलायती क्लब म्यानचेस्टर युनाइटेडको ४.१, रियल म्याड्रिडको ४.०८ र बार्सिलोनाको ४.०६ अर्ब डलरको मुल्याङकन रहेको छ । खेलकुद क्षेत्रमा बढदै गएको लगानीले खेल अब प्रतिस्पर्धामात्र सिमित नरहेर देशको अर्थतन्त्रको एउटा हिस्साको रुपमा अगाडी बढेको छ ।

 

हाम्रा खेल मैदानहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने ‘न्युट्रल भेन्यु’को रुपमा र ठूला प्रतियोगिता खेल्नु पुर्व प्रशिक्षण स्थल बनाउन सके दाम र नाम मनग्य कमाउन सकिन्छ ।

 

बेलायतले सन् २०१२ मा लण्डनमा ओलम्पिक आयोजना गरेको थियो । त्यस बर्ष बेलायतको आर्थिक बृद्धिदर अघिल्लो बर्षभन्दा ०.६ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी सन् २०१६ मा ब्राजिलको रियो द जेनेरियोमा ओलम्पिक खेल आयोजना हुँदा ब्रजिलको आर्थिक बृद्धिदर ३.०३०५ ले ऋणात्मक थियो । तर, अर्को बर्ष ब्राजिलले १.१ प्रतिशतको आर्थिक बृद्धि भेट्टायो । ठूलो प्रतियोगिता हुँदा भौतिक निर्माण, खेलकुदजन्य सामाग्रीको उत्पादन तथा बिक्री, सेवामुलक क्षेत्रमा हुने वृद्धि र रोजगारीमा हुने वृद्धिले आर्थिक वृद्धिमा बढोत्तरी भएको हो ।

 

नेपाली खेलकुद क्षेत्रले लिनु पर्ने बाटो
नेपाली खेलकुदलाई सरकारले अर्थतन्त्रको महत्वपुर्ण हिस्साको रुपमा विकास गराउदै लैजानुको विकल्प छैन । ‘समृद्धि’लाई फराकिलो ढंगले बुझ्नु पर्ने दिन आएको छ ।

 

आफ्नो प्रतिस्पर्धात्मक क्षमता धेरै भएका क्षेत्रहरुको विकासमा ध्यान दिनु जरुरी छ । ‘पाराग्याइडिङ’, ‘बन्जिजम्प’, ‘अल्ट्रा म्याराथुन’ जस्ता खेलको विकासले नेपालको अर्थतन्त्रलाई र पर्यटनलाई गति दिन सक्छ । हात्ति पोलोको राम्रो उदाहरण हामीसँगै छ । देशभित्र अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गर्न सके त्यसले पनि महत्वपूर्ण योगदान पु¥याउन सक्छ ।

 

यो क्षेत्रको विकास भए खेलकुद सामग्री उत्पादन तथा बितरण गर्ने ब्यवसायहरुको पनि राम्रो विकास हुने आधार तयार हुन्छ । हाम्रा खेल मैदानहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने ‘न्युट्रल भेन्यु’को रुपमा र ठूला प्रतियोगिता खेल्नु पुर्व प्रशिक्षण स्थल बनाउन सके दाम र नाम मनग्य कमाउन सकिन्छ ।

 

यो सबै गर्न फराकिलो सोच र सृजनशिल मस्तिष्कको भने आवश्यकता पर्छ । बजेटमा आँखा लाउने, असक्षमलाई महत्वपूर्ण जिम्मेवारी दिने र खेलाडीहरुले चाउचाउ खाँदैं चाउरिएर बस्नु पर्ने प्रबृत्तिको भने अन्त्य हुनैपर्छ ।

स्थानीयको अवरोधका कारण हनुमन्ते करिडोर निर्माणमा समस्या Read Previous

स्थानीयको अवरोधका कारण हनुमन्ते करिडोर निर्माणमा समस्या

पञ्चकन्या समूहले ल्यायो ‘डेकिङ्ग’ सिट, घर छाउन सस्तो र सहज हुने Read Next

पञ्चकन्या समूहले ल्यायो ‘डेकिङ्ग’ सिट, घर छाउन सस्तो र सहज हुने