काठमाडौं । विरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्गको डीपीआर अन्यौलमा परेको छ । सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन (प्रि–इन्जिनियरिङ एन्ड ट्राफिक सर्भे) पुरा भएको ९ महिना बितिसकेको छ । अध्ययन पुरा भएको ९ महिनामा समेत त्यसको डीपीआरको कुनै टुंगो नलागेको हो ।
भारतले सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरेर नेपाल सरकारलाई २०७६ बैशाखमै बुझाएको थियो । सो अध्ययनका क्रममा उक्त रेलमार्ग ‘स्ट्यान्डर्ड गेज’ वा ‘ब्रोड गेज’ कुन तरिकाको बनाउने टुंगो नलागेको हो । सो विषयमा टुंगो लाग्न नसक्दा हालसम्म यसको डिपिआरको काम अघि बढ्न नसकेको विभागले जनाएको छ ।
स्रोतका अनुसार यस विषयमा दुबै पक्षको सहमती भएपछि मात्र डीपीआरको काम अघि बढ्ने छ । नेपालमा बन्दै गरेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग र प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग समेत स्ट्यान्डर्ड गेजमा बन्ने निधो भइसकेकाले उक्त रेलमार्ग समेत स्ट्यान्डर्ड गेजमै बनाइनु पर्ने अधिकारीहरु बताउँछन् ।
नेपाल र भारतबीच विरगञ्ज–काठमाडौं रेलमार्ग सम्बन्धी सम्झौतामा एक वर्षभित्रै डीपीआर समेत गर्ने उल्लेख छ । पूर्वसम्भाव्यता अध्ययनका आधारमै डीपीआर समेत बन्ने छ । दुबै पक्ष सहमत भएमा सो रेलमार्ग निर्माण भारतले नै गर्न सक्ने अनुमान गरिएको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार हालसम्म भारतले डीपीआर निर्माण गर्छु भनेर कुनै सम्झौता नगरे पनि अनौपचारिक रुपमा भने निर्माण गर्ने भनेको बताए । उनले हालसम्म मन्त्रालय भारतको सोही निर्णयका लागि पर्खिरहेको बताए ।
‘हामीलाई भारतले कुनै लिखित रुपमा म डीपीआर गर्छु भनेर भनेको छैन तर, उ यस प्रति सकारात्मक छ, अनौपचारिक भेटघाटमा डीपीआर बनाउँछु भन्ने आश्वासन आएको छ,,’ मिश्रले चाणक्यपोष्टसँग भने ।
सो रेल मार्ग करिब १ सय ३५ किमि लामो हुनेछ । रेलमार्गको करिब ४० देखि ५० किलोमिटर खण्डका लागि सुरुङ निर्माण गर्नुपर्ने अध्ययनमा उल्लेख छ ।
विरगञ्ज–काठमाडौं रेलमार्ग चोभार सुख्खा बन्दरगाह हुँदै निजगढको डुमरवाना पुगेर उत्तरतिर लाग्नेछ । विरगञ्जदेखि चोभारसम्म १२ वटा स्टेशन प्रस्ताव गरिएको छ ।
यस्तै २०७५ भदौमा काठमाडौंमा भएको बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन भएको थियो । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विरगञ्ज–काठमाडौं रेलसेवाको पूर्वसम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
भारत सरकारको स्वामित्व रहेको कोंकण रेल्वे कर्पोरेसन लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा झण्डै ८ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो ।
हाल विरगञ्जदेखि काठमाडौंसम्मका लागि ३ वटा सडक रुट रहेका छन् । काठमाडौं–मुग्लिन–विरगञ्ज २ सय ७९ किलोमिटर, काठमाडौं–कुलेखानी– विरगञ्ज १ सय ३६ किलोमिटर र काठमाडौं–दामन– विरगञ्ज १ सय ७३ किलोमिटर रहेका छन् ।
द्रुतमार्ग हुँदै विरगञ्जसम्मको सडक १ सय २८ किलोमिटर लम्बाई पर्न जान्छ । रेलमार्ग निर्माण पछि काठमाडौंदेखि विरगञ्जसम्म पुग्न १ घन्टा भन्दा कम लाग्ने छ ।