सुस्ताउन थाल्यो वैदेशिक लगानी, २ महिनामा सवा २ अर्बको मात्र लगानी प्रस्ताव

काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो २ महिना (पुस १६-फागुन २८) सम्ममा जम्मा २ अर्ब १९ करोड रुपैयाँको वैदेशिक लगानी प्रस्ताव आएको छ । उक्त कुल लगानीमा २४ वटा नयाँ उद्योग सञ्चालनका लागि प्रस्ताव आएको हो ।

 

चालू आवको सुरुवातदेखि तीव्र गतिमा बढ्दै गरेको वैदेशिक लगानी पुस महिनादेखि सुस्ताउन थालेको हो ।अंग्रेजी नयाँ वर्ष २०२० को जनवरीदेखि चीनमा देखिएको कोरोना प्रकोपले विश्वभर संक्रमण बढ्न थाले पछि त्यसको असर नेपालमा आउने वैदेशिक लगानीमा देखिएको हो ।

 

उद्योग विभागका सूचना अधिकारी विनोद खड्काका अनुसार पछिल्लो समय विश्वभर परेको कोरोनाको प्रभावका कारण वैदेशिक लगानीमा ठूलो असर परेको छ । उनले कोरोनाका कारण वैदेशिक लगानीमा मात्र नभई आन्तरिक लगानीमा समेत असर पारेको छ ।

 

‘अहिले कोरोनाले गर्दा केही चहलपहल छैन । कारोनाको डरले लगानी गर्छु भन्नेको संख्या ठूलो मात्रामा घटेको छ,’ खड्काले चाणक्य पोष्टसँग भने ।

 

यो २ महिनाको अवधिमा कृषि क्षेत्रमा एउटा उद्योग दर्ता भएको छ । सो उद्योग सञ्चालनका लागि ११ करोड रुपैयाँ लगानी प्रस्ताव आएको हो ।सूचना तथा प्रविधि क्षेत्रमा ६ वटा व्यवसाय दर्ता भएका छन् । ती व्यवसाय सञ्चालनका लागि ५३ करोड रुपैयाँ लगानी प्रस्ताव आएको हो ।

 

यसैगरी उत्पादन मूलक क्षेत्रमा ४ वटा नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योग सञ्चालनका लागि २८ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ ।सेवा क्षेत्रमा ६ वटा नयाँ उद्योग दर्ताको प्रस्ताव आएको छ । उक्त उद्योगहरुमा ५० करोड लगानीमा प्रस्ताव आएको छ । पर्यटन क्षेत्र तर्फ ७ वटा नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योग सञ्चालनका लागि ७६ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको हो ।

 

चालू आवमा ४२ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव

 

चालू आर्थिक वर्षको ८ महिना (साउन-फागुन) मा कुल ४२ अर्ब ७६ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको छ । सो लगानी अन्तर्गत १ सय ७३ वटा नयाँ उद्योग सञ्चालनमा ल्याउने प्रस्ताव आएको हो । ती उद्योगहरुले ८ हजार ९ सय जनशक्तिलाई रोजगारी प्रदान गर्ने अनुमान गरिएको छ ।

 

वैदेशिक लगानी प्रस्ताव अन्तर्गत कृषि क्षेत्रमा ४ उद्योग सञ्चालनका लागि ५३ करोड लगानी प्रस्ताव आएको छ । उर्जा तर्फ ५ वटा उद्योग सञ्चचालनका लागि ११ अर्ब ८२ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको हो ।

 

विभागको तथ्यांक अनुसार सूचना तथा प्रविधितर्फ ३१ वटा नयाँ उद्योग सञ्चालनका लागि १० अर्ब ५२ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ ।उत्पादन क्षेत्रतर्फ २३ उद्योग सञ्चालनका लागि ३ अर्ब २१ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको छ ।

 

सेवा क्षेत्रमा ४४ वटा नयाँ उद्योग दर्ता भएका छन् । सो उद्योगहरु सञ्चालनका लागि ७ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रस्ताव आएको हो ।पर्यटन क्षेत्र तर्फ ६६ नयाँ उद्योग सञ्चालनका लागि ८ अर्ब ८७ करोड रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागको तथ्यांकले देखाएको छ ।

 

२४२ नयाँ उद्योग दर्ता

 

चालू आर्थिक वर्षको ८ महिना ( साउन–फागुन) सम्ममा कुल २४२ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार सो अवधिसम्म १ खर्ब २७ अर्ब ९१ करोड रुपैयाँ लगानीमा नयाँ उद्योग दर्ता भएका हुन् । सो उद्योग सञ्चालनले १५ हजार बढीलाई रोजगारी प्रदान गर्ने अनुमान गरिएको छ ।

चीनबाहेक अन्य देशमा एप्पलका स्टोर बन्द, कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था Read Previous

चीनबाहेक अन्य देशमा एप्पलका स्टोर बन्द, कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था

बैंकको ब्याज र किस्ता बुझाउन नसक्ने भन्दै होटल व्यवसायीद्वारा सहयोग माग Read Next

बैंकको ब्याज र किस्ता बुझाउन नसक्ने भन्दै होटल व्यवसायीद्वारा सहयोग माग