संशोधित बजेट लक्ष्य अनुसार नै खर्च हुन्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं। पछिल्लो समय सरकारले संशोधित लक्ष्य अनुरुप बजेट खर्च हुने दाबी गरेको छ । चालू आर्थिक वर्षमा बजेट रकम खर्च गर्न नसकिने भन्दै अर्ध वार्षिक समीक्षामार्फत बजेटको आकार घटाएको थियो । यद्यपी उक्त संशोधित बजेटको आकारपनि सरकारले खर्च गर्न नसक्ने भन्दै आलोचना भइरहेको छ । यस्तोमा सरकारले संशोधित लक्ष्य खर्च गर्न सक्ने अर्थ मन्त्रालयले बताएको हो ।

 

चालू आवमा सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड बजेट खर्च गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्यअनुसार बजेट खर्च हुन नसकेपछि अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार र राजस्वको लक्ष्य घटाएर लक्ष्यको ९०.४ प्रतिशत अर्थात १३ खर्ब ८५ अर्ब खर्च गर्ने लक्ष्य राखेको छ । तर महालेखा परिक्षकको कार्यलयका अनुसार, पछिल्लो सात महिनाको अवधिमा सरकारले कुल बजेटको २० प्रतिशत मात्रै खर्च गरेको छ ।

 

यता, अर्थमन्त्री युवराज खतिवडाले गत वर्ष भन्दा चालू आवमा विकास खर्च बढी भएको बताएका छन् । महालेखाको तथ्यांक आउन समय लागेकाले तथ्यांक स्पष्ट नभएको औल्याउँदै विकास खर्च गत आवको सोही अवधिको तुलानामा वृद्धि भएको उनको दाबी छ ।

 

उनले अघिल्लो वर्ष प्रदेश र स्थानीय तहमा गएको बजेट त्यही स्थानीय र प्रदेश संञ्चित कोषमा गएको र ती सरकारहरुले त्यही बजेट खर्च गर्दा संघको बजेट कम खर्च भएको देखिएको बताए ।

 

सरकारले संशोधित अनुमान अनुसार नै बजेट खर्च हुने र नतिजा देखिनेगरी काम गरेको अर्थमन्त्री खतिवडाको ठहर छ । ‘हामीले बजेटको संशोधित अनुमान ९० प्रतिशत भन्दा बढि खर्च गर्छौ भनेका छौं त्यो खर्च हुन्छ नै’, उनले भने । सुरुका केही महिना हामीलाई व्यवासायसंग सम्बन्धित तथा खरिद नियमावलीसंग सम्बन्धित समस्याले गर्दा सोचेअनुरुप खर्च हुन सकेको थिएन । त्यस्तै, मनसुनका कारण पनि अपेक्षित रुपमा खर्च बढ्न नसकेको उनले बताए । तर पछिल्लो समय संशोधित अनुमान अनुसार नै खर्च हुने उनको दाबी छ ।

 

महालेखाका अनुसार चालू आवको दोश्रो चौमासिक सकिन १५ दिन बाँकी रहँदासम्म ४८ दशमलव ११ प्रतिशत बजेट खर्च भएको छ । जसमध्ये पुँजीगत तर्फ २१ दशमलव १५ प्रतिशत, चालू तर्फ ४३ दशमलव ३७ प्रतिशत र वित्तीय तर्फ ३२ दशमलव ५९ प्रतिशत खर्च भएको छ ।

 

यस्तै, चालू आवमा करिब पाँच प्रतिशत राजस्वको लक्ष्य संशोधन गरेको सरकारले ४६ दशमलव ५१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । बजेट मार्फत सरकारले चालू आवमा ११ खर्ब १२ अर्ब राजस्व असुली गर्ने लक्ष्य लिएको थियो ।

 

यद्यपी, छ महिनासम्म पनि लक्ष्यमा पुग्न करिब १ खर्ब अपुग भएपछि सरकारले यसलाई संशोधन गर्दै १० खर्ब ५६ अर्ब राजस्व असुली गर्ने सरकारको लक्ष्य राखेको छ । पछिल्लो ६ महिनाको अवधिमा सरकारले मात्रै ४ खर्ब ५६ अर्ब रुपैयाँ राजस्व रकम संकल्न गरेको छ । यस हिसावले बाँकीको ६ महिनामा सरकारले अझै ६ खर्ब रुपैंया राजस्व संकल्न गर्नुपर्ने चुनौती रहेको छ ।

स्याउको दाना होइन बोट बेचेरै करोडौंको कमाइ Read Previous

स्याउको दाना होइन बोट बेचेरै करोडौंको कमाइ

बिजुली बजारको आर्क ब्रिजमा आकर्षक बत्ती जडान गरिने Read Next

बिजुली बजारको आर्क ब्रिजमा आकर्षक बत्ती जडान गरिने