काठमाडौं । कोरोना भाइरसका कारण पछिल्लो समय अमेरिकी डलरको मूल्य नेपाली रुपैयाँको तुलनामा उच्च हुँदै गएको छ । गत शुक्रबार बढेर रेकर्ड नजिक पुगेको अमेरिकी डलरको भाउ आज भने केही सस्तिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको विक्रीदर आजका लागि ११८ रुपैयाँ ५८ पैसा तोकिएको छ । शुक्रबार यो दर ११९ रुपैयाँ ०४ पैसा थियो । आजको खरिददर ११७ रुपैयाँ ९८ पैसा रहेको छ ।
यसरी नेपाली मुद्राको अवमूल्यन हुँदा नेपाललाई सामान्य अवस्थामा केही फाइदाहरु हुन्छन् । रेमिट्यान्स बढ्छ, निर्यात बढाउन मद्दत पुग्छ र पर्यटनको आय बढ्छ ।
गत वर्षको मध्यदेखि नै विदेशी लगानीकर्ताहरुले भारतबाट आफ्नो लगानी निकाल्न शुरु गरेका थिए । उनीहरुले गत वर्षको जुन-जुलाई महिनामै भारतबाट ३० हजार करोड भारु निकालेको बताइन्छ ।
तर, कोरोना भाइरसको महामारी फैलिएका कारण सामान्य अवस्था भने छैन ।
नेपाली रुपैयाँ डलरको तुलनामा कमजोर हुँदै जान थालेपछि भारत बाहेकका तेस्रो मुलुकबाट आयात गरिने सामानहरुको मूल्य बढ्न सक्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् ।
‘हाम्रो मुद्रा अवमुल्यन हुँदै जान थालेपछि आयातको मूल्य बढ्दै जान सक्छ, जसले हाम्रो उपभोग्य वस्तुको मूल्य बढ्न सक्छ । तर, अहिलेको प्रतिकुल अवस्थामा आयात कति नै बढ्ला र भन्ने प्रश्न पनि छ । अनी अर्को कुरा तेलको मूल्यमा व्यापक घटिरहेको छ । हाम्रो सबैभन्दा ठूलो आयात भनेको नै तेल आयात हो (वार्षिक रुपमा करिब २ खर्ब) । त्यसैले हाम्रो मूल्य वृद्धि र व्यापार घाटा सन्तुलन मै रहला केही समय’, भट्टले चाणक्य पोष्टसँग भने ।
नेपाली रुपैयाँको अवमूल्यनका फाइदा र घाटा दुवै छन् । नेपालको अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स भएको हुँदा रेमिट्न्सको मूल्य नेपाल आउँदा बढि हुने हुन्छ । तर, अहिलेको अवस्थामा भने त्यसको संभावना छैन । नेपालले अत्याधिक रेमिट्यान्स भित्राउने ६ देशहरुले भाइसरको महामारीको कारणले कामदारको काम बन्द गरेका छन् भने नेपालले पनि श्रम स्वीकृति दिन बन्द गरको छ ।
नेपालले निर्यात नगन्य मात्रामा गर्ने हुनाले मुद्रा अवमूल्यन भएको फाइदा त्यहाँबाट हुन सक्ने संभावना छैन । त्यसैले यसरी मुद्रा अवमूल्यन हुँदा विदेशी ऋण तथा व्याजको तिरो बढ्ने हुनाले नेपाली अर्थतन्त्रमा अतिरिक्त भार पर्ने अर्थशास्त्रीहरु बताउँछन् ।
पछिल्लो समय तेलको मूल्यमा अत्याधिक गिरावट आएका कारण पनि कमोडिटी बजारमा लगानी गर्नेहरु त्यहाँबाट बाहिर निस्केर डलर मार्केटमा पस्दा डलरको माग उच्च भएर अन्य मुद्रा अवमूल्यन भएको थियो । तर, कारोनाको आक्रमणसँगै अमेरिकी अर्थतन्त्रले पनि धक्का खान थालेपछि भने फेरी डलरको मूल्य घट्न थालेको छ ।
‘विगत २-३ दिनदेखि डलरको मूल्य पनि घट्न थालिसकेको छ,’ भट्टले भने ।
नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग ‘पेग्ड’ रहेका कारण भारुको अवमूल्यन हुने वित्तिकै त्यसको प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ । नेपाली रुपैयाँको भारुसँग १६० रुपैयाँको स्थायी विनिमय दर कायम गरिएको छ ।
त्यसैले भारतलाई रुघा लाग्दा नेपालले हाछ्युँ गर्छ भन्ने भनाइ चर्चित पनि छ ।
कारोना भाइरसको प्रभाव शुरु हुनु भन्दा अघिदेखि नै भारतको अर्थतन्त्रले मन्दीको संकेत देखाउन थालिसकेको थियो । भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिन थालेपछि त झन् कुरै भएन ।
भारतीय अर्थतन्त्रमा छाएको मन्दी, बढेको मुद्रास्फिति भारतीय मुद्रा डलरको तुलनामा कमजोर हुनुको प्रमुख कारण हुन्, जसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्न गएको छ ।
भारतमा लगानीकर्ताहरुको आत्मविश्वास कमजोर हुँदै गएका कारण लगानीकर्ताहरु डलर ‘होल्ड’ गर्ने र भारतबाट आफ्नो लगानी निकाल्नमा तल्लिन भएको देखिन्छन् । गत वर्षको मध्यदेखि नै विदेशी लगानीकर्ताहरुले भारतबाट आफ्नो लगानी निकाल्न शुरु गरेका थिए । उनीहरुले गत वर्षको जुन-जुलाई महिनामै भारतबाट ३० हजार करोड भारु निकालेको बताइन्छ ।