वाइड बडी जहाजमार्फत वुहानमा फसेका नेपाली ल्याइँदै

सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ ।

 

चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । निगमले अबको एक/दुई दिनभित्रै आफ्नो वाइड बडी जहाज चीन पठाउने तयारीमा रहेको जनाएको छ ।

 

चीनमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन । उनका अनुसार ‘हामी (निगम) आन्तरिक तयारीमै छौँ, सरकारले निर्णय गर्नासाथ वाइड बडी जहाज चीन पठाउने गरी आवश्यक प्रक्रिया मिलाएका छौँ ।’

 

मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच भएको छलफलमा मन्त्रालयले वाइड बडी जहाज लैजानका लागि निगमलाई आग्रह गरेको छ । निगमले पनि नियमित ‘विजिनेस’मा असर नपर्ने गरी वाइड बडी जहाज पठाउने वचन दिइसकेको छ ।

 

चीनको हुवेइ प्रान्तको वुहान प्रान्तबाट १८० नेपालीले स्वदेश र्फकन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा फैलिसकेको छ भने विश्वका २३ मुलुकमा फैलिएको छ ।

 

निगमको वाणिज्य विभागका अनुसार वाइड बडी जहाज पठाउँदा नियमित व्यवसायमा केही असर पर्नेछ । त्यसैले जहाज पठाउनुपूर्व यात्रु तथा एयरलाइन्सलाई पूर्वसूचना गर्नुपर्ने हुन्छ । वाइड बडी जहाज पठाउँदा करीब दुई दिनको उडान व्यवस्थापन गर्नुपर्ने भएकाले सोको व्यवस्थापकीय काम थालिएको विभागले जनाएको छ ।

 

कोरोना प्रभावित नेपालीलाई लिनका लागि निगमको जहाज लैजाने तयारीकोे जिज्ञासामा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको वाइड बडी जहाज लैजाने विषयमा छलफल भएको तर यस विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै अधिकारिक हुने बताए ।

 

उनका अनुसार, ‘चीनमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज पठाउने विषयमा छलफल भएको छ, हाम्रोतर्फबाट तयारी भएकै छ, शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले पनि आफ्नो तयारी गरिरहेकै छ, अब यो विषयलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ, त्यसपछि सबै काम सहज, सुलभ र व्यवस्थित ढङ्गले अघि बढ्छ ।

 

यसअघि नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपालको निजी क्षेत्र र चीन सरकारको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सको जहाजलाई पनि नेपालीको उद्धारका लागि चीन पठाउने बताइएको थियो तर, चीनबाट नेपाली ल्याउनका लागि हिमालयको जहाज प्रयोग गर्नेबारे औपचारिक छलफल नभएको कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बताइन् । यद्यपि, हिमालय एयरलाइन्सका अध्यक्ष आज काठमाडौँ आएकाले तद विषयमा छलफल हुने उनले जानकारी दिइन् ।

 

हिमालयले चीनमा उडान गर्ने सबै गन्तव्यका उडान स्थगित गरिसकेको छ । पछिल्लो पटक गत गत माघ २४ गते बेइजिङको पूर्वनिर्धारित अन्तिम उडान गरेको थियो । यात्रुको अवस्था र व्यावसायिक बजारलाई मध्यनजर गरी ‘सेडुअल उडान’ गर्न सकिने कम्पनीले जनाएको छ ।

 

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभावका सम्बन्धमा हालै पर्यटन क्षेत्रसँग सरोकार भएका निकायसँगको छलफलका क्रममा चीनमा रहेका नेपाली ल्याउन निगम र हिमालय एयरलाइन्सको जहाज तयारी अवस्थामा रहेको बताएका थिए।

 

चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ ।

 

चीनको हुवेइ प्रान्तको वुहान प्रान्तबाट १८० नेपालीले स्वदेश र्फकन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा फैलिसकेको छ भने विश्वका २३ मुलुकमा फैलिएको छ ।

 

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार भाइरस चीनकै नागरिकमा देखिएको छ । सो भाइरसका कारण चीनमा ९०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

 

पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् । चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करीब २४० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ ।

 

प्रतिनिधिसभाको हालैको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सांसदले उठाएको प्रश्नको जिज्ञासामा सरकारले चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी गरेको बताएका थिए । उनले कोरोना भाइरसको सङ्क्रमण देखिएकाबाहेक आउन चाहने नेपालीलाई सरकारले विलम्ब नगरी ल्याउने तयारी गरेको बताएका थिए ।

 

चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् । उनीहरुले आफूहरुको छिटो उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । अभिभावकले समेत आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन सरकारसँग माग गर्दै आएका छन् ।

सरकारी जग्गा खोजी तिब्र, टोली पुग्यो दमक Read Previous

सरकारी जग्गा खोजी तिब्र, टोली पुग्यो दमक

बैदेशिक व्यापारलाई सहज बनाउन बन्दरगाह प्राधिकरण गठन गर्दै सरकार Read Next

बैदेशिक व्यापारलाई सहज बनाउन बन्दरगाह प्राधिकरण गठन गर्दै सरकार