केन्द्र सरकार पुँजीगत खर्चबाट पन्छिदा, प्रदेश र स्थानिय सरकारको हालत उस्तै

काठमाडौं । नेपालको आर्थिक क्षेत्रमा बर्षेनी हुने कम पूँजीगत खर्चलाई सदावहार समस्याको रुपमा लिइने गरिएको छ । विगत धेरै वर्ष देखि पूँजीगत खर्चको सूचकलाई नै समग्र सरकार र मुख्य रुपमा अर्थमन्त्रालयको नेतृत्वको सफलता-असफलताको मानकको रुपमा लिइने गरिएको छ ।

 

तर, मुलुक संघियतामा गइसकेपछि पूँजीगत खर्चको परम्परागत ‘डिस्कोर्स’मा परिवर्तन ल्याउनुपर्ने बिषयहरु विस्तारै उठ्न थालेका छन् । केन्द्र सरकारको चालु बजेटमै धेरै पूँजीगत खर्च समावेश हुने भएको हुँदा समग्र खर्चको स्थिति हेर्नु पर्ने नकी पूँजीगत खर्च मात्र भनेर बिषयको उठान हुन थालेको छ ।

 

केन्द्र सरकारले तल्लो तहका सरकारलाई अनुदान त उपलब्ध गरायो । उसको मूल दायित्व त केही हदसम्म यो बिषयमा पालना भयो । तर, अन्ततगोत्वा तल्लो तहका सरकारहरुले त्यही स्रोतलाई खर्च गर्न नसक्दा पूँजीगत खर्चको परम्परागत समस्या हल भएको छैन ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि यो बिषयको बारेमा हालै प्रकाशित एक अन्तर्वार्तामा उल्लेख गरेका छन् । उनी भन्छन्, ‘नयाँ संरचनामा पूँजीगत खर्च मात्रै भनेर बहस नगरौं । कुल बजेट परिचालनमा कुरा गरौं किनभने चालु बजेटमा धेरै पूँजीगत खर्च हुन्छन्, उदाहरणको लागि प्रदेश र स्थानीय तहमा जाने अनुदान ।’

 

वास्तवमा अर्थमन्त्री खतिवडाले उठाएको बिषय संघियताको मूल मर्मसँग मेल खान्छ पनि । संघियतामा अधिकांश पूँजीगत खर्च प्रदेश र स्थानिय तहले नै गर्ने हो । केन्द्र सरकारको मूल दायित्व भनेको प्रदेश र स्थानिय तहलाई वित्तिय स्रोत उपलब्ध गराउनु नै हो ।

 

तर, परम्परागत रुपमा नेपालको केन्द्रिकृत सरकारसँग पूँजीगत खर्च गर्ने जुन संरचनागत आधार थिएन अहिले प्रदेश र स्थानिय तहमा पनि त्यस्तै देखिएको छ ।

 

खतिवडाले भनेझैं, केन्द्र सरकारले तल्लो तहका सरकारलाई अनुदान त उपलब्ध गरायो । उसको मूल दायित्व त केही हदसम्म यो बिषयमा पालना भयो । तर, अन्ततगोत्वा तल्लो तहका सरकारहरुले त्यही स्रोतलाई खर्च गर्न नसक्दा पूँजीगत खर्चको परम्परागत समस्या हल भएको छैन । केन्द्र सरकारले आफ्नो टाउको त जोगायो तर, समस्या हल भएन । पूँजीगत खर्चको समस्या, ‘वल्लो घरको नरे पल्लो घरमा सरे’ भने जस्तो भएको छ ।

 

त्यसैले पूँजीगत खर्चको दायित्व वहन सम्बन्धी नयाँ डिस्कोर्स जसरी शुरु भएको छ, त्यसैगरी सबैतहका सरकारहरुको खर्च गर्न सक्ने संरचनागत आधार र क्षमता अभिवृद्धिको सार्थक बहस पनि अत्यावश्यक भएको देखिन्छ ।

 

यहि आवश्यकता पुष्टि गर्नको लागि यहाँ बागमती प्रदेशको चालु आर्थिक वर्षको खर्च बिवरण उल्लेख गरिएको छ ।

 

चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिना (साउन-पुस) बितिसक्दा बागमती प्रदेशको खर्च मात्रै ९ प्रतिशतमा सीमित भएको देखिन्छ ।

 

चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारले कुल ४७ अर्ब ६३ करोड ७५ लाख ६८ हजार रुपैंयाँको बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटमध्ये ६ महिनाको अवधिमा मात्रै ४ अर्ब ३३ करोड ६४ लाख रुपैंया बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यसरी पछिल्लो ६ महिनाको अवधिमा बागमती प्रदेशले मात्रै ९ दशमलव १ प्रतिशत खर्च भएको देखिएको छ ।

 

बागमती प्रदेशअन्र्तगतका मन्त्रालयगत खर्चको अवस्था नै निकै कमजोर रहेको छ । मुख्य न्यायधिवक्ताको कार्यालयले ६ महिनाको अवधिमा प्रतिशतका आधारमा सबैभन्दा धेरै प्रगति गरेको छ । एक करोड ५९ लाख १४ हजार रुपैयाँ बजेट पाएको मुख्य न्यायधिवक्ताको कार्यालयले ५७ लाख ३ हजार रुपैयाँ खर्च गरिसकेको छ । यस कार्यलायले पाएको बजेटका अनुसार यो ३५ दशमलव ८४ प्रतिशत रहेको छ ।

