काठमाडौं । काठमाडौंमा पछिल्लो समय जग्गाको मूल्यमा स्थिरता आएको सरोकारवालाहरुले बताउँदै आएका छन् । घरजग्गा व्यवसायीहरुका अनुसार विकास निर्माणको काम तिब्र भए पनि जग्गाको कारोबार र मूल्य भने स्थीर रहेको छ ।
‘जग्गाको मूल्य खासै बढेको छैन’ घर जग्गा तथा आवास संघका विपिन चित्रकारले भने । काठमाडौंको रिङरोड भित्र १ करोड भन्दा माथि र रिङरोड बाहिर प्रतिआना ३० लाख रुपैयाँकाे हाराहारीमा रहेको उनले बताए । ‘काठमाडौंमा जग्गाको मूल्य खासै बढेको छैन । रिङरोड बाहिर अधिकांश जग्गाको मूल्य प्रतिआना ३० लाख रुपैयाँ भन्दा कम नै छ,’ चित्रकारले चाणक्यपोष्टसँग भने ।
रिङरोड भित्र २० फिटे बाटो भएका सहरी क्षेत्रमा ५० लाखदेखि मूल्य सुरु हुन्छ, १ करोड ५० लाख रुपैयाँ प्रति आनामा बेच्न खोज्नेसम्मको कमि छैन तर, केही स्थानमा ५० लाख रुपैयाँ आनामा पनि विक्री भइरहेको छ।
उनले काठमाडौंमा जग्गा कित्ताकाटमा रहेको झमेलाका कारण खरिद विक्री समेत कम रहेको बताए । काठमाडौंमा जग्गा खरिद विक्री निकै असहज रहेको उनको भोगाई छ । व्यवसायीक रुपमै जग्गा कारोबार गर्नेले जग्गा विक्री गर्न नपाएको र पहिलैदेखि जग्गा खरिद विक्री गर्दै आएका दलालहरुले मात्र जग्गाको कारोबार गरिरहेको उनले बताए ।‘अहिले कित्ताकाट गर्न केही सरल भएपनि जग्गा विक्री वितरण भने घट्दो क्रममा नै रहेको छ’, उनी भन्छन् ।
‘एक्सकम’का सह संस्थापक तथा मुख्य कार्यकारी अधिकारी सन्तोष प्रधान चौधरी पनि उपत्यका भित्र रिङरोड क्षेत्रमा जग्गाको मुल्य स्थिर रहेको बताउँछन् । उनका अनुसार बैंकको ब्याजदर धेरै भएका कारण पनि जग्गाको करोबार घटेको हो । ‘जग्गाको मूल्य घटेको त छैन तर, कारोबार भने अलि कम भएको छ । जग्गा धनी आफैंले तोकेको मूल्यभन्दा कममा विक्री नगर्दा कारोबारमा कमी आएको हुन सक्छ,’ चौधरीले चाणक्यपोष्टसँग भने ।
उनका अनुसार हाल रिङरोड भित्र स्थान हेरेर जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ भन्दा बढि छ । ‘रिङरोड भित्र २० फिटे बाटो भएका सहरी क्षेत्रमा ५० लाखदेखि मूल्य सुरु हुन्छ, १ करोड ५० लाख रुपैयाँ प्रति आनामा बेच्न खोज्नेसम्मको कमि छैन तर, केही स्थानमा ५० लाख रुपैयाँ आनामा पनि विक्री भइरहेको छ,’ चौधरीले भने । केहि समय अगाडि सानिमा बैकले नक्सालकाे जग्गा १ कराेड रुपैयाँ प्रति आनामा खरिद गरेकाे थियाे ।
यस्तै डिलिबजार मालपोत कार्यालय प्रमुख गौरीकान्त भट्टराइले गत वर्षको भन्दा २५ प्रतिशतले जग्गाको कारोबार घटेकोे बताए । सरकारले जग्गाको कारोबारमा लाग्ने राजश्व घटाउने हल्लाकै कारण पछिल्लो समय जग्गा विक्री वितरण कम भएको उनको बुझाई छ । ‘जग्गाको मूल्य घटेको त छैन तर, पहिलाको जस्तो ह्वातै बढेको पनि छैन,’ भट्टराइले चाणक्य पोष्टसँग भने ।