काठमाडौं । सडक विभागले माघ भित्रमा सक्नेगरि सडकका सबै खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ । उपत्यकाका प्रमुख सडकहरुमा खाल्डाखुल्डी पुर्ने काम सकिसकेको विभागका महानिर्देशक केशव शर्माले जानकारी दिए ।
उनले हालसम्म कहाँ कति खाल्डाखुल्डी पुरिए भन्ने यकिन जानकारी आइनसकेको भए पनि उपत्यका भित्रका मुख्य सडकहरुमा परेका खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भएको बताएका हुन् ।
‘प्रमुख सडकहरुमा खाल्डाखुल्डी पुर्ने काम सकिसकेको छ, अब केही बाँकी साना सडकहरुमा पुर्ने काम निरन्तर भइराख्ने छ,’ शर्माले चाणक्यपोष्टसँग भने ।
विभागले पर्यटन वर्षलाई लक्षित गर्दै यही माघ मसान्तसम्ममा उपत्यका लगायत राष्ट्रिय राजमार्गका सडकमा भएका खाल्डाखुल्डी पुर्ने योजना बनाएको थियो ।
विभागका सिनियर डिभिजन इन्जिनियर लक्ष्मीदत्त भट्टका अनुसार हालसम्म ८० देखि ९० प्रतिशतका हारहारीमा खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भएको छ ।
उनले विभागले दैनिक २ सय देखि ३ सय स्क्वायर मिटरको दरले सडकका खाल्डाखुल्डी पुर्दै आएको बताए । हाल केही स्थानमा ढलका मंगलहरु फुटेका स्थान र पानी जमेर भत्केका स्थानमा मात्र टाल्ने काम बाँकी रहेको उनले बताए ।
‘हामीले सडक विभाग अन्तर्गत पर्ने सबै सडकमा खाल्डाखुल्डी पुर्नेकाम अन्तिमतिर लागिसकेका छौँ, केही महानगर र करिडोरका सडकहरुमा बाँकी छन् त्यो हाम्रो मातहतमा पर्दैन,’ इन्जिनियर भट्टले भने ।
खाल्डाखुल्डी पुर्न चालु आर्थिक वर्षमा १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको विभागले जनाएको छ ।
हाल सडक विभाग अन्तर्गत पर्ने कुल ९ हजार किलोमिटर सडकमा परेका खाल्डाखुल्डी पुर्न लागिएको हो ।
यस्तै सडक ओभर ल्याप गर्नका लागि ३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । उपत्यकाका विभिन्न ठाउँमा ओभर ल्यापिङ समेत गरिने योजना रहेको थियो ।
यस्तै पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै पूर्व पश्चिम नाकामा समेत सडक मर्मतका कामहरु गरिदै आएका छन् ।
चालु आर्थिक वर्षमा सडक विभागले कुल खर्चको ७ प्रतिशत मात्र काम पुरा गरेको विभागका सुचना अधिकारी अर्जुन सुवालले जानकारी दिए ।
विभागले करिब ७ हजार २ सय किमि सडकको नियमित पटके मर्मत संभार र ५ सय २४ किमि आवधिक मर्मत गर्ने लक्ष्य राखेकोमा ६४ किमि सडकको आवधिक मर्मत कार्य सम्पन्न भएको सुवालले बताए ।