 

त्यस्तै प्रदेशसभा सचिवालयले भने २२ दशमलव ६३ प्रतिशत बजेट खर्च गरेको छ । कुल ४२ करोड ५२ लाख बजेट प्राप्त गरेको उक्त प्रदेशसभा सचिवालयल ९ करोड ६२ लाख रुपैंयाँ खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी गराएको हो ।

 

कार्यलयको तथ्यांकअनुसार, मन्त्रालयको हकमा भने सबैभन्दा धेरै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट खर्च गरेको छ । मन्त्रालयलाई चालु आवमा १ अर्ब ४९ करोड बजेट विनियोजन गरेकोमा ६ महिनाको अवधिमा २३ करोड ९३ लाख रुपैंया अर्थात १६ दशलमव ०२ प्रतिशत खर्च गरेको छ ।

 

त्यस्तै सामाजिक विकास मन्त्रालयले आफ्नो बजेटको १४ दशमलव ४५ प्रतिशत खर्च गरेको छ । कुल ६ अर्ब २६ करोड १० लाख रुपैंया बजेट प्राप्त गरेको यस मन्त्रालयले ९० करोड ४६ लाख रुपैंया हालसम्ममा खर्च गरेको देखिएको छ । यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लागि ६ अर्ब २२ करोड बजेट बिनियोजन भएकोमा ४२ करोड ६९ लाख अर्थात ७ दशलमव ५ प्रतिशत मात्र बजेट खर्च भएको कार्यलयको तथ्यांकमा उल्लेख गरिएको छ ।

 

यता, आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि ६ दशमलव ९४ प्रतिशत मात्र बजेट खर्च गरेको पाईन्छ । मन्त्रालयलाई ३ अर्ब १३ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा २२ करोड १६ लाख मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

 

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ६ महिनाको खर्च प्रगति पनि निकै न्यून रहेको छ । ४ अर्ब ९८ करोड बजेट पाएको यस मन्त्रालयले ९ दशलमव ४३ प्रतिशत मात्र खर्च गरेको छ । ४६ करोड ९९ लाख खर्च गरेको लेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई ४ अर्ब ९३ करोड बजेट बिनियोजन गरिएकोमा ४३ करोड ८४ लाख खर्च गरेको विवरण उल्लेख छ । यो उक्त मन्त्रालयको कुल बजेटको ८ दशमलव ९ प्रतिशत मात्र रहेको छ ।

 

कुल बजेटको झण्डै एक तिहाइ बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयको आवधिक खर्च पनि कमजोर छ । मन्त्रालयले ९ दशमलव ४ प्रतिशत मात्र खर्च गरेको छ । कुल १७ अर्ब ८० करोड बजेट पाएको यस मन्त्रालयले ६ महिनामा १ अर्ब ६७ करोड मात्र खर्च गरेको छ ।

 

प्रदेशको नीति तथा योजना आयोगले ६ करोड ५० लाख बजेट पाएकोमा ८० लाख ९४ हजार अर्थात १२ दशमलव ४४ प्रतिशत मात्र खर्च गरेको पाइएको छ । त्यस्तै, प्रदेशभित्रका १ सय १९ वटा स्थानीय तहहरुको लागि विनियोजन गरेको रकममध्ये २३ दशमलव ५० प्रतिशत बजेट खर्च भएको प्रवक्ता पाण्डेले बताए । स्थानीय तहहरुका लागि १ एक अर्ब ८३ करोड ८१ लाख विनियोजन गरिएकोमा ४३ करोड १९ लाख खर्च भएको हो ।

 

पहिलो चौमासिक (साउन-कात्तिक)को तुलनामा प्रदेश सरकारको पछिल्लो दुई महिना अर्थात मंसिर र पुसको खर्चमा करिब ५ प्रतिशतले वृद्धि भएको छ । यद्यपी २ महिनाको खर्चमा वृद्धि भएतापनि समग्र प्रगति भने कमजोर देखिएको छ । ४ महिना अर्थात कात्तिक मसान्तसम्ममा बागमती प्रदेशको बजेट खर्च ४ दशलमव २४ प्रतिशत मात्रै रहेकोमा त्यसयताको दुई महिनाको अवधिमा भने उक्त खर्च बढेर ९ दशमलव १ प्रतिशत पुगेको हो ।

 

गत आवको ६ महिनामा पनि हालकै हाराहारीमा बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी गराएको छ ।

पर्यटन प्रवद्र्धन गर्न सडक स्तरोन्नति Read Previous

पर्यटन प्रवद्र्धन गर्न सडक स्तरोन्नति

अग्नी फाउन्डेसनको सहयोगमा शिक्षण अस्पतालमा बाल तथा नवजात शिशु सघन कक्षहरूकाे पुनर्निर्माण Read Next

अग्नी फाउन्डेसनको सहयोगमा शिक्षण अस्पतालमा बाल तथा नवजात शिशु सघन कक्षहरूकाे पुनर्निर्माण