काठमाडौं । असार सकिनै लाग्दा समेत कृषकलाई आवश्यक पर्ने मल आइपुग्न सकेको छैन । खेत रोपाई करिब ३० प्रतिशतभन्दा बढी भइसकेको छ तर, मल आयात गर्ने कृषि सामाग्री कम्पनी लिमिटेडले हालसम्म पनि मल ल्याउन सकेको छैन ।
असारमै रोपाई अघि छर्नुपर्ने मलसमेत साउन अन्तिमसम्ममा आइपुग्ने कृषि सामाग्रीले जानकारी दिएको छ । साउन अन्तिममा मल आइपुग्ना साथ वितरण गरिने कृषि सामाग्रीका खरिद वितरण शाखाका विष्णु पोखरेलले बताए ।
‘यो जेठ अघिनै हालिएको टेन्डर हो , यसबाट आउने मल साउन मसान्तसम्म आउछ, आउनासाथ हामी वितरण गर्ने छौँ,’ पोखरेलले चाणक्यपोष्टसँग भने ।
कृषि सामाग्रीले जेठ अगाडिनै आह्वान गरेको टेन्डरमा ३० हजार टन यूरिया र २५ हजार टन डीएपी मल आयत गर्न लागेको हो । यूरिया मल १ अर्ब २१ करोड ७५ लाख रुपैयाँमा आयात गर्न लागिएको हो भने, डीएपी मल १ अर्ब २८ करोड ७० लाख रुपैयाँमा आयात गर्न लागिएको हो ।धमाधम रोपाई भइरहेको छ तर, खेतीमा हाल्ने मल छैन । जेष्ठ २८ गते मल आपुर्तिका लागि खुलेको टेन्डरको मल असोजसम्ममा आइपुग्ने भएको छ ।
उक्त टेन्डर साउन १० गतेसम्मको लागि खुल्ला गरिएको हो । म्याद सकिएपछि पनि खरिद प्रकृयाका कारण असोज महिनासम्म मात्र मल आइपुग्ने कृषि सामाग्रीले जानकारी दिएको छ । दोस्रो पटकको यो टेण्डरमा डीएपी २० हजार मेट्रिक टन र युरिया ३० हजार मेट्रिन टन आयात गर्न लागिएको हो ।
धान रोपाइ मारामार चल्ने समयमै मल नपाउँदा कृषक भने मारमा परेका छन् । मध्य रोपाइमा रासायनिक मलको अभाव यो वर्ष मात्र हैन प्रत्येक वर्ष कृषकले खेप्नु परेको छ ।
फुड एण्ड एग्रिकल्चर संगठन इलेट्रोनिक्स मा २०१४ मा प्रकाशित तथ्याङ्क अनुसार नेपालमा रासायनिक मलको उपभोग प्रतिहेक्टर ६७.३७ किलोग्राम रहेको छ ।
रासायनिक मलको उपभोग दक्षिण एशियाली मुलकमा

नेपालमा छिमेकी राष्ट्र चीन भन्दा करिब ५०० किलोग्राम प्रतिहेक्टर र भारत भन्दा ९८ किलोग्राम/प्रतिहेक्टर कम रासायनिक मलको प्रयोग हुन्छ ।
नेपाल सरकारले मल आयातका लागि चालु आर्थिक वर्षमा ६ अर्ब रकम छुटाएको थियो भने अगामी आर्थिक वर्षका लागि ९ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै आर्थिक बर्ष २०७४/७५ मा मल खरिदको लागि नियमित तर्फ ४ अर्ब ६२ करोड ५० लाख र अनुदान तर्फ २१ करोड ३५ लाख रुपैयाँ विनियोज भएको थियो ।