काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्नका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीले १ करोड ६० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । यो भनेको १ सय रुपैयाँ प्रति कित्ताको हिसाबले १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्काशन हो ।
सेयर बजारले गति पक्रेका बेला आरबीबी मर्चेन्ट बैंकिङले यो आइपीओ निष्काशनको व्यवस्थापन गर्न लागेको हो ।
पुनर्बीमा कम्पनीलाई इक्रा नेपालले २ ग्रेड दिएको छ । यो भनेको औसत भन्दा राम्रो हो ।
कम्पनीले गत आर्थिक वर्ष १ अर्ब १७ करोड खुद नाफा कमाएको थियो । कम्पनीले जीवन बीमाबाट १९ करोड ११ लाख र निर्जीवन बीमाबाट ९८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको हो ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म प्रिमियमबाट ५ अर्ब ५२ करोड खुद नाफा गरेको थियो । अघिल्लो वर्ष कम्पनीले प्रिमियमबाट २ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको यो कम्पनीको जगेडा कोषमा ३ अर्ब ४९ करोड रुपैयाँ छ भने बीमा कोषमा १ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
हाल पुनर्बीमा कम्पनीको सम्पूर्ण सेयर स्वामित्व प्रमोटर सेयरधनीहरुमा रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४, १७ वटा निर्जीवन बीमा कम्पनीहरुको ३८, ८ वटा जिवन बीमा कम्पनीहरुको ८ र अन्य सार्वजनिक संस्थाहरुको १० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कम्पनीले १ करोड ६० लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गरेर चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुर्याउन लागेको हो । यो भनेको कुल पूँजीको १६ प्रतिशत (आइपीओ पश्चात) हो ।
कम्पनीले पूँजी घटाउनका लागि पाटन जिल्ला अदालतमा निवेदन दिएका कारण आइपीओ निष्काशनमा केही ढिलाइ भएको हो । पाटल जिल्ला अदालतले कम्पनीको पूँजी घटाउन स्वीकृति दिएको हो । अदालतको आदेश पश्चात कम्पनीको अधिकृत पूँजी १५ अर्ब र चुक्ता पूँजी १० अर्ब कायम भएको हो ।